
कठमाडौं । प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको तेस्रो कार्यकाल आज आइतबार देखि सुरु हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दाबी प्रस्तुत गर्न तोकिएको समयावधि पूरा भए पछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, “आज ५ बजेसम्म प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नका लागि तोकिएको समय हो । यो समय सकिएपछि राष्ट्रपतिज्यूले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ ।” शपथसहितका प्रक्रिया त्यसपछि अघि बढाइने उनले जानकारी दिए ।
राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार, ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त मात्र हुनेछन् । सोमबार बिहान ११ बजे नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी छ ।
