काठमाडौं।आज गाइजात्रा पर्व काठमाडौँ उपत्यकासहित देशभर मनाइँदैछ।
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाइजात्रा विभिन्न कार्यक्रम गरी मनाइँन्छ ।
एकवर्ष भित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ।
जनश्रुतिका अनुसार राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक सहित यो पर्व मनाइँन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।
विकृति र विसंगति विरुद्द लक्षित भएर विभिन्न साँस्कृतिक कार्यक्रम,प्रहसन आदि गर्ने चलन पनि छ । पत्रपत्रिकामा विभिन्न लेख रचनाद्धारा व्यँग गरी प्रकाशन पनि हुने गरेको छ । हिजो पञ्चायती व्यवस्था विरुद्द विभिन्न कलाकारहरुले व्यँग कस्ने दिनको रुपमा गाइजात्रा रही आएको थियो । यहि कुराले अहिले पनि निरन्तरता पाउँदै आएको छ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ। यस अवसरमा हाँस्य कलाकारहरूले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। सरकारले आजको दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।