
संस्मरण
प्रदीप सापकोटा
पहिलो पटक भित्तो नाँचेको हेर्न पाउँदा
कुरा हो, २०४२ सालतिरको । बुबाले मलाई राजधानी घुमाउँन ल्याउनु भएको थियो । यो राजधानी घुमाई मेरो दोस्रो पटकको थियो । उतिबेला स्कूलमा दशैं र तिहारको एकमहिने छुट्टी हुन्थ्यो । मेरो कानमा समस्या भएकोले बुबाले कान जचाउँन काठमाडौं ल्याउनुभएको थियो । उतिबेला घरबाट पनौतीसम्म हिंडेर आउनुपथ्र्यो । झण्डै सवा घण्टा कस्सिएपछि पनौती पुगिन्थ्यो । त्यहाँबाट जर्मन डब्बावाला मिनिवस चढेर राजधानीको डेढ घण्टाको सफर ।
शहीद गेट झरियो । बुबाले हातमा डोर्याएर उतिबेलाको सानेबानी पुर्याउनु भयो । न्यूरोट गेटनेरबाट क्रस गरेर महाँकाल पुगेउँ । उतिबेला यतिबिध्न बाटो छिचोल्न गाह्रो हुन्थेन् । सवारी चाप पनि अहिले जस्तो कहाँ हुनु । महाँकालमा साझा थियो,अहिलेको ट्रमा सेन्टर नजिक । त्यहाँ थियो डाक्टरको क्लिनिक । हामीले डाक्टर भोली साँझमात्र आउने भन्ने जानकारी पायौं । सायद बुबाले भोली साँझको निम्ति नाउँ लेखाउनु भयो ।
कहाँ जाने ? बुबाले सोध्नुभयो ।
घुम्ने । मैलें जवाफ दिएँ ।
‘फनफन यहिं घुम न त ।’ बुबाले हाँस्दै भन्नुभयो ।
‘ल हिंड,न्यूरोडतिर लान्छु ।’ बुबाको पछिपछि म लागें आज्ञाकारी बालक भएर ।
न्यूरोेडभित्र पाको भन्ने ठाउँमा लानुभयो । कितावहरु बेच्नलाई टाँगिएको थियो । वरिपरि जुत्तामा पालिस लाउनेहरु लामबद्ध देखिए । पर गयौं । पार्कभित्र लानुभयो ।
यो भुगोल पार्क रहेछ है । मैले भित्तामा लेखिएको पढ्दै मनमनै भनें ।
एकछिन् त्यहाँ बसेउँ । बुबाले त्यहाँबाट मलाई हनुमान ढोका लैजानुभयो । पहिले पनि गएको तर धेरै हेर्न पाको थिइन् । त्यहाँ विदेशीहरुको भीड देखिन्थ्यो ।
‘अम्रिकनहरु कति धेरै है ?’ मैले आश्चर्य मान्दै भनें।
‘टुरिष्ट हुन् यिनीहरु । विभिन्न देशबाट आएका कहाँ अम्रिकन मात्र हुनु । ‘ बुबाले प्रष्ट्याउनुभयो ।
उतिबेला विदेशी अम्रिकन थिए बालशुलभ हाम्रालागि । हनुमानढोका एकछिन घुमेर बुबाले विशालबजार पनि लैजानुभयो । त्यहाँ पहिले पनि कपडा किनिदिनुभएको सम्झें । मभने त्यहाँभित्र पसेर बुबा भन्दा पहिले लिफ्ट चढ्न थालें । कस्तो मज्जा लाग्थ्यो । अलिअलि रिंगाउँथ्यो पनि । चट्ट लिफ्ट भित्र टेक्यो,चुपचाप उभिएपनि उसले तुरुन्तै माथ्लो तलामा पुर्याइहाल्थ्यो । मैले दुईतीन पटक लिफ्ट चढें र मज्जा लिएँ । बुबाले मलाई विशालबजार घुमाउनुभयोे । खास त्यहाँ केही किनिएन् ।
साँझ पर्न थाल्यो । शहर झिलिमिलि देखियो । मैले मेरो गाउँ सम्झें – यतिबेला त बाहिर निस्कन पनि डर लाग्थ्यो । रमाईलो मानें । बुबाले अब ढिला गर्नु हुँदैन् जाउँ भन्नुभयो । हामी रत्नपार्कसम्म हिंडेर आयौं । लगनखेल जाने बस समातेर लागेउँ ललितपूरतिर । मेरा काका खानेपानी संस्थान जाउलाखेलमा कार्यरत हुनुहुन्थ्यो । उहाँको कोठाथियो जाउलाखेलभन्दा अलिकति पर कुमारीपाटीमा । हामी आउँदैछौ है भन्न उतिबेला मोवाइलको जमाना थिएन् । टेलिफोन पनि पहुँचभन्दा बाहिरको कुरा भो । त्यसैले बुबा हतारिनुभएको थियो ।
हामी कुमारीपाटी पुगेर उत्रेउँ । बुबाले गल्लीको बाटो समाउनुभयो । म उहाँको पछि पछि लागें । काकी काँठ भद्रबास तिरकी । उतिबेलाको काँठेपारा हामी गाउँलेलाई मन पर्थेन । विहान बुबाले चिया खाएपछि जुत्ताको तुना कसिंदिंदै भने, ‘ल हामी निस्केउँ ।’
काकीले खाना खाएर जाउँ पनि भन्न सकिनन । मलाई त कतिबेला निस्कुँ भएको थियो ।
रत्नपार्क आइपुगेउँ । रिमझिम भोजनालय खुब भीड । खाना खायौं । त्यहाँ खाना खाएर निस्कँदा एघार बज्न लागेको थियो होला । अनि रानीपोखरीको डिलैडिल बुबाले जमल लैजानु भो । त्यहाँ विश्वज्योती सिनेमा घर थियो । बुबाले टिकट लिनुभयो । कौतुकमय थियो मेरो मन । भित्तो कसरी पो नाँच्छ क्या ! रहर मनमा साँच्नुहुन्न,मौका पाउँदा पुरा गरिहाल्नु पर्छ । यही लाग्थ्यो । हामी एकतलामाथि चढेउँ । भित्र छिर्नासाथ अध्याँरो । मान्छेको भीड त्यस्तै । भित्र भित्तो चल्न थाल्यो । आहा कति मज्जा आउँदोरहेछ । हामी एक हौं शिव श्रेष्ठ लगायतले अभिनय गरेको नेपाली पाकिस्तानी संयुक्त लगानीमा निर्मित चलचित्र । आमामा फाइट उस्तै । जोसिंएँ म । मेरो लागि भित्तो नाचेको कुरा रहस्य थियो यसअघि । कहिल्यै हल गर्न नसकिने विषय जस्तो कौतुकमय । आजबाट खास केही लागेन । रमाइलो चाँही लाग्यो है । झण्डै साँढेदुई घण्टा विताइयो । कथा खास ठम्याउन सकिन चलचित्रको । आमाले बच्चामा लगाइदिएको लकेटमा नामको पहिलो अक्षर लेखिएको आधारमा दाजुभाइ पहिचान गरिएको कथा मात्र याद छ ।
एउटा नयाँ अनुभव गर्न पाइयो । वुबाप्रति कृतज्ञ भएँ । आखिर भित्तो नाँचेको हेर्न पाउनु पनि मज्जैको कुरा रहेछ । जहिले र जसलाई पनि उतिबेला कहाँ यो अबसर जुटनु ,फेरी गाउँमा बस्ने हामीजस्तोलाई । धानका बालाहरु जस्तै लहलहाएको मनको रहर आज पुरा भएको छ । प्रविधिको यो तरिका देखेर म बालक बबुरो दङ्ग परें । पछाडिबाट लाइट दिएर भिडियो पठाएर अगाडिको पर्दामा त्यत्रो आकारमा देख्दा मन अचम्भित हुने नै भो । मेरो मनको चेतनाको ढोका कहाँ त्यति बुझ्ने गरी फराकिलो भैसक्या थियो र – अचम्भित नहुँ ।
शिव श्रेष्ठ हिरो यति थाहा पाएँ । कामना पत्रिकामा कतै पढेको थिएँ । उनी वि.सं.२०३९ देखि नेपाली चलचित्रका हिरो भएका हुन । पछि थाहा पाएँ उनी नेपाली चलचित्रका एक लेजेण्डरी नायक हुन । यसपछि मैले मौका पाउनासाथ थुप्रै शिव श्रेष्ठका चलचित्रहरु हेरें। बस्तवमै अजिबको सवाल हो चलचित्र पनि । यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सजिलो माध्यमको काम गर्न सक्छ । केवल मनोरञ्जन मात्र हैन,बबाल परिवर्तनको वाहक हुनसक्छ । पछि लाग्यो भित्तो नाँच त समयको साक्षी रहेछ । चलचित्र त ऐना रहेछ जहाँ समाज हेर्न सजिलो हुन्छ ,बुझ्दै आउँदा त्यस्तो लाग्यो ।
तर,पहिलो पटक भित्तो नाँचेको हेर्न पाउने म गाउँमा जन्मेहुर्केको र प्राथमिक तह पढ्दै गएको फुच्चेले भित्तो नाँच नै उल्लेख्य लाग्नु अस्वभाविक थिएन पक्कै । मलाई त्यो बेलाको हामी एक हौं चलचित्रको एउटा गीत भने अहिले पनि आउँछ :
‘गलत हो सब यो भावना
यो दुर के समिप के
छातीमा उचनिचको यो पीर छुत भाव के ?
हामी एक हौं ।
यो नाता हो रगतको यो नाता
कहिले पनि नटुट्ने कहिले पनि
निष्ठुरीलाई यो भनिदेउ
देखाउ यसलाई तोडेर ।’
दीप श्रेष्ठ र सुकमित गुरुङ लगायतले गाएको यो गीतमा कसको संगीत हो थाहा छैन मलाई । र रचना कसको हो त्यो पनि केही थाहा छैन् । पछि मैले युटुवतिर हेर्नको लागि यो चलचित्र खोजें । तर पाइँन । अहिलेपनि मलाई जीवनमा पहिलो पटक हेरिएको चलचित्र ‘हामी एक हौं ‘ पुनः हेर्ने रहर छ । तर,कहिं पाइँन ।
नेपालमै निर्माण भएको पहिलो चलचित्र आमा वि.सं.२०२२ सालमा बनेको मानिन्छ । नेपाली भाषामै भने वि.सं.२००७ सालमै सत्य हरिश्चन्द्र निर्माण भएको मानिन्छ । त्यसयता अहिले थुप्रै चलचित्र निर्माण भएका छन् । प्रायः हेर्न पाएकै छु । तर,जति मज्जा पहिलो चलचित्र हेर्दाको थियो,अहिले त्यस्तो लाग्दोरहेनछ ।
१७ औं शताब्दीमा नै चलचित्र बन्यो विश्वमा ।अगष्ट लुमिएर र लुइ लुमिएरले फ्रान्समा चलचित्र पहिलो पटक बनाएको मानिन्छ । शुरुमा ध्वनी नहुने चलचित्र पछि आएर ध्वनी सहित आउँन थालेको हो । म जस्ताको लागि यो विषय किन अनौठो नहोस त । पाकिस्तानसँगको संयुक्त लगानीको ‘हामी एक हौं ‘ हेर्न मौका पाएँ । आजकाल कहाँ चर्चा हुन्छ र । मैलै उतिबेला गाउँ गएर भित्तोमा नाँच र फाइट भएको बखान गर्दा मेरा दौतरीहरुको मष्तिस्कमै भुइँचालो गएको थियो । कौतुहलताले उनीहरु मेरो पिछा गर्न छोड्दैनथे । म पनि मच्चि मच्चि कहानी भन्थें ।
अब अहिले त यो कुरा गरेर के अर्थ । मानिसले जुनबेला नि आफ्नै मोबाइलबाटै चलचित्र हेर्न सक्छ । उतिबेलाको महत्व धेरै नि । अहिलेपनि त्यो भित्तो नाँचेको पहिलो पटकको दृष्य मेरो मानसपटलमा अमिट बनेर बसेको छ । आँखाबाट झरेर टाढा जान सकेको छैन ।