काठमाडौं, पुस ६ गते । न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित ग¥यो । हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई सीधा सेटमा २५–१९, २५–१९ र २५–२२ ले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।प्रतियोगितामा न्युटनका राजन परियार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल विक उत्कृष्ट ब्लकर तथा न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, हिमरश्मिका अध्यक्ष तीर्थ गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए ।
स्वेता सदन र सुप्रिमलाई उपाधि
स्वेता सदन र सुप्रिमले टप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । स्वेता सदन सिनियर ब्वाइज तथा सुप्रिम जुनियर ब्वाइजमा पहिलो भए ।गोढुंगास्थित संस्कृति शिक्षा सदनमा भएको प्रतियोगिताको सिनियर ब्वाइजमा ह्वाइट हेभन दोश्रो तथा ल्यान्डमार्क एकेडेमी तेश्रो भए । जुनियर ब्वाइजमा ह्वाइट हेभन दोश्रो तथा स्वेता सदन तेश्रो स्थानमा रहे ।टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा सुप्रिमका निशान बराम उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा सुप्रिमकै अंकित कँडेल उत्कृष्ट गोलरक्षक भए ।जुनियर ब्वाइजमा पुकार कोइराला उत्कृष्ट खेलाडी, सागर माझी उत्कृष्ट गोलरक्षक र कविरजंग पाण्डे सर्वाधक गोलकर्ता बने । तीनै स्वेता सदनका हुन् ।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, टप्सका अध्यक्ष एवं ह्वाइट हेभनका प्रिन्सिपल भरतमणि पोखरेल, टप्सका इसीए कोओर्डिनेटर एवं तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा समान १४–१४ टिम सहभागी थिए ।
प्याब्सन मध्य क्षेत्रीय बास्केटब सुरु
प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐरले एक कार्यक्रमबीच उद्घाटन गरे । सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र गल्र्समा समान १४–१४ गरी ४४ टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले जनाएका छन् । खेल नयाँ बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित लिभरपुल स्कुलमा भइरहेका छन् । सेमिफाइनलदेखिका सम्पन्न खेल भने लिभरपुलमा खेलाइने छ ।
सिनियर ब्वाइजमा स्वप्न वाटिकाले अक्षरलाई २५–१५, सनसाइनले काठमाडौं जेभियर्सलाई ५४–३५, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले डेनेबलाई ३५–२८, चैतण्य शिक्षा संस्कारले लिभरपुललाई ५०–१६ र हेम्सले स्पाङगेललाई ५८–१० ले पराजित गरे ।
जुनियर ब्वाइजमा काठमाडौं जेभियरले स्पाङगेललाई ४२–२४, हेम्सले एसियन पब्लिकलाई ३३–११ र मार्वलसले सनसाइनलाई ३८–३० ले हराए ।
सिनियर गल्र्समा स्पाङगेलले अल्वर्टलाई १७–१०, लिभरपुलले हेम्सलाई १७–९, काठमाडौं जेभियर्सले सनसाइनलाई ३७–१२ र स्वप्न वाटिकाले एआईएलाई २९–६ ले पाखा लगाए ।
नर्भिकलाई इन्टर हस्पिटल फुटसलको उपाधि
पुस ६ गते । नर्भिक इन्टरनेश्नल अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि जितेको छ । शनिबार काठमाडौंमा भएको फाईनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो ।
नर्भिकले एभरेष्ट अस्पताल र ओमले ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई हराएर उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहित नर्भिकले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता ओमले २० हजार रुपैयाँमा चित्त बुझायो । विजेता टिमलाई महिला स्वास्थ्य तथा राइट पाथ बिजेनेशका प्रमुख कार्यकारी निर्देशक बसन्त शर्माले ट्रफी, मेडल सहित पुरस्कृत गरेका थिए ।‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटाहस्पिटल सहभागी थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा यतिकेम ग्रुप तथा सहयोगी संस्थाको रुपमा नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगमले सघाएका थिए ।स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थालाई जोड्ने उद्धेश्यले महिला स्वास्थ्य डट कमले हरेक वर्ष फुटसल प्रतियोगिता आयोजना गर्दै आएको छ । विजेता टिमलाई बधाई दिदै बिजनेश हेड शान्ति शर्माले प्रतियोगितालाई अर्को वर्ष समेत निरन्तरता दिईने उल्लेख गरिन् ।