
कविता
काठफोडुवासितको जम्काभेट
राजीव श्रेष्ठ
एक पटक म घर
नजिकैको जंगल
विचरण गर्न पुगें
एक तमासको झ्याँउकिरीको सुस्केरा,
हरियो रुखले विमुग्ध भएर जगँलभित्र जाँदै थिएँ
अनायाश, मेरो ध्यान
कसैको निरन्तरको
केही ठुँगिरहेको ध्वनिले तान्यो
यसो हेरेको,
एउटा ठुलो सल्लाको रुखमा
एउटा सुन्दर छिरबिरे काठफोडुवा
एक सूरले सल्लाको रुख फोडनमा व्यस्त रहेछ
गाउँघरमा लहाचें पनि भनिने
काठफोडुवाले
हजारौं पटक रुख फोडेर
आफ्ना भविष्यको निमित गुँड निर्माण गर्छ
अरुका निमित पनि
आफ्नो घर प्रयोग गर्न छाडिदिन्छ
ती वनचरीको
कडा परिश्रम हेर्न लायकको थियो
तर, मेरा निम्ति
वनभित्रको शान्त मौनता
अभिन्न थियो

अब, म के गरुँ ?
ऊ रोकिनेवाला
थिएन ,
उनको स्वभाव नै
हल्ला गर्ने, फोडने,
ठोक्ने हो,
त्यसैले,
बन
विचरणको आनन्दलाई
त्यागेर म फनक्क
घरतिर फर्किएँ ।




