
मुक्तकहरु
रामसुन्दर देउजा
१. कोही छन् विदेशी दबाबमा
कोही छन् नोटका प्रभावमा
देश कसरी उँभो लाग्छ खै
जनता चाहिँ अभावै अभावमा !
२. गाउँघरबाट मीठो लोकभाका हराएछ
ढकमक्क फुल्ने गुराँस को पाखा हराएछ
विदेशी संस्कृतिको कस्तो भोक जागेको
आफ्नै देशको पहिरन ढाका हराएछ !
३ .चाप्लुसीका सलाम ठोक्नेहरू
मनमा असत् बोक्नेहरू
समाज विरोधी हुन् यी
विकास का गति रोक्नेहरू !
४.ती मलिन आँखाभरी तिम्रा आँसुजस्तो लाग्छ
त्यो मुटुमा यो मुटु सँगसँगै गाँसुजस्तो लाग्छ
एकान्तमा कताकता हराउन खोज्छु कहिले
ती आँखामा यी आँखा भरपुर टाँसुजस्तो लाग्छ !
५. धुन मीठो सारङ्गीको रेट्न मन लाग्यो
खै किन हो आज उनलाई भेट्न मन लाग्यो
एक्लो रेछ मानिस आफू अरू रैछन नाता
भेटेपछि मनको तिर्खा मेट्न मन लाग्यो !





