नियात्रा
मानसपटलमा बसेको प्रिय यात्रा
सुमन थापा ‘सङ्गम’
कुनै कुनै यात्रा अति प्रिय हुन्छन् थोरै समयको कुराकानी र योजना पश्चात् पूनहिल उक्लने योजना बन्यो । योजना अनुरूप जीपको बन्दोवस्त गरेर हामी छ जनाको टिमले खुला आकाशमा उडेको पंक्षी झैं दुवै पखेटाहरू निर्वाध फैलाएर गगन चुम्ने कोसिस गर्यौं । यो टिमले मनको पखेटाले उडान भर्यो र जमिनको एक हिस्सामा माटोको कण चुम्दै हृदयको विशाल महल सजायो ।
यो यात्रामा जीपलाई तिर्नुपर्ने रकम तिरेर जीपलाई आफ्नो बनाएका थियौं । त्यसैले सुन्दर दृष्य जहाँ भेटिन्छ त्यहाँ रोक्न हामीलाई हम्मे परेन । पहाडी बाटो ,जंगल छेउ स्थुप्रै स्थानहरूमा साना पालुवादेखि बडेमानका रूखहरू जस्का हातहरूमा हरिया पातका चवर थिए । ति चवरहरूले हात हल्लाउँदै आउनेहरूलाई अघि बढ्न सुचित गरिरहेका थिए र जानेहरूलाई बिदाई ।
यात्रा न हो यात्रामा गाउँ भेटिन्छन् , स्नेही हृदय भएका मानिस भेटिन्छन् , जंगली किरा फट्याङ्ग्रा अनेक भेटिन्छन् । हामीले भेटेका गाउँ तिखे ढुङ्गा , उल्लेरी, भालु ओढार, अवतारी लामा गुम्बा, बन ठाँटी, कोखे डाँडा, भालु गुफा जस्ता थुप्रै गाउँ जस्ले भनिरहेका थिए जीपको पाङ्ग्राले छोएर भन्दा तिम्रा पाइतालाले हामीलाई छोएर जाओ तिम्रो स्नेहको स्पर्श हामी यो माटोमा सजाउँछौं । अफसोच स्वयं यो लेखक नै शारिरीक कमजोरीको कारण स्वयंको पाइतालाले ति माटोलाई चुमेर जान असमर्थ थियो र जीपको सानो ओढारभित्र आफूलाई कैद गर्न बाध्य बन्यो । पाइतालाका डोबहरू छोड्दै हिंड्ने मित्रहरूलाई समेत बाध्य बनाए झैं फर्कंदा बनठाँटीसम्म पैदल यात्रा गरेर फर्कने ति मित्रहरूको रहरलाई भोटे ताल्चा कसिदियो यो लेखकले । स्वास्थ्य स्थितिका कारण ती मित्रहरूसंग क्षमा याचना समेत गरेको छ ।
पैदल यात्रा गर्न सकेको भए ऐंसेलुका पहेंला झुप्पाको बुकि हाम्रो हातमा हुन्थ्यो । हरिया पातका चवर हल्लाई रहेका रूख हाम्रो अंगालोमा हुन्थ्यो खैर यी रहरहरू मनभित्र दवाएर हामी हुईकिरह्यौं । आँखाले ऐंसेलुका बुकि छोईरह्यो, मनले मानेन र हामी रोकिएर ती ऐंसेलु हत्केलाभरि लियौं सम्झनाका लागि तस्विर मोबाइलमा कैद गरि ऐंसेलुका स्वाद लिएर गन्तब्यतर्फ लाग्यौं ।
म प्रायः यात्रामा कल्पनाको उडान भरेर जहाँतहीँ बरालिन फुत्त निक्लन्छु । साथमा टिमहरू हुँदाहुँदै पनि म भने मनको आदेशमा भावनाको यात्रा गर्दै कता हो कता हराउन पुग्छु । वसन्तको मौसम छ, त्यसैले होला नयाँ पालुवामा झुमिरहेका पुतली आँखामा आएर बस्छन् । कतै समूहमा कतै एक्लो उदास झैं लाग्ने । कहिलेकाहीँ म आफुलाई पनि एक्लो पाउँदा उस्तै उदास महसुस हुन्छ त्यसैले होला ती एक्लै उडीरहेका पुतली आफु झैं लाग्छ । कतै भने जोडी पुतली जिस्किंदै हामी हिंडेको जीपको अघिल्लो भागको सिसामा आफ्ना पखेटाले सिसा नजिकै आएर जिस्किंदै पर पुग्छन् । यी सब दृष्य अघिल्लो सिटमा बसेर मैले नियालीरहेथें त्यसैमा म हराउन पुगेंछु । किन किन मनले पुतलीको समिपै रहन खोज्छ । मलाई औधी मन पर्छ पुतलीको कोमल पखेटाले जिस्काउंदै उडीरहेको हेर्न ।
बिरेठाँटीसम्म कालोपत्रे सडक भेटिन्छ त्यसपछि शुरु हुन्छ तिखे ढुङ्गा नाउँ गरेको गाउँ जस्तै ढुङ्गै ढुङ्गाका कच्चि सडक । त्यो कच्चि सडकमा जिप आफ्नो रफ्तारमा दौडदा सोच्नुहोस् त कति उफ्रन्छ होला ? बिचरा पछिल्लो भागमा बस्ने साथीहरूको हालत म कल्पना गर्छु । वहाँहरूले मलाई यति स्नेह दिनुभयो कि म जिपको अघिल्लो सिटमा महारानी झैं गजक्क परेर बसिरहेकी थिएँ ।तर मन भने साथीहरूलाई जिपले थचार्दा पिरोलिरहेको थियो । यात्राको कठिनाईमा पनि वहाँहरूको मुहारको मिठो मुस्कानले यात्रा उज्यालिएको थियो ।बेला बेलामा कृष्ण मर्सानी सरले २०४५/५० सालतिरका अतित सुनाउनु हुन्थ्यो कुरा शुरु गर्नु अघि ‘सिमसिमे राजाको पालामा’ भनेर कुरा शुरु गर्नु हुन्थ्यो । शुरु शुरुमा त बुझेनौं भन्दै जाँदा पछि बल्ल बुझियो । ‘सिमसिमे राजाको पालामा’भन्नुको अर्थ बर्खामासको बेला हिंडेको भन्नु भएको रहेछ बुझेपछि भने मज्जाले हांस्यौं ।
बाटोमा फाट्टफुट्ट गुराँस फुलेका भेटिन थाले मन पुलकित हुँदै गयो । हामी पोखराबाट बिहानको साँढे आठबजे हिँडेको बाह्रबजे तिर घोडेपानी पुग्यौं । घोडेपानी पुग्दा मौसमले चुनौति दिइरहेको थियो । आकाश डम्म कालो बादलले छोपेर चिसो हावाको साथमा कुहिरो ल्याउँदै हामीलाई जिस्काउँदै जाँदै गर्यो । हामी पनि के कम र मौसमको चुनौति स्विकार्दै कुहिरोसंग जिस्किंदै कुहिरोलाई पृष्ठभूमिमा पार्दै टिकटक बनाईरह्यौ, तस्विर खिचिरह्यौं । चिसो हावाले स्पर्श गर्दा दुईहातले आफैलाई कस्यौं । ऊ अलिक पर जाँदा कुहिरो पनि लिएर जान्थ्यो हाम्रो मन अमिलो हुन्थ्यो । हामीलाई भने कुहिरोसंग जिस्किंदा जिस्किदै गुराँससंग प्रेम बसेको थियो छुट्टिनै चाहंदैनथ्यौं । तर प्रकृतिको लिला अंध्यारोले पृथ्वीलाई ढपक्क कालो ओढनी ओढायो, हामी आ आफ्नो कोठातर्फ लाग्यौं ।
घोडेपानी पूनहिलमा नेपालमा पाइने बत्तिसथरी गुराँस मध्ये तीसथरी गुराँस पाईंदो रहेछ । सबैभन्दा धेरै रातो रंगमा र सबैभन्दा थोरै बैजनी रंगमा भेटिंदो रहेछ । हामीले रातो र हल्का गुलाफी रंगको गुराँस मात्र अवलोकन गर्न पायौं ।
घोडेपानी म्याग्दी जिल्लाको धौलागिरी क्षेत्रको पर्यटकिय गाउँ मगर बस्तीले बढी चिनिंदोरहेछ । प्रमुख मगर र गुरुङ्ग जाति रहेपनि अहिले भने खस जाति , दलित जाति सबै मिश्रीत जाति रहेछन् । गुरुङ्ग जातिहरू ट्रेकिङ्गमा विशेष दक्खल राख्ने रहेछन् ।
घोडेपानी पूनहिल ट्रेकिङ्ग रूट भएकोले यहाँका बस्ति ब्यक्तिगत घरहरू प्रायः लज र होमस्टेमा रूपान्तरण भएर ब्यवसायिक संचालनमा रहेछन् । हामी पिस एण्ड एक्सिलेन्ट भ्यु लजमा बसेका भएर हाम्रो गन्तब्य पूनहिलको चुचुरोसम्म पुग्न एकघण्टाको बाटो थियो । पूर्व योजनानुसार बिहान पाँच बजे लजबाट निस्कियौं । म छिटोछिटो हिंड्न नसक्ने कारण सूर्योदय हेर्ने हतार नगर्ने सल्लाहनुसार हामीले बाटोभरि भेटिने गुराँसलाई साक्षी राख्दै उनिहरूसंग पिरति गांस्दै भिडियो टिकटक बनाउँदै हिंड्दा एकघण्टाको बाटो साढे दुई घण्टामा माथी ३२१० मीटरको उचाईमा रहेको पूनहिल पुग्यौं । मलाई साथ दिँदै हिंड्दा अत्यन्तै सरल स्वभावका कृष्ण मर्सानी सर र लक्ष्मी बहिनी समेतले सूर्योदय हेर्न छुटाउनुभयो । यात्रामा यति धेरै स्नेह गर्ने साथीको साथ भयो भने सायद संसार जिते जतिकै खुसी मिल्दो रहेछ । बहिनी सुनिता , मुनिन्द्र सर र सुमन भाइ भने हामीलाई छोडेर उक्लनु भयो । सायद वहाँहरूले सूर्योदयको आनन्द लिनुभयो ।
हिमालहरू लहरै आगन्तुकको स्वागातार्थ उभिएका थिए । अघिल्लो दिन कुहिरो र बादलसंगको चुनौतिले पिरोलिएको मन हिमाल हाँसेको देख्दा कम्ति खुसी लागेन र ! ३२१० मीटर उचाई लिएर उभिएको पूनहिलमा पुग्दा देख्यौं सबै भन्दा धेरै आन्तरिक पर्यटक अझै धेरै त जेनजी युवाहरूको ट्रेकिङ्ग मोह देखियो । यो मोह देख्दा अत्यन्तै खुसी लाग्यो । त्यहि जेनजी युवा मध्येका एक युवा सबिन रावलले हाम्रो सामुहिक तस्विर अत्यन्तै सुन्दर ढंगले खिचिदिए उनलाई धन्यवाद छ । कमसेकम युवाहरूले आफ्नो देश आफ्नो माटोको रंग पछ्याउन थालेछन् यो एकदम नै हर्षको कुरा हो । प्रत्येक अभिभावकले आफ्ना हुर्कंदै गरेका सन्तानलाई यसतर्फ उत्साहित बनाउनै पर्छ ।

पूनहिलको हिमशृङ्खला धौलागिरी,अन्नपूर्ण ,माछापूछ्रे लगायत थुप्रै हिमाल स्पर्श गरेर घाम तल पहाडका खोंच ,गोरेटा, खेत,आली र तल्लो तहको भूईँसम्म पोखिदा प्रत्येक दिन हामीलाई हिमालले चुम्ने रहेछ छुने रहेछ अनि पो हामी नेपालीहरू हृदयमा प्रेम र शीरमा हिमाल बोकेर चुलिने रहेछौं । हामी संसारकै भाग्यमानी रहेछौं भन्ने लाग्यो ।
पूनहिलको उचाईमा पनि पर्यटकलाई सुबिधाको ख्याल राखेर सानो चिया खाजा पसल खोलिएको रहेछ । निशुल्क शौचालयको सुबिधा समेत पायौं ।
पूनहिलमा हामीले तीन घण्टा बितायौं धेरै खुसी बटुलेर सोही दिन पोखरा फर्कियौं ।