काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
पछिल्लो तीन घन्टामा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ।
बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू(भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै दिउँसो मधेश प्रदेश तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराईका केहि स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।