
काठमाडौँ । सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका तत्काल गरिने कार्यहरू तय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।
बैठकले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको निरन्तर खोज उद्धार गर्ने निर्णय गरेको पनि उनले बताए।



