काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ ।
बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुंगेलले मतदान विद्युतीय मेसिनबाट हुने जानकारी दिए । छ । २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उमेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उमेदवारी दिएका छन् ।
एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उमेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनील कँडेलले उमेदवारी दिएका छन् ।
महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उमेदवार भएकाले एकजनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ ।
अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदै छ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो ।