काठमाडौँ। उपन्यास समाजले उपन्यास पुस्तकालयको उद्घाटन गर्यो ।
बुधवार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपन्यासकार प्रा.डा.गोविन्दराज भट्टराई सहित मञ्चासिन अतिथिहरुले नेपालको पहिलो मौलिक उपन्यास ‘रुपमति’ देखाएर प्रतिकात्मक रुपमा पुस्तकालयको उद्घाटन गरे ।
कार्यक्रममा प्रा.डा. भट्टराईले नेपाली उपन्यासको विकासक्रममा पहिलो उपन्यास गिरिश बल्लभ जोशीको वीर चरित्र रहेको र प्रथम नेपाली मौलिक उपन्यास रुपमति भएको बताए । उनले १० वषदेखि यताका नोबेल पुरस्कार प्राप्त कृतिहरु उल्लेख गर्दै साहित्यतर्फको नोबेल पुरस्कार केवल एक पटक मात्र अन्य विधाले पाएको र नौ पटक उपन्यासले नै पाएको प्रसङ्ग जोड्दै प्रा.डा.भट्टराईले साहित्यको गम्भिरतम,शक्तिशाली र प्रभावकारी विधाको रुपमा उपन्यास विधाको चर्चा गरे ।
उनले अगाडि भने, ” उपन्यास लेखन कठीन कार्य हो । हरेक साहित्यकारले उपन्यास लेख्नै पर्छ । यो रस भरिएको शक्तिशाली विधा हो ।”
उनले अझै अगाडि भने, “उपन्यास नलेख्ने साहित्यकारको साहित्यिक जीवन बाँझो हुन्छ । त्यसैले यसतर्फ सबै लेखकले सोच्नु आवश्यक छ ।”
उपन्यासको बारेमा उनले विश्वका विभिन्न विद्धानहरुका भनाई उद्दृत समेत गरे ।
उपन्यास समाजका संस्थापक समेत रहेका प्रा.डा.भट्टराईले उपलब्धिमूलक कार्य आज प्रारम्भ भएकोमा आयोजकलाई बधाई दिए । आगामी दिनमा उपन्यास सम्बन्धि चर्चापरिचर्चा,कार्यपत्र प्रस्तुति,अनुवाद उपन्यास विमर्श,विश्व साहित्यमा नेपाली उपन्यासको अवस्था जस्ता विषयमा पनि कार्यक्रम गर्न सुझाए ।
अर्का बक्ता नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ,रोदनले उपन्यास पुस्तकालयको नयाँ अबधारणा आफैंमा सकारात्मक कुरा भएको बताए । उनले भने, ” यो कुराको प्रचार प्रसार गर्न सके पुस्तकालय स्थापना राम्रै हुनसक्नेछ । जसको कारण साहित्यका अरु विधागत पुस्तकालय स्थापनाको निम्ति पनि प्रेरणा मिल्नेछ ।”
प्रा.डा. हरिप्रसाद सिलवालले विधागत रुपमा गर्व गर्ने दिनको रुपमा कार्यक्रमको प्रशंसा गरे । उनले मदनमणि दिक्षीतको माधवी उपन्यासका त्रिदेवीको उपमा जोड्दै पुस्तकालयले पठन संस्कृतिसंग मित्तेरी जोड्नसक्ने बताए ।
यसैगरी,पवन आलोकले आजको अभियानले नयाँ सम्भावनाको ढोका खोलेको बताए ।
डा.दीनवन्धु शर्माले उपन्यास उन्नत विधा भएको हुँदा विश्वमा हाम्रो सिर्जना कम आँक्न नमिल्ने कुरामा जोड दिए ।
कार्यक्रममाराधेश्याम लेकाली,किशोर पहाडी,तुलसीहरि कोइराला,महेन्द्र चालिसे लगायतले विधागत पुस्तकालयको स्थापना खुशीको कुरा भएको बताए ।

सबैजसो बक्ताहरुले आफुसङ्ग भएका उपन्यासहरु पुस्तकाललाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली उपन्यासको क्षेत्र विस्तार हुँदै गएको वर्तमान समयमा औपन्यासिक पुस्तकालय स्थापना आफैंमा सह्रानिय र सकारात्मक कार्य भएकोमा बक्ताहरु एकमत देखिए ।
उपन्यास समाजका अध्यक्ष शंकर भारतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सुशील रिजाल र स्वागत मन्तव्य उद्धव सापकोटाले राखेका थिए ।