काठमाडौँ |महान सम्राट् सम्राट् अशोक २३३०औँ जन्मजयन्तिको अवसरमा चैत्र अष्टमीका दिन काठमाडौँ स्थित चारुमती महाविहार (चा:वही) मा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बौद्ध इतिहासविद् तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बुद्ध शिक्षाको प्रसार–विस्तार तथा विकास कार्यमा सम्राट् अशोकको अभूतपूर्व योगदानबारे गहन छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता श्रद्धेय भन्ते तप्पस्सिधम्म महास्थवीरले गर्नुभएको थियो भने सञ्चालन महाविहारका संयोजक सदस्य परममानन्द शाक्यले गर्नु भएको थियो। कार्यक्रम दीप प्रज्वलनबाट सुरु भई बालबालिकाहरूको समूहद्वारा काठका बाँसुरी (तीप:) को मङ्गलधुन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कानुन तथा सम्पदा अभियन्ता राजु शाक्य, धर्म शाक्य, विकास शाक्य, रमेशजंग थापा, सुकन्या अधिकारी, पत्रकार श्रीकृष्ण महर्जन, माननिय गोपाल किराती, भीमानन्द ढुङ्गाना तथा डा. मिलन बज् लगायतका बक्ताहरुले बुध्दशिक्षाको विकासमा सम्राट् अशोकको योगदान बारे तथ्यपूर्ण धारणा राख्नु भएको थियो।
त्यसैगरी, लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष तथा पूर्व मन्त्री डा. केशवमान शाक्यले अन्तरक्रियाका क्रममा उठेका जिज्ञासाहरूको उत्तर दिँदै सम्राट् अशोकसँगै उहाँका पुत्र भन्ते महिन्द थेर, पुत्री भिक्षुणी संघमित्त र चारुमतीहरुले बुध्दधर्मको विस्तारमा गरेको अद्वितीय योगदानबारे प्रकाश पार्नु भएको थियो।
कार्यक्रमको अन्त्यमा आयोजकका तर्फबाट महाविहारका थकाली मोहनरत्न शाक्यले धन्यवाद ज्ञापन र सभाअध्यक्ष भन्ते तप्पस्सिधम्म महास्थवीरले सम्राट् अशोक र उहाँकी छोरी चारुमती सम्बन्धी ऐतिहासिक तथ्य प्रस्तुत गर्दै सभा विसर्जन भएको थियो।