निबन्ध
लेखनको तिर्खा
ज्ञानेन्द्र विवश
लेखन कहिल्यै नसकिने यात्राजस्तै । लेखन लेखेर नसकिने महाभारतको कथा जस्तै । लेखन कति विशाल आयतनमा फैलिएको आकाश जस्तै । लेखन कति गहिराइमा भास्सिएको सेतीनदी जस्तै । कति अग्लिएको संसारकै सर्वोच्च चुली सगरमाथा जस्तै । जति लेखे पनि नसकिने हिँडेर नसकिएको बाटो जस्तै । सकियो कि भन्यो फेरि लम्बिदै जाने, तन्किदै जाने ।
लेखेर कहिल्यै पनि सिद्धिदैन रहेछ– अनुभूतिका भण्डारहरू । लेखनको तिर्खाले प्यास बुझाए पनि पुनः तिर्खाले काकाकुल पारिहाल्दोरेहछ ।
म कलम राख्छु भन्ने सोच्छु, तर अक्षरहरू आफैँ उठेर फेरि हात समाउँछन् । एउटा भाव टुंग्याउँदा अर्को भाव ढोका ढक्ढक्याइरहेको हुन्छ । मनभित्र कतैबाट नयाँ अनुभूतिको भेल उर्लिन्छ, पुरानै शब्दहरू नयाँ अर्थ बोकेर आउँछन्, र म फेरि लेख्न बाध्य हुन्छु । अनि लेख्न बस्छु लेखनको तिर्खा मेटाउन थाल्छु ।
तथापि जति लेखे पनि नयाँ कुरा बाँकी नै रहन्छन् । नलेखिएको अनुभूति जति बाँकी छन्, लेखिएका अनुभूति त्यतिनै अपूरा लाग्छन् । भावनाहरू नदीझैँ हुन्– एक ठाउँमा रोकिए पनि बगिरहने । एउटै दृश्य, एउटै बाटो, एउटै अनुहार हरेकपटक नयाँ अनुभूति लिएर उपस्थित हुन्छन् । हिँड्दा–हिँड्दा हिँडेर नथाकेका पाइलाहरूझैँ, लेख्दा–लेख्दै पनि कलम थाक्दैन; थाक्छ त केवल समय !
आँखाहरू हेर्दा–हेर्दा पनि नअघाउँदा रहेछन् । लेखनको तिर्खा पनि त्यस्तै हुँदोरहेछ ।
दृश्यहरू आँखाबाट मनतिर सर्छन्, मनबाट अनुभूतितिर र अनुभूतिबाट शब्दतिर । तर शब्दले सबै बोकेर लैजान सक्दैन । देखेर तृप्त नभएका मनहरू जस्तै, लेखेर पनि सन्तुष्ट नहुने मन– यही हो लेखकको नियति ।
सायद लेखन भनेको तृप्ति होइन, निरन्तर प्यास हो । लेखनको तिर्खा कति हो कति !
पानी पिएपछि मेटिने तिर्खाजस्तो होइन यो । झन् लेखेपछि अझ बढ्ने प्यास । एउटा वाक्यले अर्को वाक्य जन्माउँछ, एउटा अनुभूतिले अर्को अनुभूतिलाई बोलाउँछ । मन सधैँ प्यासी रहन्छ– तर यही प्यास नै मेरो जीवनको मिठास हो । यदि यो प्यास मेटियो भने, सायद लेखन नै मरेर जान्छ । मेरो मरणसँगै…!
अक्षरका पंक्तिहरूमा भाव व्यक्त हुन थालेपछि, मनको बोझ हलुका हुन्छ । अन्यथा छट्पटीका अनेक हैरानीहरूले आफ्नै मासु खान्छ । आफ्नै शरीरबाट भल्भली रगत बगेको, आफ्नै मासु लुछिलुछी खाएको कसरी हेर्नु ? बरु लेखनको तिर्खा मेटाउँनु नै बेश हुन्छ । त्यसका लागि म जाडो भन्दिनँ । गर्मी मान्दिनँ । हतारलाई हतारमै छोडिदिन्छु ।
भित्र थुप्रिएका अनुभूतिहरू जब शब्द बनेर बाहिर निस्किन्छन्, तब हृदय कृतज्ञ हुन्छ । आनन्दले आभारी हुन्छ– जस्तो भारी बोकिरहेको यात्रीले बिसौनीमा सास फेरेको होस् । त्यही क्षण म आनन्दले मस्त हुन्छु– न कुनै तालीको अपेक्षा, न कुनै मूल्याङ्कनको लोभ । मात्र लेख्न पाएको सुख । मन खोलेर, मनभित्रैबाट लेखिसकेपछिको आनन्द !
सायद लेखन गन्तव्यपश्चात्को विश्राम हो ।
यो यात्रा हो– कहिल्यै नटुंगिने, कहिल्यै नसकिने। हिँड्दा–हिँड्दै रमाइने बाटोझैँ, लेख्दा–लेख्दै प्रेम बस्ने कर्म । अनुभूतिका भण्डारहरू सकिँदैनन्, किनकि जीवन आफैँ अक्षय छ । जबसम्म हेर्ने आँखा छन्, महसुस गर्ने मन छ, र शब्दलाई माया गर्ने हृदय छ– लेखन कहिल्यै सिद्धिँदैन ।
र, सायद यही नसिद्धिनु नै लेखनको सबैभन्दा ठूलो सौन्दर्य हो । अपत्यारिलो किसिमले म त्यही सौन्र्दपानको मोहमा फँसेको हुन्छु ।
लेखनको यात्रा एउटा यस्तो बाटो रहेछ, जहाँ गन्तव्य भेट्टाउनुभन्दा पनि हिँडिरहनुमै परमानन्द मिल्छ । मानिसले सोच्छ– आज मनका सबै गाँठा फुकालेर कागजमा उतारिदिन्छु र रित्तो हुन्छु । जोगी बनेर घर–घरमा भीक्षा मागेर खान्छु । तर, जति–जति शब्दहरू कोरिँदै जान्छन्, अनुभूतिका भण्डारहरू झन्–झन् भरिँदै जाँदारहेछन् । यो त एउटा यस्तो इनार रहेछ, जसबाट जति पानी निकाले पनि मूल झन् रसाएर आउँछ ।
भावनाका नयाँ भेलहरू अनगन्ती । हाम्रो मन कुनै एउटा स्थिर पोखरी होइन, यो त एउटा विशाल र गतिशील महासागर हो । समयको हरेक पलसँगै यहाँ भावनाका नयाँ–नयाँ भेलहरू उर्लिन्छन् । कहिले आँसुका लहरहरू त कहिले मुस्कानका छालहरू । कहिले विरक्तिका आँधीहरू त कहिले आशाका पलहरू । यी नवीनतम् सौन्दर्य र सुहागहरूलाई अक्षरमा उनेर कहिल्यै सकिँदो रहेनछ । हरेक बिहान एउटा नयाँ रङ लिएर आउँछ र हरेक साँझ एउटा छुट्टै मौनता । तिनै साना कुराहरूमा लुकेका विराट् अनुभूतिहरू लेख्दा–लेख्दै जीवनका कति पानाहरू भरिए, तर मनको पाटीमा लेखनको तिर्खा अझै कोरी नै छ ।
नथाकेका पाइला, नअघाएका आँखाहरू जस्तै त्यस्तै हुँदोरहेछ लेखनको तिर्खा । जीवनलाई नियाल्दा लाग्छ, यी आँखाहरूले कति धेरै दृश्यहरू पिए, तर अझै तिर्खा मेटिएको छैन । सृष्टिको यो अनन्त क्यानभास हेर्दा–हेर्दा कहिल्यै अघाइँदो रहेनछ । हिँड्दा–हिँड्दा पाइलाहरू थाक्नुपर्ने हो, तर अनुभूतिका पुरानै गोरेटाहरूले फेरि नयाँ ऊर्जा भरिदिन्छन् । एउटा लेखक वा चिन्तकका लागि हरेक सडक, हरेक अनुहार र हरेक प्राकृतिक दृश्य एउटा छुट्टै कथा हो । जबसम्म मनमा जिज्ञासा जीवित रहन्छ, तबसम्म दृश्यहरू रसिलो लागिरहन्छन् र लेखनको भोक कहिल्यै मर्दैन । त्यहीँबाट लेखनको तिर्खा जाग्दोरहेछ ।
तृप्त हुन नसकेको मन अतृप्तिकै यात्रामा प्राप्तिको आरोहण गर्छ । तर, कहिल्यै तिर्खा मेटिएकोमा चुपचाप हुँदैन । लेखनको तिर्खाले सधैँ आकुल भइरहेको हुन्छ ।
वास्तवमा, लेखन भनेको तृप्त हुनु मात्र होइन, यो त अतृप्तिको उत्सव पनि हो । यदि मन पूर्ण रूपमा तृप्त भइदिन्थ्यो भने सायद शब्दहरू नै जन्मिने थिएनन् । केही नपाएको अभाव वा केही पाएर पनि अझै बुझ्न नसकेको कौतुहलताले नै कलमलाई गति दिन्छ । हामीले लेख्ने भनेको त केवल अनुभूतिका छिटाहरू मात्र हुन्, भित्र त एउटा सिङ्गै ब्रह्माण्ड बाँकी नै हुन्छ ।
त्यसैले त भनिएको होला– साहित्य कहिल्यै सिद्धिँदैन । यो त मान्छेको अस्तित्व जस्तै निरन्तर छ । जति लेखे पनि नयाँ लाग्ने, जति पोखे पनि नसकिने यो ‘अनुभूतिका भण्डार’ नै हाम्रो वास्तविक सम्पत्ति हो ।
लेख्नु भनेको शब्दहरू सस्तो बेसाहामा खर्चिनु जस्तै होइन, हुनु हुँदैन । तौलीतौली वजनदार शब्दको सम्प्रेषणमा जीवन्त भावना झन् जीवन्त पार्न सक्नुपर्छ । आफूभित्रको अनन्ततालाई स्पर्श गर्न सक्नुपर्छ । जबसम्म सास छ, तबसम्म नयाँ अनुभूतिहरू जन्मिरहने छन् । न त भावनाका यी भेलहरू रोकिने छन्, न त लेखेर यी कहिल्यै सिद्धिने छन् । यो यात्रा त अनवरत चलिरहने छ– शब्दबाट शब्दसम्म, मनबाट मनसम्म । जीवनको ढुक्ढुकी रहुँन्ज्याल । लेखनको तिर्खाले सजिलै कदापि विसाउने छैनन् । विश्रामभन्दा माथि सोचाइको गतिसँगै हावाको वेग जत्तिकै ती स्वाभाविक रूपले व्यक्त भएर मनलाई शान्त पारिराख्ने छन् ।