
कविता
चुल्ठोमा फूल सिउरिएकी केटी
शकुन्तला जोशी
हिसाब गर्न छोडिदिएँ
कति वर्ष भयो शहरमा सिमेन्टको रंग मात्रै देखेको
कति दशक भयो शहरमा अलकत्राको गन्ध मात्रै लिएको
कति शताब्दी भयो यी दरबारहरुको छाना उचालेर उभिएको
अहो ! चुल्ठोमा सेक्मुरी फूङ
सिउरेर पस्दा यो सप्तरंगी शहरमा
अनुहारमा आफ्नै रंग पो लिएर आएको थिएँ
शरीरमा आफ्नै जंगली सुवास पो लिएर आएको थिएँ
पाइतालामा आफ्नै पदचाप पो लिएर आएको थिएँ
दरबारको भित्ताहरुमा खोप्दा–खोप्दा
रतिरत शासक र महारानीको अनुहार
पोत्दा पोत्दा रङ मन्दिर र टुँडालहरुमा
आफैंले छोडि आएको उमेर यसो फर्कि हेर्छु
म त बेरङ पो भै गएछु
मलाई ती बाटोहरु फेरि एकपल्ट हिड्न मन छ
त्यहाँ मेरा कलिला पाइतालाका डोबहरु छुटेका होलान्
मलाई ती देउरालीहरु फेरि एकपल्ट पुग्नु मन छ
त्यहाँ मेरो प्रेमको निशानीहरु छुटेका होलान्
मलाई त्यो मुलकुवा फेरि एकपल्ट जानु छ
त्यहाँ मेरो बाल्यकालिन अनुहार छुटेको होला
आमा ! म गाउँ फर्कि आएँ भने
के माटोले मलाई फेरि नयाँ बाटो देला ?
के लाहुरे फूलले मलाई फेरि आफ्नो रङ देला ?
आमा ! म फर्कि गाउँ आउँछु
मलाई फेरि इन्द्रेणी भइजान मन छ ।
नोट : सेक्मुरी फूङ – याक्थुङ (लिम्बु) समुदायमा सेक्मुरी फुङ (फूल)लाई मानव जीवन्तताको प्रतिक फूल भनेर चिनिन्छ ।


