आज २०८२ सालको श्रावण १५ गते हो । यो १५ गतेको बार बृहस्पतिबार हो । यसको इस्वीसनको वर्ष भनेको २०२५ को जुलाई ३१ तारिख पनि हो । यो कुरा क्यालेण्डर पल्टाएर नै थाहा हुने कुरा हो । श्रावण १५ गतेको बार पनि बृहस्पतिबार हो भने जुलाई ३१ को बार पनि बृहस्पतिबार नै हुनु पर्यो । यदि कसैले बृहस्पतिबारको सट्टा अरु कुनै बार लेख्न खोज्छ भने उसलाई जसले पनि फटाहा भनी हाल्नु पर्ने हुन्छ । ठीक त्यस्तैगरि पूर्णिमान्त र अमान्तमानको मान्यतामा पनि यही कुरा लागु हुन्छ ।
यही दिन पूर्णिमान्तमानको क्यालेण्डरले २०८२ श्रावण १५ गते बृहस्पतिबारलाई अमान्तमानबाट भनियो भने पनि गुँलाथ्व सप्तमी मतलव श्रावण शुक्ल सप्तमी बृहस्पतिबार भयो तर यहाँ बारको कुनै हेरफेर छैन । पूर्णिमान्तले बृहस्पतिबार भनेको अमान्तमानले पनि बृहस्पतिबार नै भनी रहेको छ ।
अब अमान्तमानमा दिइएको कुनै मितिमा मानी लिऔं आइतबार छ । यसको तिथिमिति गणना शुरु गर्दा आइतबार ल्याउन सकिएन भने पूर्णिमान्तमानबाट गणना गर्दा आइतबार आयो ट्वाक्क मिल्यो भनेर भन्न पाइन्छ त ? कुनै हालतमा भन्न पाइन्न तर भन्दै हिंड्यो भने उ जतिसुकै ठूला विद्वान कहलिएको व्यक्ति होउन् । मान्छेले मुखामुख उसलाई फटाहा भन्न नसकेपनि मनमनले यो मान्छे त साह्रै फटाहा पो रहेछ भनी हाल्छ । यो सामान्य उदाहरण मात्रैै हो ।
साँच्चै यथार्थमा इतिहासको लागि भरपर्दो पुस्तक भनी विश्वास कमाइ आएको पुस्तक तथा जर्नलहरुमा यही कुरा दृष्टान्त देखाई औंल्याई दियौं भने अन्धानुशरण गर्नेहरुले त नभन्लान् तर निष्पक्ष भई विवेकशील व्यक्तिले त फटाहा नै रहेछ भनी मूल्याँकन गर्ला यही कुरा तड्कारो रुपमा खुलाइ प्रष्ट पार्न यो लेख तयार गर्नु परेको हो ।
नेपालसंवत्को पञ्चाङ्ग शुरुदेखि अहिलेसम्म अमान्तमान भएर आएको कुरा सर्बविदित नै छ । यता विक्रमसंवत्लाई पूर्णान्तमान मानेर आइरहेको छ ।
नेपालसंवत् शुक्लपक्षबाट शुरु भएर कृष्णपक्षको औंशीमा महिना समाप्त हुने हुँदा यसलाई अमान्त भन्ने गरेको हो । यही श्रावण महिनाको ९ गतेबाट अमान्तमानको गुँलाथ्व पारु शुरु भएर २४ गते गुँलाथ्व पूर्णिमा जसलाई ऋषितर्पणी जनैपूर्णिमा पनि भनिन्छ । भन्न खोजेको कुरा यही कि गुँलाथ्व पारु शुक्रबार परेको छ भने गुँलाथ्व पूर्णिमा शनिबार परेको छ ताकि पूर्णिमान्त मान्नेहरुको लागि ९ गते प्रतिपदा शुक्रबार नै हो भने पूर्णिमा पनि २४ गते शनिबार नैे हो । स्पष्ट छ कि अमान्त मान्नेहरुको तिथिको बार र पूर्णिमान्त मान्नेहरुको तिथि बार एउटै हो ।
त्यस्तैगरि श्रावण २५ गतेबाट गुँलागाको पारु भइ भाद्र ७ गते गुँलागाको औंसी हुन्छ । यहाँ श्रावण २५ गते आइतबार र भाद्र ७ गते शनिबार परेको छ । यो पनि अमान्त मान्नेहरुको पारु र पूर्णिमान्त मान्नेहरुको प्रतिपदा एउटै दिन एउटै बार परेको छ । पूर्णिमान्त मान्नेहरुको उज्यालो रात भएको पक्षलाई शुक्लपक्ष भन्छ भने अँध्यारो रात भएको पक्षलाई कृष्णपक्ष भन्छ । यही उज्यालो रात भएको पक्षलाई अमान्तमानले गुँलाथ्व र अँध्यारो रात हुने पक्षलाई गुँलागा भनिएको छ । यहाँ नेपालसंवत् मान्नेहरुले गुँलाथ्व र गुँलागा भनेर श्रावण महिनालाई लिइन्छ भने पूर्णिमान्त मान्नेहरुले गुँलागा लाई भाद्रकृष्ण पक्ष भन्ने गरेको छ । यहाँ गुँलालाई चाहे श्रावण भनोस् वा भाद्र भनोस् १५।१५ दिनको पक्ष भएर रहेको छ र बार भने अमान्त र पूर्णिमान्तको तिथिको एउटै हो । यो कुरा पात्रो पल्टाएर हेर्न सकिने कुरा हो ।
ने.सं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यबार मूलनक्षत्र ध्रुवयोग यस दिनको गणना यस प्रकार छ –
ने.सं ४९५( वि.सं १४३१) पौषकृष्ण(पूर्णान्तमानले माघकृष्ण) गते माघ ५ बार आदित्य तिथि त्रयोदशी घडीपला ५२।२८ नक्षत्र ज्येष्ठा घडीपला ६।१३ योग ध्रुव घडीपला ३०।२
यहाँ गणना गर्नेले आइतबार सिद्ध गर्न नसकेपछि पौषकृष्ण त्रयोदशीको तिथिलाई पूर्णान्तमानले माघकृष्ण भनेर ढाँटियो किन ? यसरी खुल्लेआम ढाँटेको कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ १२३ पृष्ठ पल्टाएर हेरियो भने प्रत्यक्ष देख्न सकिन्छ । यो कुरा फटाहाले गर्ने काम भयो भन्दा अन्यथा भन्यो भन्न नपर्ला ।
यहाँ त्यस फटाहाकाम माथि थुप्रै पश्नहरु तेर्सिन आउँछ । ती मध्ये केही यस प्रकार छन्
१. सुमतितन्त्रको धरातलमा बसेर भन्नु पर्दा नेपालसंवत्को उठान भएको कहिले ?
२. नेपालसंवत् ४९५ पौषको तद्नुसार वि.सं १४३१ माघ ५ भन्न सुमतितन्त्रको धरातल छोडियो किन ?
३ नेपालसंवत्मा पूर्णान्तमान भित्रियो कहिले ? त्यसको प्रमाण किन दिन नसकेको ?
४ मूलमा पौषकृष्ण भनेको हुँदाहुँदै त्यसलाई माघकृष्ण भन्ने अधिकार कसैलाई छैन ?
५ संशोधन मण्डलले अपनाएको सिद्धान्त के ? यसलाई बिर्सेको किन ?
यी प्रश्नहरुको जवाफ ढाँट्नेहरुसंग पनि छैन र ढाँट्नेहरुलाई प्रोत्साहन गर्दै आउनेहरुसंग पनि छैन । जसको कारणहरु खोजिनु जरुरी छ ।
प्रश्न १ को सन्दर्भमा सोही लिच्छविसंवत्को निर्णयलाई पल्टाएर हेर्दे जाने हो भने पृष्ठ ३ मा सुमतितन्त्रमा पछिपछि थपिएका वाक्यमा मानदेवसंवत् ३०४ वर्ष चल्छ भनिएको छ । यही निर्णयको पृष्ठ १९ देखि पृष्ठ २६ सम्म सौश्रुति संहिता सहोत्तराको संवत् ३०१ वैशाखको वि.सं ९३५ वैशाख पर्छ भनी लामो गणनाको फिहरिस्त दिइएको छ । सामान्य जोडघटाउ नै नबुझ्नेहरुले त्यो गणना बुझेको कल्पना नै गर्न सकिन्न । यहाँ केवल जोडघटाउको हिसावको कुरा मात्र छ ।
त्यो भनेको सुमतितन्त्रको धरातलमा टेकेर भनियो भने मानदेवसंवत् ३०४ वर्ष चलेको भनेपछि नेपालसंवत् उठान हुन ३०४ वर्ष बितेको नभ्याइकन बीचैमा उठेको भन्न भएन । सहोत्तराको संवत् ३०१ वैशाखलाई वि.सं ९३५ वैशाख सिद्ध गरिएकै भयो । अब जोडघटाउको हिसाव आयो । वि.सं ९३५ वैशाखसम्म ३०१ वैशाख, वि.सं ९३६ वैशाखसम्म ३०२ वैशाख, वि.सं ९३७ वैशाखसम्म ३०३ वैशाख र वि.सं ९३८ वैशाखसम्म ३०४ वैशाख हुने भयो । नेपालसंवत् पनि कार्तिकादि र मानदेवसंवत् पनि कार्तिकादि स्वीकारी सकेपछि वि.सं ९३८ को कार्तिकमा आएर बल्ल३०४ समाप्त भइ ३०५ अर्थात् त्यही ३०५ को सट्टा नेपालसंवत् १ भएर शुरुहुन गएको मान्यता सुमतितन्त्रले समेटिएको कुरा भयो ।
तर यथार्थमा वि.सं ९३६ कार्तिकमा नै नेपालसंवत आरम्भ भएको कुरा तमाम दुनियाँलाई थाहा छ । त्यसकारण ढाँट्नेहरुले वि.सं ९३८ कार्तिकमा आएर नेपालसंवत् आरम्भ भयो भन्दै भट्याइ रह्यो भने पनि त्यसलाई प्रोत्साहन गर्दै आउनु भनेको ठीक त होइन । त्यसैले ढाँट्नेको धर्म नै ढाँट्ने नै हो भने ढाँट्नेलाई प्रोत्साहन गर्नु अपराध हो ।
प्रश्न २ को सन्दर्भमा यदि सुमतितन्त्रलाई अपनाएको भए नेपालसंवत् १ भनेको वि.सं ९३८ को कार्तिक देखि वि.सं ९३९ को आश्विनसम्म रहनु पर्ने हुन्छ । तब वि.सं र नेसंको बीचको अन्तर ९३७ र ९३८ हुनु पर्ने हुन्छ । ने.सं ४९५ पौषको गणना यस प्रकार छ भनेर दिइएकोमा वि.स. १४३१ पौष भनेर दिइएको मतलव ९३६ र ९३७ को अन्तर देखाइएको भयो । योे सुमतितन्त्र अनुसारको भएन । यति बुझ्नको लागि ज्योतिष नै हुनु पर्ने पनि होइन र ज्योेतिष गणना चाहिने पनि होइन ।
सुमतितन्त्रमा पछिपछि थपिएको वाक्यमा ३०४ वर्ष मानदेवसंवत् चल्नेछ भनिएको वास्तवमा मूलमै भएर थपिएको हो कुनै थपुवा होइन भन्नेहरुले ९३७ र ९३८ फरक हुनु पर्ने कुरा किन समातिएन ? यहाँ ९३६ र ९३७ फरक परेको देखिने कुरा सुमतितन्त्र अनुकूलको होइन । फेरि नेपालसंवत् १ भनेको वि.सं ९३६ कार्तिकदेखि ९३७ आश्विनसम्म रहने भएपछि यसबीचको अन्तर ९३५ र ९३६ हुनुपर्ने हो । भन्नेबेलामा सुमतितन्त्र अनुसार गणना गरेको भन्ने सुमतितन्त्रले भन्दै नभनेको कुरा समातेर अनवरत रुपले ढाँट्दै आउँदा कसको स्वार्थ सिद्ध भयो थाहा छैन । यसरी हद नै नाघ्ने गरी ढाँट्दै आएको हुँदा पनि त्यसैलाई प्रोत्साहन दिएर बस्नु भनेको प्राज्ञ जगत कै लागि यो ठूलो बेइज्जत हो भन्न सकिन्छ ।
प्रश्न ३ को सन्दर्भमा नेपालसंवत् मात्र होइन त्यो भन्दा पूर्व नेपालमा चलिरहेको संवत् कार्तिकादि हुनुको साथसाथै अमान्तमानमा आधारित संवत् थियो । यो अपरिवर्तणीय छ र यसमा हेरफेर भएको जानकारी पनि छैन र हेरफेर कहिले भयो भन्ने प्रमाण न त ढाँट्नेहरुले अघिसार्न सक्यो न त त्यसलाई प्रोत्साहन गर्दै आउनेहरुले अघिसार्न सक्यो ?
विक्रमसंवत् पहिले अमान्त अहिले पूर्णिमान्त भएको होला तर नेपालसंवत् शुरुदेखि अहिलेसम्म अमान्तबाट पूर्णिमान्त भएको छैन । नेपालसंवत् ४९५ पौषकृष्णको गणना यसप्रकार छ भन्नेले पूर्णिमान्तले माघकृष्ण भयो भन्ने अधिकार गणकले कहाँबाट पायो ? अचम्म यो पो छ । फेरि गणना विक्रमसंवत्को गरेको त होइन । जब नेपालसंवत् ४९५ को मितिको गणना गर्नेले नेपालसंवत् कहिले पनि अमान्तबाट पूर्णिमान्त भएको छैन भन्ने थाहा छ । त्यसरी खुल्लेआम ढाँट्ने किन ? यसबाट फट्याई काम प्रष्ट रुपले समात्न सकिएको छ । किनकि नेसं ४९५ पौष भनेकोे वि.सं १४३१ पौष भने पछि १४३१ बाट १३५ घटाउँदा शक १२९६ पौष आउँछ । शक १२९६ बाट तिथिमिति बारको गणना गर्दा आइतबार आउनु पर्ने आइतबार नआएपछि अमान्तबाट पूर्णिमान्त देखाइएको हो । वास्तवमा नेपालसंवत् र शकसंवत् दुवै अमान्तमान भएकोले गणक भनाउँदाले यहाँ फट्याई गरेकै हो भन्ने सर्वात्मना सिद्ध हुन्छ ।
प्रश्न ४ को सन्दर्भमा मूलमा पौषकृष्ण दिइएको छ गणकले गणना गर्दा त्रयोदशीको दिन आइतबार आउनु पर्दथ्यो आइतबार नआएपछि गणना मिलेन भनेर बुझ्नु पर्दथ्यो । पौषकृष्ण त्रयोदशीलाई एक महिना धकेलेर माघकृष्ण त्रयोदशी भन्ने अधिकार कुनै शास्त्र र सिद्धान्तले दिइएको छैन । यो केवल दुनियाँलाई उल्लू बनाइएको मात्र हो ।
अमान्तमानको क्यालेण्डरमा पौष महिनालाई पहिलो पक्ष पौष शुक्ल र दोस्रो पक्ष पौष कृष्ण भन्छ । पूर्णिमान्तमानमा कृष्ण पक्षबाट शुरु हुने भएकोले पौष शुक्ल पक्ष भन्दा अघिल्लो पक्ष मंसिरकृष्ण पक्ष हुन्छ पौष शुक्ल भन्दा पछि आउने कृष्णपक्षलाई माघ कृष्ण पक्ष भन्छ भन्ने गणकको भनाइ भयो । वास्तवमा अमान्तमानको पौषकृष्ण त्रयोदशीको बार आइतबार भन्नु र पूर्णिमान्तको माघकृष्ण त्रयोदशीको एउटै बार आइतबार हुनु पर्ने हुन्छ । गणकले खुल्लेआम पौषकृष्ण त्रयोदशीको बार आइतबार नआएपछि पूर्णिमान्तमानबाट मिल्यो भनेर ढाँट्न पुगेको प्रष्ट बुझियो । वास्तवमा यसो गर्ने छूट कुनै शास्त्रले दिइएको छैन ।
यो ने.सं ४९५ पौषकृष्ण त्रयोदशी आदित्यवारको मिति सुमतितन्त्र सारेर सिद्धयाएको मिति हो । यहाँ पौषकृष्णलाई माघकृष्ण नबनाइकनै गणना गर्दा पनि आदित्यबार नै आउँछ भन्ने कुरा गणना गरी गणनाको फिहरिस्त दण्डपाणि अज्र्याल स्मृतिकेन्द्र काठमाडौंबाट प्रकाशित ज्ञानबिन्दु अंक १४ वर्ष १७ २०७९ चैत्र अंकमा १८ औं लेख सुमतितन्त्र एक अनुपयुक्त स्रोत शीर्षकको लेखमा छापिएर सार्वजनिक भइसकेको छ तर त्यसमा पाठकहरुको खासै ध्यान जान सकेको देखिएन ।
यसमा दिइएको गणना अनुसार नेसं ४९५ पौषकृष्ण त्रयोदशी आदित्यबार भनेको शक १२९५ इस्वीसन १३७४ जनवरी ९ तारिख आदित्यबार नै आएको छ जनवरी ९ तारिख भनेको पौषको २५ गते पर्न आउँछ तब वि.सं १४३० पौष २५ आदित्यबारसंग गणना संगति भएको छ ।
यसबाट नेसं ४९५ पौषकृष्ण त्रयोदशी भनेको वि.सं १४३० को पौष हुनुपर्नेमा वि.सं १४३१ मानेपछि बार मिल्न नआउनु स्वभाविक हो । यहाँ गणकले हिसावको फिहरिस्त नदेखाइकन माघ ५ गते आइतबार पर्न आयो वि.सं १४३१ माघ ५ गते आदित्यबार आयो गणना मिल्यो भन्दै लिच्छविसंवत्को निर्णय को पृष्ठ १२३ मा दुनियाँलाई खुल्लेआम बेवकूफ बनाइएको छ ।
प्रश्न ५ को सन्दर्भमा वि.सं २०१९ साल मंसिरमा जगदम्बा प्रकाशन मालाको सत्ताइसौं ग्रन्थ इतिहास संशोधनको प्रमाण प्रमेय पहिलो भागको पृष्ठ ३१२ मा पाद टिप्पणीमा मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुँदा मल्लकालका तिथिमितिको गणना अमान्तमान अनुसार यहाँ दिइएका छन् तथा शाहकालमा पूर्णान्तमानको प्रचलन हुँदा त्यसताकाको गणनाचाहिं पूर्णान्तमानअनुसार दिइएका छन् । यसको अपवादको रुपमा देखिन आएको ठाउँमा तत्तत् ठाउँमै सो खुलाएर लेखिएको छ ।
यही कुरा ऐतिहासिक पत्रसंग्रह दोस्रो भाग (वि.सं २०२१)को पृष्ठ ११२ र पूर्णिमा अंक १०३ को पृष्ठ ५ मा पूर्णिमान्त र अमान्तको भेद बताइएको छ ।
सुमतितन्त्र सारेर सिद्ध्याएको मिति ने.सं ४९५ भनेको शाहकालको मिति होइन र के कति कारणले यो अपवादमा परेको मिति भनेर लिच्छविसंवत्को निर्णयमा कतै खुलाइएको पनि छैन ।
आखिरमा संशोधन मण्डलले अपनाएको सिद्धान्त के हो त्यो पनि अन्योल छ । अघिल्ला आफना प्रकाशनहरुमा शाहकालमा पूर्णिमान्त देखा परेको कुरा बताउने तर ने.सं ४९५ कुन कालको मिति हो त्यतिबेला पूर्णिमान्त पनि थियो भन्ने प्रमाण किन अघि सार्न सकेन ? त्यत्ति कै दुनियाँलाई उल्लू बनाउन खोजेको हुनु अति लज्जास्पद कुरा हो ।
सुमतितन्त्र सारेर सिद्ध्याएको मितिको तारिख गणना ज्ञानबिन्दु (२०७९ चैत्र) अंकमा प्रकाशित भएको गणनालाई बुझ्न सहज होस् भनी थप खुलासा सहित यहाँ पुनः राखिएको छ ।
सुमतितन्त्र सारिसिद्ध्याएको मिति ने.सं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार मूल नक्षत्र ध्रुवयोग
अभिलेखमा नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार दिइएको छ । यसमा वार आदित्यवार भनेर दिइए पछि गणना गरेर हेर्न प्रयाप्त आधार बनेको हो ।
नेसं ४९५ मा ८०२ जोडेपछि १२९७ लिच्छविसंवत् आउंछ । यो १२९७ भनेको शक १२९५ को कार्तिकदेखि १२९६ को आश्विनसम्म रहन्छ ।
नेसं ४९५ पौष भनेको शक १२९५ पौष हुन्छ । शक १२९५ मा ७८ जोडे पछि १३७३इश्वी हुन्छ । पौषको कृष्ण पक्ष भनेपछि इस्वी फेरिसक्ने तर नेपालसंवत् कार्तिकबाट फेरिसकेको यहाँ केवल शकमात्र फेरिन बाँकी हुने हुनाले पौष माघ फागुन यी तीन महिनामा ध्रुवमा —७९ जोड्नु परेको हो ।
इष्ट इश्वीसन् १३७४ लाई ४ ले भाग गर्दा निःशेष आएकोले यो लीपयर(प्लुत वर्ष) हुन्छ । शक १२९५ को वर्षमा अधिमास परेको छैन
तिथिगणचैत्र १, वैशाख १+जेष्ठ१ + आषाढ१+श्रावण१+भाद्र१ +आश्वीन १+कार्तिक १ +मार्ग१ +पौष कृष्ण १३(२८) =३०गुणन९+२८=२९८—१५=२८३

परिणामः— सुमतितन्त्र सारेको मिति नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार दिइएको छ । यसको गणना गर्दा शक १२९५ पौष कृष्ण त्रयोदशी इस्वीसन १३७४ जनवरी ९ तारिख आदित्यवार नै आएको छ । जनवरी ९ तारिख पौष २५ गते पर्न आउंछ । तव वि.सं १४३० पौष २५ गते आदित्यवार संग गणनाले मेल खान्छ।
त्यसकारण लिच्छविसंवत्को निर्णयले पृष्ठ संख्या १२३ मा सुमतितन्त्र सारेको मिति नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवारलाई पूर्णिमान्तबाट गणना गरी वि.सं १४३१ माघ ५ गते आदित्यवार भनेर दिइएको जुन मिति हो त्यो हचुवा र मिथ्या हो किनकि अभिलेखमा भएको पौष कृष्ण त्रयोदशीलाई माघकृष्ण त्रयोदशी भन्न पाइन्न । अझ पौषकृष्णलाई माघकृष्ण भनोस् जेसुकै भने तापनि बार परिवर्तन कुनै हालतमा हुने होइन । यस्तै ढाँट्दै आएको उदाहरण संशोधन मण्डलको हरेक प्रकाशनहरुमा छ्याप्छ्याप्ती पाइन्छ । यतातिर कसैको पनि नजर गइरहेको छैन ।
निष्कर्षः
सामान्यतः जोडघटाउको हिसावलाई पनि संशोधन मण्डलले गरेको हुनासाथ मानिसहरुले ज्योतिष गणना भनी दिने गरे । उनीहरुले मनखुसी पाराले हिसाव देखाए पनि त्यो वेदाङ्गज्योतिष, सुमतितन्त्र अनुकूल भनी विश्वास गरी दिए । यसो गर्दा इतिहास सर्वत्र दूषित बन्दै आएको छ । हुंदाहुंदा पूर्णिमान्त के हो अमान्त के हो भन्ने मै पनि दुनियाँ दिग्भ्रमित पारी दिएका छन् । यो त हामी दैनिक पल्टाउँदै आएको पञ्चाङ्ग मात्र पल्टाए पनि बुझ्न सकिने कुरालाई क्लीष्ट र दूर्बोध्य पारी दिएका छन् । पञ्चाङ्ग पात्रोमा शुक्लपक्ष भनेर लेखिएका हुन्छन् भने अभिलेखहरुमा शुदी नेपालसंवत्मा (थ्व) भनिन्छ त्यत्ति हो अमान्तमानबाट पनि उही हो पूर्णिमान्तमानबाट पनि उही हो । पञ्चाङ्गमा कृष्णपक्ष भनेर दिइएको अभिलेखमा वदी र नेपालसंवत्मा (गा) भनिएको मात्र होे । यसमा बार नै परिवर्तन हुने त बिल्कूलै होइन । संशोधन मण्डलको तमाम प्रकाशनहरु पल्टाएर हेरियो भने पौषकृष्णबाट बार मिल्न आएन भने माघकृष्णबाट ट्वाक्क मिल्यो भन्दै दुनियाँलाई उल्लू बनाइएको उदाहरण माथि चर्चा भइसकेको छ । मान्छेहरु फेरि आँखा चिम्लेर त्यसलाई हो भनी अहिलेसम्म पनि पत्याउँदै आएका छन् । यो त सामान्य कुरो हो । यसमै ढाँटिन्छ र पत्याइन्छ भने यो भन्दा ठूलो बिडम्बना अरु के होला ?