काठमाडौँ । संवैधानिक नियुक्ति विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वसम्मत निर्णय सुनाउन सकेन । बिहान १० बजेदेखि आधा रातसम्म छलफल र फैसला लेखनमा व्यस्त भएका न्यायाधीशहरूले १२ बजेपछि लिखित पाठमा हस्ताक्षर गरेका छन् । रिट खारेज गर्ने पक्षमा बहुमत पुगेको छ । ३/२ को अनुपातमा निर्णय सदर भएको हो ।
तीन जना न्यायाधीशले नियुक्ति सदर गर्नुपर्ने मत राखेका थिए भने दुई जनाले नियुक्ति बदर हुनुपर्ने राय राखेका थिए । त्यसो हुँदा तीन जनाको मत निर्णायक बनेको हो । ०७८ असारको नियुक्तिको हकमा भने सबै न्यायाधीशहरू एकमत थिए ।
उनीहरूले नियुक्तिलाई संविधानसम्मत ठहर गरेका हुन् । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् । रिट खारेज भएसँगै ५२ पदाधिकारीको पद जोगिएको छ ।