काठमाडौं ।श्री श्री जानकी माता, नेपाली धार्मिक संघ, कोलकाताद्वारा प्रकाशित च्याङ्बाको चेतना विशेषाङ्क-‘सम्झना’को लोकार्पण भयो ।
साहित्यिक पत्रकार संघ तथा जरा फाउन्डेसन,नेपालको संयुक्त आयोजनामा राजधानीमा भएको उक्त कार्यक्रमसाहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी रहेका थिए।
अन्य आमन्त्रित व्यक्तित्वहरू कलकत्ताका पूर्व महावाणिज्यदूत सुनीलकुमार पौड्याल, सामाजिक तथा धार्मिक अभियन्ता धर्मराज बराल, संघका व्यवस्थापक तथा समाजसेवी भीमबहादुर श्रेष्ठ, सम्झनाका प्रधान सम्पादक गणेशकुमार प्रधान, परराष्टविद् तथा जरा फाउन्डेसनका सल्लाहकार नारायण मैनाली, व्यवस्थापक गुञ्जदास श्रेष्ठ तथा गायक आनन्द कार्की थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रा. डा. केसीले हामी नेपालीहरू जहाँ पुगे पनि आफ्नो परम्परा र धर्ममा कायम रहेको बताए। कलकत्तामा बस्ने नेपालीहरूको प्रसङ्ग उल्लेख गर्दै उनले कलकत्ता, दार्जिलिङका नेपालीहरूमा भाषिक र धार्मिक एकता रहेको बताए। भाषिक एकताको प्रसङ्गमा उनले हाम्रा आदिकवि भानुभक्त आचार्यको पनि चर्चा गरेका थिए।
कार्यक्रमका सभापति लेकालीले कलकत्ताबाट आएका सामाजिक तथा धार्मिक अभियन्ताहरूको स्वागत गर्दै जरा फाउन्डेसन तथा साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
त्रिपन्न वर्ष पूरा गरी चौबन्नौँ वर्षमा प्रवेश गरेको संघले गरिआएका कार्यहरू बारेमा प्रकाश पार्दै कलकत्तामा बसेर सामाजिक र धार्मिक कार्यमा समर्पित श्री श्री जानकी माता नेपाली धार्मिक संघ र संघको क्रियाकलापको उनले प्रशंसा गरेका थिए।
च्याङ्बाको चेतना नाटकका लेखक गणेशकुमार प्रधानले आफ्नो लेखन र निर्देशनका बारेमा प्रकाश पार्दै कलकत्तामा संघले गरिआएका कार्यहरूबारे बोलेका थिए।
धार्मिक अभियन्ता धर्मराज बराल, परराष्टविद् नारायण मैनाली तथा गायक आनन्द कार्कीले शुभकामना मन्तव्य राख्दै संघको योगदानबारे चर्चा गरे।
कार्यक्रममा सम्झना पत्रिकामा प्रकाशित कविताहरूमध्येबाट कवि सुमन थापा सङ्गमले आफ्नो गीति रचना वाचन गरिन।
आनन्द कार्की, धर्मराज बराल, फत्तकुमार श्रेष्ठ, दिर्गकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, टिकादास श्रेष्ठ, डा. योगेश वैद्य, हिमनाथ पौडेल, शृङ्खलाका सम्पादक प्रवीण जोशी तथा शारदा मासिकका प्रधान सम्पादक विमल भौकाजीलाई सम्मानपत्र प्रदान गरिएको थियोे।
कार्यक्रमको सहजीकरण दिव्य गिरीले गरेका थिए।स्वागत मन्तव्य गुञ्जदास श्रेष्ठले राखे ।