काठमाडौं । नेपालले आज असार १ गतेबाट तेस्रो मुलुक बंगलादेशमा व्यवसायिक रुपमा पहिलो पटक विद्युत निर्यात (विक्री) सुरु गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उक्त जानकारी गराएको हो ।
सोही क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तेस्रो मुलुकमा विद्युत निर्यात गरिरहेको यो पहिलो पटक भएका कारण खुशी भएको बताए ।
उनले भने, ‘तेस्रो मुलुकमा विद्युत निर्यात गरिरहेको यो पहिलो पटक भएका कारण खुशी व्यक्त गर्न चाहन्छौ । गएराति १२ बजेपश्चात फेरि ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गरेका छौ र यो पाँच महिना रहन्छ । यसबाट २५ करोड महिनाको आयको रुपमा प्राप्त गर्छौ । गत वर्ष पनि हामीले निर्यात धेरै गरेका थियौं र यो मुलुकका लागि महत्वपूर्ण हो ।’
जून १५ देखि नोभेम्वर १५, २०२५ सम्म ५ महिना नियमित विद्युत बंगलादेश विक्री गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैंया आम्दानी गर्नेछ ।
नेपालमा उत्पादित विद्युत ४०० केभी प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर, मुजफ्फरपुर– वेहरामपुर हुदै भेडामारा (बंगलादेश) सम्म निर्यात भइरहेको छ । त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरि ४० मेगावाट विद्युत बंगलादेश निर्यात भैइरहेको छ । विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरि विक्री गर्ने सम्झौता भएको छ ।
नेपाल विद्युत प्राधिकरणले जुन १५ देखि भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ । जेठ १८ बाट १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ (शनिबार) रातीदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । गएराती १२ बजेदेखि नै भारतको बिहार राज्यमा ८० मेगावाट विद्युत निर्यात सुरु गरिएको छ ।