
डा.श्यामसुन्दर राजवंशी
नेपालसंवत्लाई राष्ट्रिय मान्यता दिइसकेको छ र सरकारी कामकाजमा समेत प्रयोग गर्नु पर्ने भइसक्यो यो कुरा सर्बविदित नै छ । यति हुँदा हुँदै पनि व्यवहारिक हुन सकेको छैन भन्नु पर्नाको कारण के होला ?अब व्यवहारिक बनाउन के गर्नु पर्दछ त्यसको बाटो के हो पहिचान गर्न सकेको पनि होइन भन्ने आम मानिसले महसूस गर्दै आएका छन् । हरेक वर्ष नेपालसंवत्को नयाँ वर्ष लाग्ने भयो कि व्यवहारिक कसरी बनाउने भनेर तातेर अलि चहलपहल बृद्धिगरे जस्तो गर्दछन् त्यस पछि फेरिं किंकर्तव्यबिमूढ भएर सेलाएर बस्ने गर्दै आएका छन् । वास्तवमा व्यवहारिक बनाउन नसक्नाको मूल कारण के हो ? यसका घातक तत्व के हो ? त्यसको पहिचान गर्न नसक्नु हो । ती घातक तत्वलाई निर्मूल हुने गरी फाल्न नसकेसम्म व्यवहारिक बनाउन असंभव नै छ तर यतातिर भने कसैको ध्यान जान सकिरहेको देखिन्न । त्यसैले सर्वप्रथम मूल कारणहरु पहिचान गरेर ती कारणहरु निमित्यान्न पार्नु जरुरी हुन आएको छ । यदि यसो नगरे त्यो कारणबाट अझै पनि विवाद उत्पत्ति गराई ती तत्वले समाधान गर्न तिर उन्मुख गराउँदैनन् । त्यही देखेर यही विषयलाई केन्द्रविन्दु बनाइ यो लेख तयार गरिएको छ ।
विभिन्न कारणहरु मध्ये अत्यन्त घातक देखिएका कुराहरु
१. इतिहासकार एवं राजनीतज्ञ भुवनलाल प्रधानको भनाइ
“नेपालसम्बतको ऐतिहासिक महत्व” शीर्षकको लेखमा उहाँको तर्क — श्री ३ महाराज चन्द्रशमशेरले विक्रम सम्बत् प्रचलित गरे । त्यस समयसम्म सरकारी कर्मचारीहरुलाई तलब चन्द्रमास अर्थात् तिथिअनुसार दिने गरिएको रहेछ ।तिथि अनुसार तीन वर्षमा एक पटक एक महिना बढी आउने हुनाले सरकारले तेह्र महिनाको तलब दिनुपथ्र्यो । सौरमास अर्थात् महिना महिनाको गते निकालेर ३६५ दिनको वर्ष गरेमा तीन वर्षमा एकपटक एक महिनाको गते निकालेर ३६५ दिनको वर्ष गरेमा तीन वर्षमा एक पटक एक महिनाको तलब बचत हुने कुराको सुझाव एककर्मचारीले चन्द्र शमशेरलाई दिए । उक्त सुझावअनुसार चन्द्रशमशेरले वि.सं १९६० सालमा गते सहितको सौर्यमासमा आधारित विक्रम सम्बत्लाई सरकारी स्तरमा प्रचलन गरे ।
यो कुरा भ्रामक, बकम्फुसे,मनगढन्त मात्र होइन नेपालसंवत्को लागि अत्यन्त घातक सिद्ध छ । किनभने यो कुराले नेपालसंवत् अव्यवाहारिक थियो भन्ने कुरालाई मात्र मलजल गरिरहेको छ । यही बकम्फुसे कुरालाई विश्वास गरेर अनेकौं अनेक लेखकहरुले पनि यही कुरालाई दोहर्याइकन बडो महत्व दिएर प्रचार गर्दै आएका छन् ।
अर्काे एक राजनीतिज्ञ एवं इतिहासकार दीर्घराज प्रसाईको भनाई
वि.सं २०६८ सालपुस ६ गते बुधबारको गोरखापत्रमा , “नेपाल संवत् कसरी व्यावहारिक हुनसक्छ ?” भनेर उनले दिएको प्रतिकृयामा दिएको तर्क— …..नेपाल संवत् भन्दा विक्रम संवत् ९३७ वर्ष जेठो छ । …..विक्रम संवत्को वर्षमा ३६५ दिनहुन्छन् तर नेपाल संवत् र शक संवत्को वर्षमा ३५४ दिन हुन्छन् । यी दुवै संवत् तिथिबाट मात्र चल्छन् तर विक्रम संवत् गते र तिथि दुबै चल्छन्…..
१९६१ साल भन्दा अगाडिसम्म विक्रम संवत् शक संवत् र नेपाल संवत् सवै तिथिबाट मात्रचल्थे । ….विक्रम संवत्को वर्षमा ३६५ दिनहुने र नेपाल संवत् र शक संवत्को वर्षमा ३५४ दिनमात्र हुने हुँदा यी दुइटा संवत् चलनचल्तीमा अव्यावहारिक भएका हुन् ।
यसरी भुवनलाल प्रधानको तर्कलाई दीर्घराज प्रसाईले समर्थन गरेको प्रष्ट देखियो । यथार्थमा उहाँहरु दुवै जना नाम मात्रका स्वघोषित इतिहासकार हुन् । वास्तवमा उहाँहरुले इतिहासका स्रोतहरुमा के छ भन्ने कुरा खोजीनिती पटक्कै गरेका रहेनछन् भन्ने देखियो । खासमा इतिहास के हो ? भन्ने नै थाहानभएको व्यक्तिलाई यहाँ इतिहासकार भनेर सम्वोधन भइरहनु भनेको इतिहासकार शव्दको अवमूल्यन पनि हो ।
सर्वप्रथम भुवनलाल प्रधानको तर्क बकम्फुस र भ्रामक हुन् भन्ने कुरामा जाऔं । हुनत उहाँ अहिले जीवित हुनुहुन्न उहाँको आत्मालाई सम्मान नै गर्दछु तर उहाँको तर्कलाई कुनै हालतमा सम्मान गर्न सकिने योग्य होइन । किनकि हामीले गौरव गर्दै आएको नेपालसंवत्लाई घात हुने तर्क उनले छोडेर जानुभयो । त्यो घातक तर्कको निन्दा हामीले गर्नै पर्दछ ।
उहाँसंग नेपालसंवत्को क्यालेण्डरहरु अवश्यै संकलित रहेको हुनुपर्दथ्यो । किनभने चन्द्रशमशेरको पालामा मात्र अधिमास परेका,े उहाँको जीवनकालमा अधिमास नपेरेको त बिल्कूलै होइन । त्योवेला हरेक तीनतीन वर्षमा १३ महिनाको क्यालेण्डर हुने गर्दथ्यो भने उहाँको जीवनकालमा निस्केको नेपालसंवत्को क्यालेण्डरमा पनि १३ महिना भएको क्यालेण्डर निस्केको देखेको हुनु पर्दथ्यो । तर चन्द्रशमशेरको पाला भनौं भुवनलालको जीवनकालमा निस्केको क्यालेण्डर भनौ वा हालसालै निस्कँदै आएका नेपालसंवत्का क्यालेण्डर नै भनौं १३ महिना भएको क्यालेण्डर अहिले सम्म कसैले देखाउन सकेको होइन ।
नेपालसंवत् ३५४ दिनको वर्ष भन्नेले तीनवर्षको एकचोटी एक महिना बढ्ने भएमा ३५४+३०=३८४ दिन हुने हुन्छ एकै वर्षमा त्यसरी ३८४ दिनभएको क्यालेण्डर कहिल्यै निस्केको देखाउन सक्दैन भने त्यो कुरा भनीरहनुको औचित्य छैन । यो कुरामा भुवनलाल प्रधानको ध्यान जान नसकेकै हो तर उहाँको कुरा पत्याउँदै आएका व्यक्तिहरु त लाखौं होला । ती लाखौं मध्येबाट एकजना त निस्कनु पर्दछ कि नेपालसंवत्का क्यालेण्डर मध्ये हरेक तीनतीन वर्षमा एक चोटी ३८४ दिन भएको क्यालेण्डर वा पात्रो हामीले प्रकाशित गर्दै आएको यो यो छ भनेर अगाडि ल्याउन सक्नु पर्दथ्यो । त्यो कुरा न हिजो संभव भयो न आज छ र न भोली नै हुने छ । यसरी हुँदै नभएको जिकिर मान्छेले किन गर्छन्? अचम्म त यो हो नि ।
हामी मध्ये धेरैलाई थाहा छ गत वर्ष २०८० सालको वर्षमा श्रावणमा अधिमास परेको थियो जुनकुरा पात्रो पल्टाएर हेरे पनि पत्ता लाग्छ । २०८० सालको श्रावण भनेको नेपालसंवत् ११४३ को श्रावण हो । त्यसकारण नेसं ११४३ र ११४४ को क्यालेण्डर अगाडि राखेर त अवश्य हेर्न सकिन्छ । ११४३ र ११४४ यी दुवै वर्ष मध्ये कुन चाहीं वर्षको क्यालेण्डरमा ३८४ दिन छ? त्यो त अवश्य देखाउन सक्नु पर्ने कुरा हो । अन्यत्र कही हेर्न नपाइए भने पनि आशा सफू कुथि टेंगलमा गएर नेपालसंवत्को भएभरका क्यालेण्डर वा पात्रो खोजेर हेरियो भने पनि त्यो कुरा पाइने होइन । ती क्यालेण्डरहरु हरेक वर्षचाहे अधिमास परेको वर्ष होस् या नपरेकोवर्ष होस् सबैमा ३५४ दिनको क्यालेण्डर मात्रै देख्न सकिन्छ । त्यसकारण हरेक वर्ष ११ । ११ दिन फालेर बनाउँदै आएको नेपालसंवत्को क्यालेण्डरको कुनै औचित्य छैन । यही नै एउटा अव्यवहारिक ठहराउनुको मुख्य कारण हो । यस प्रकारको क्यालेण्डर ऐतिहासिक स्रोतको लागि कुनै उपयोगी सिद्ध भएकै छैन । यसबाट प्रष्ट रुपले देखिन आयो कि स्वयंमा नेपालसंवत् अव्यवहारिक भएको होइन अव्यवहारिक बनाइएको मात्र हो ।
शास्त्र सम्मत भएर भनौं वा व्यवहारिक दृष्टिले भनौं ३६५ दिन भन्दा १ दिन घटीलाई पनि एक वर्षको हिसावमा गनिंदैन । ज्योतिष शास्त्रमा सौर वर्ष भए ३६५ र चान्द्र वर्ष भए ३५४ दिन भनिएको हुन्छ त्यो अवश्य हो तर नेपालसंवत् चान्द्रवर्ष होइन । हामी नेवारहरुले संस्कृति संस्कार चाडपर्व सबै तिथिमा गर्दछौं त्यो अवश्य हो तर त्यो तिथि सौरमास अन्तर्गतको तिथि हो । हामीले लगाउने हाते घडीमा सेकेण्ड सुइ नभए पनि चल्छ तर मिनेट सुइ र घण्टा सुइ नभएको घडीले समय दिंदैन भनेझैं सौरमास अन्तर्गतको तिथि भएको हुनाले चान्द्र दिन चान्द्र महिना र चान्द्र वर्षको छुट्टै गणना हुँदैन मतलव सौरदिन भनेको सूर्योदयदेखि शुरु हुन्छ र हरेक तिथिको घडीपला भनेको सूर्योदय समयबाट नै शुरु गराइएको पात्रो हामीले प्रयोग गर्दै आइरहेका हौं । यो कुरा बुझ्न नखोज्ने खाली पञ्चाङ्ग पात्रोमा दिइएको घडीपलाको हिसाव चन्द्रोदय भनी रहनु महाभूल हो ।
अर्को कुरा नेपालसंवत्मा १२ वटा संक्रान्तिको उपस्थिति शुरुदेखि थियो भन्ने ज्ञानपनि नभएकाले गतेको निर्माण नै चन्द्रशमशेरको पालादेखि भएको भन्ने जस्ता भ्रामक कुरा गरिरहेको छ र ३६५ दिनको वर्ष हुने हिसाव नै चन्द्रशमशेरको पालादेखि भएको जस्ता बकम्फुसे कुरा गरिएको छ यो कुरा हामी नेपालसंवत् प्रेमीहरुको लागि अत्यन्त लज्जास्पद कुरा हो । यस्तो तर्क अघि सारेर नेपालसंवत्लाई अव्यावहारिक नै हो भनी हल्ला गर्नेहरुलाई बहुत ठूलो मलजल मात्रै गर्दै आएको हुनाले भुवनलाल प्रधानको तर्क नेपालसंवत्को लागि घातक सिद्ध छ भन्ने कुरा बुझ्न नितान्त जरुरी छ ।
त्यसपछि दीर्घराज प्रसाईको तर्क भ्रामक हुन् भन्ने कुरामा जाऔं । नेपालसंवत् वास्तवमा सकल नेपाली नागरिकले आफनो संवत् भनी गौरव गर्ने विषय हो । जननि जन्मभूमिश्च स्वर्गादपि गरियसि भन्ने उद्गारको उहाँलेअपमान गरेको छ किनकि नेपाल प्रति माया छ भने नेपालसंवत् प्रतिपनि उत्तिकै माया हुनुपर्ने हो । नेपाल सबै नेपालीको साझा हो । उहाँको तर्क इतिहासको कुनै सिद्धान्तको अनुकूल हुने गरी गइरहेको छैन ।
उहाँको कुराले उहाँलाई नेपालसंवत् भन्दा जेठो संवत् चाहिएको हो बुझ्न सकिन्छ । यदि जेठो संवत् नै चाहिएको भए विक्रमसंवत नै किन चाहियो?नेपालसंवत् भन्दा कलिगत ३९७९ वर्ष जेठो देखिने हुन्छ । नेपालसंवत् भन्दा ९३७ वर्ष जेठो देखिने चाहिं विक्रमसंवत् भयो, कलिगत त ३९७९ वर्ष जेठो हो । यो लिएको भए झनै पुरानो हुनेथियो । अझ कलिगत भन्दापनि पुरानो र जेठो त श्रृष्टि संवत् छ यो त लाखौं लाख वर्ष पुरानो ठहर्छ । त्यसैले संवत् जेठो भएर हुँदैन इतिहास जेठो हुनु पर्दछ भन्ने कुरा उहाँमा रत्तिभर हेक्का छैन रहेछ भन्ने देखियो ।
यथार्थ इतिहास समातेर भनियो भने नेपालसंवत् र विक्रमसंवत् बीच ९३५ र ९३६ अन्तर देखिने हो । संशोधन मण्डलको धार समातेर गयो भने मात्र ९३७ वर्ष जेठो देखिने हो । किनभने संशोधन मण्डल वि.सं ९३८ कार्तिकमा मात्र नेपालसंवत् उठ्यो भन्ने मान्यतामा विश्वास गर्दै आएको संस्था हो । वास्तवमा यथार्थ इतिहासले वि.सं ९३६ कार्तिकमा नेपालसंवत् उठेको भन्ने प्रमाणित गरिसकेको छ ।
विक्रमसंवत्को चश्मा लगाएर हेर्यो भने हाम्रो नेपालसंवत् कसैको आँखामा ९३८ मा उठेको देखिने कसैको आँखामा ९३६ मा उठेको देखिने त्यो कस्तो विक्रमसंवत् हो ? यस बारे प्रसाईलाई कुनै हेक्का छैन । नेपालसंवत् भन्दा जेठो भन्ने मात्र हिसाव खोज्यो भने नेसं ८०८ को राजा जितामित्र मल्लको भक्तपुरको सुनधाराको अभिलेखमा विक्रमसंवत् १७४५ दिइएको छ । यसमा १७४५ र ८०८ बीचको अन्तर ९३७ देखाइएको छ तर भक्तपुर दरवार ढुंगेधाराको अभिलेखमा नेपालसंवत् ८०८ नै हो विक्रमसंवत् भने १७८९ दिइएको छ । १७८९ र ८०८ बीचको अन्तर ९८१ वर्ष जेठो देखाइएको छ । नेपालसंवत् भन्दा विक्रमसंवत् जेठोनै देखाउन चाहिएको हो भने १७४५ हुने वाला विक्रमसंवत् नलिइकन ९८१ वर्ष जेठो देखिनेवाला लिनुपर्ने हो किन लिइएन ? यस बारे पनि प्रसाईलाई कुनै हेक्का छैन । त्यस्तै गरि भक्तपुर मालतीचोकको संवत् ८१८ को राजा भूपतीन्द्रमल्लको अभिलेखमा पनि विक्रमसंवत् १७९९ भनेर दिइएको छ । यसमा पनि १७९९ र ८१८ बीचको अन्तर ९८१ नै छ । त्यस कारण प्रसाईले नेपालसंवत् भन्दा ९३७ जेठो देखिने विक्रमसंवत् लिइरहनुभन्दा ९८१ वर्ष जेठो देखिने विक्रमसंवत् समात्नुपर्ने किन समातिएन ? यसको मतलव ऐतिहासिक स्रोत सामग्रीबारे छेउ टुप्पो ज्ञान लिएको छैन भन्ने यसले प्रमाणित गर्छ । तब नाम मात्रको इतिहासकार बनेर नेपालसंवत्को बारेमा त्यसरी टिकाटिप्पणी गर्ने अधिकार उहाँमा बिल्कुल छैन भन्नु पर्ने हुन्छ ।
नेपालको सरहद भित्र र बाहिर गरेर नेपालसंवत् उल्लेख भएका स्रोत सामग्रीहरु कति वटा छन् कसैले रातदिन गनेर पनि यतिवटा उतिवटा भनेर कसैले भन्न सकिने स्थिति छैन । ती अनगिन्ती मात्रामा रहेका अभिलेख स्रोतमा चन्द्र ग्रहण,सूर्यग्रहण संक्रान्ति अधिकमास भएका अभिलेखहरु पनि प्रशस्त मात्रामा देखापरेका छन् । बुद्धिमानले हल्दी भनेर बुझी सकेपछि कोट्याएर हेर्दैन भने झैं नेपालसंवत्मा तीसबै उल्लेख देख्ना साथ नेपालसंवत् चान्द्रमासको वर्ष होइन भनेर स्वतः बुझ्न सक्छ । तब नेपालसंवत् कुनै हालतमा ३५४ दिनभएको वर्ष होइन र यो चान्द्रवर्ष होइन भनेर प्रष्ट हुँदाहुँदै पनि विक्रमसंवत्मा ३६५ दिन हुन्छ नेपालसंवत्मा ३५४ दिन मात्र हुने भएकोले अव्यवहारिक भएको भन्ने जस्ता अल्पज्ञानी कुराले उहाँहरुको बौद्धिकस्तर कत्ति रहेछ आँऽऽगर्ने बित्तिकै अलंकार छर्लङ्ग भइरहेको प्रष्ट देखियो भन्न सकिन्छ ।
निष्कर्ष
समुद्रको कुरा गर्दा त्यहाँ पानी छ, भनेर कसैले प्रश्न गर्दैन । त्यस्तै गरि ग्रहणको कुरा अधिकमासको कुरा र संक्रान्तिको उपस्थित भएको कुरा गर्दा त्यहाँ पनि गते छ र ? त्यहाँ तिथि मात्र हुनुपर्ने होइन र ? भनेर प्रश्न गर्छ भने उ निष्पट्ट अन्धकारमा बसेको रहेछ भन्ने बुझिन्छ । भुवनलाल प्रधान र दीर्घराज प्रसाईंको भनाई हेर्दा समुद्रमा पानी छ र? भने जस्तैको कुरा हो । किनभने अनगिन्ती मात्रामा नेपालसंवत् उल्लेख भएका अभिलेखीय स्रोत छन् जसमा ग्रहणका कुरा हेरे ग्रहण उल्लेख भएका अभिलेख छन्, अधिमास उल्लेख भएका अभिलेख छन् भने संक्रान्ति उल्लेख भएका अभिलेख पनि प्रशस्त मात्रामा छन् । विक्रमसंवत् मात्र उल्लेख भएका अभिलेखमा तीसबै गुण देखिंदैन । उहाँहरुको भनाइबाट नेपालसंवत्मा केवल तिथि मात्र छ विक्रमसंवत्मा तिथि पनि छ गते पनि छ भन्ने कुरालाई प्रश्रय दिएको छ । जब १२ वटा संक्रान्ति नेपालसंवत्मा उपस्थित भइरहेको देखिएपछि त्यहाँ गतेको उपस्थित छ भनीरहनै पर्दैन । यो हल्दी भन्नासाथ कोट्याइ रहनुनपर्ने कुरा हुनआउँछ ।नेवार समुदायले गतेलाई गौण र तिथिलाई बढी प्राधान्यता दिएको मात्र हो किनकि धेरै संस्कृति संस्कार तिथिमा गर्ने गर्दछन् । यसो हो भन्दैमा नेपालसंवत् भन्नासाथ तिथिको वर्ष भइहाल्यो भन्ने जस्ता अपरिपक्व कुरा गर्नेहरु सित कुनै वादविवाद गर्नुको औचित्य हुँदैन ।
जुनवेला नेपालमा विक्रमसंवत्को उल्लेख गर्ने चलन भित्रिएकै थिएन त्यो भन्दाअघि नै माघे संक्रान्ति र मेष संक्रान्तिमा मनाउने विस्केट जात्रा लगायत हरेक संक्रान्तिमा करुणामयको दर्शनगर्ने संस्कार हरेक संक्रान्तिमा तीर्थमा गएर स्नान गर्न जाने संस्कार विकसित भइसकेका थिए । माघे संक्रान्तिदेखि सूर्य उत्तरायण र श्रावण संक्रान्तिदेखि सूर्य दक्षिणायन भनेर मान्ने चलन विक्रमसंवत् नेपालमा उल्लेख गर्ने चलन आउनुभन्दा अघि देखिको चलन हो ।
लिच्छविकालका अभिलेखहरुमा महिनाको नाम वैशाख जेष्ठ आषाढ भनेर उल्लेख भइरहेको सर्बविदित नै छ । यसरी महिनाको नाम उल्लेख हुने वित्तिकै त्यहाँ संक्रान्तिको गणना बिना त्यो संभव भएको होइन भनेर बुझ्न सकिन्छ तर बुझ्न नखोज्नु अर्कै कुरा हो ।
रह्योकुरा श्री ३ महाराज चन्द्रशमशेरले गतेको प्रचलन गरेका भन्ने कुरो मनगढन्ते हो भन्ने कुरा चन्द्रशमशेरकै अभिलेखले सिद्ध गर्छ । पशुपतिनाथ प्राँगणको अभिलेखको फोटो खिच्न दिंदैनन् तर त्यहाँको अभिलेखहरु प्रायः प्रकाशित छन् । वि.सं १९९५ सालको तुलादान स्तम्भ अभिलेखमा श्री ३ चन्द्रशमशेरकी महारानी बालकुमारीदेवीको तुलादान गर्दा मकरसंक्रान्ति माघकृष्ण नवमी शनिश्चिरवार का दिन भनेर उल्लेख छ । यसमा तिथि मात्र उल्लेख छ गते उल्लेख छैन । चन्द्रशमशेरले गतेको प्रचलन गराएको भए यस अभिलेखमा गतेनै उल्ेलख गरिन्थे अव्यवाहारिक ठहराएको तिथि प्रयोग गर्नुपर्ने थिएन । यदि भुवनलाल प्रधान र दीर्घराज प्रसाईको कुरामा सत्यता भएको भए ।
त्यस्तै गरि विसं १९६६ को तुलादान अभिलेख जुन स्वयं चन्द्रशमशेरको हो यसमा पनि कार्तिक शुक्ल सप्तमी शनिश्चरबार दिएको छ तर गते दिइएको छैन । चन्द्रशमशेरले वि.सं १९६१ मा गतेको आविस्कार गरेको भए वि.सं १९६६ को स्वयंआफनै तुलादानमा गते प्रयोग नगर्ने त हुनैनपर्ने । यसबाट पनि यो प्रष्ट हुन्छ कि तिथिलाई विशेष प्राधान्यता दिइन्थ्यो गते गौण रुपमा लिइन्थ्यो भन्ने कुराको यो ज्वलन्त उदाहरण हो ।
यसबाट यो प्रष्ट हुन आउँछकि चन्द्रशमशेरको पालामा विक्रमसंवत् सरकारी प्रयोगमा प्रचलन गराएको अवश्य हुनसक्ला तर नेपालसंवत् र यसको तिथि अव्यवहारिक ठहराएको बिल्कूल होइन । बरु नेपालसंवत्मा गौण रुपमा लिने गरिएको गतेलाई विक्रमसंवत्को क्यालेण्डरमा लुसुक्क प्रयोग गरेको अवश्य हुनसक्छ । किनभने नेपालंसंवत्मा गतेतिथि अधिमास,ग्रहण,उत्तरायण दक्षिणायन लगायत यावत् कुरा पहिलेदेखि थियो यसमा कुनै शंका गर्नुपर्ने होइन । राणाकालमा र पंचायतकालमा संवत्को बारेमा खुलेर लेख्न नपाएको हुनाले यो कुरा ओझेलको ओझलमै परिरहेको मात्र हो ।
नेपालसंवत्मा चान्द्रसौर दुवै महिना समाहित छ , यो ३५४ दिनको वर्ष होइन । नेपाल संवत्को अस्तित्वमा नै खलल पुर्याउने गरी केही तथाकथित स्वघोषित इतिहासकारहरुले गलत व्याख्या गरि दिएकोले व्यवहारिक हुन असहज परिस्थिति पैदा हुन गएको हो र अधिकाँश मानिसहरु त्यसैको पछिलागी दिनाले नेपालसंवत्लाई ठूलो घात हुन पुगेको हो । यदि नेपालसंवत्लाई व्यवहार योग्य बनाउन ती घातक देखिएका कुराबाट जोगाउन नितान्त जरुरी भइसकेको छ । त्यसरी घातक कुरालाई महत्व दिएर पालेर बस्ने अनि नेपालसंवत्लाई व्यवहारिक बनाउन पर्यो भनेर असंभव कुरा गरिरहनुनै बेकार हो ।








