नियतमा खोट नहुनेहरु जोसुकै होउन् उनीहरुले भनाइमा एउटा गराइमा अर्को कदापि गर्दैनन् । जब नियतमा खोट छ उसले अरुलाई साभार दिन पनि बिर्सने गर्छन् । अझ त्यो भन्दापनि जानाजान साभार लिएको पुस्तकको नाम आफुले जनाएको सन्दर्भ ग्रन्थ सूचीमा समेत राख्न छुटाउँछन् । त्यसबाट नियतमा खोट रहेको आकलन हुन जान्छ । त्यो भनेको वि.सं २०६१ सालमा प्रकाशित ३२ पृष्ठको पातलो पुस्तिका छ ,जुन पुस्तिकाको नाम “नेपालका इतिहास—संशोधकहरुको उत्थान र पतन” हो । यस पुस्तिकाका लेखक डा.कमलप्रकाश मल्ल हुनुभयो । उनी अहिले यो संसारमा हुनुहुन्न । यसको अर्थ उनी कृति शेष भइसकेका छन् तर उनको पुस्तिकाको हवाला दिनेहरुबाट बारम्बार हाँक प्रक्षेपन भने भइरहेको कारण उनको व्यक्तिगत विषयलाई छोडेर कृतिमा के छ त्यसको खुलासा गर्नै पर्ने बाध्यता आइ परेको छ । त्यसकारण पुस्तिकालाई केन्द्र बिन्दु बनाइ यो लेख तयार गर्नु परेको हो ।यस पुस्तिकामा पृष्ठभूमिदेखि उपसंहारसम्म २० वटा उपशीर्षकमा विभाजित रहेका छन् । ती मध्ये कतिपय उपशीर्षक सम्वन्धित व्यक्तिहरुसित उनको निजी कटुता भएकोले त्यस बीचमा प्रवेश गरी रहनु जरुरी ठान्दिन । बाँकी नेपालको संवत् , इतिहास, सुमतितन्त्र, गोकर्ण वालुवा गाउँको अभिलेख र त्योसंग सम्वन्धित विषयवस्तु बारे पुस्तिकाका लेखकले खुलासा गर्न नसकेको कुरा उनी स्वयं भ्रममा रहेको कुरालाई मात्र यहाँ औंल्याउने प्रयास गरिन्छ ।
१.गोकर्ण वालुवा गाउँको संवत् ५३६ को अभिलेख वि.सं २०४६ साल फागुनमा फेला परेको कुरा पुस्तिकाका लेखकलाई राम्ररी थाहा छ । शंकरमान राजवंशीका कृतिहरु वा उनीका पुत्रका पुस्तक र लेखहरु बारे पनि राम्ररी थाहा छ । त्यहाँ शंकरमान राजवंशीका पुत्रको नाम उच्चारण गर्न धक मान्नु पर्नाको कारण के होला ? यसमा पनि सहजै आशंका हुन्छ कि उनीको नियतमा खोट छ ।वि.सं २०६१ सालमा प्रकाशित पुस्तिकाका लेखकलाई वि.सं २०५२ सालमा प्रकाशित भएको श्यामसुन्दर राजवंशीको पुस्तक “लिच्छविकालीन संवतको निश्चय” बारे थाहा नहुने कुरै भएन । त्यसमाथि त्यही पुस्तकमा छापिएको शिलालेख उतारको फोटोको प्रतिलिपि आफ्नो पुस्तिकामा पनि छपाएको छ तर सन्दर्भ ग्रन्थ सूचीमा त्यो पुस्तकको उल्लेख नै छैन । यसले उनीको नियतमा खोट छ भन्ने प्रष्ट हुन्छ ।
२.संवत् ५३६ को अभिलेख प्रकाशित भएको देखेपछि उनले आफुलाई लागेको कुरा संवत्हरुको बारेमा उपलव्ध प्रमाणहरुको समीक्षा र पुनर्मूल्यांकन गर्नुपर्ने नितान्त आवश्यकता मैले महसूस गरें भनेर व्यक्त गर्नु भयो तर अभिलेख प्रकाशित गर्ने श्यामसुन्दर राजवंशीको त्यसमा भनाई के छ ?उल्लेख गर्नु भएन , जव कि पुस्तक समेत लेखेर प्रकाशित भएपछि लेखकले आफनो विचार त अवश्य दिएको छ । उनीको पुस्तिकामा त्यो विचार कतै उल्लेख गरिएनन् । यसबाट पनि उनीको नियतमा खोट छ भन्ने प्रमाणित हुन्छ । किनभने गोकर्ण वालुवा गाउँको अभिलेख प्राप्त भएपछि प्राचीन नेपालमा दुइथरी संवत् प्रचलित थिए भन्ने सिद्धान्त धराशायी भएको छ र लिच्छविकालमा चलेको संवत र शकसंवत् बीच १ वर्ष ५ महिना फरक छ भन्ने कुरा श्यामसुन्दर राजवंशीले २०५२ सालमा प्रकाशित पुस्तक मै व्यक्त गरी सकेको हो । जुन उनले २०६१ सालमा आएर भन्न थाल्दा नयाँ कुरा भएन तव फरक मत अघि सार्न खोजेको देखियो ।
कमल प्रकाश मल्लको फरक मत
नेपालमा प्रचलित शकसंवत् गत होइन ।यसको गणना सन् ७८ मार्च ३ बाट हुँदैन । यो वर्तमान वा प्रवर्तमान शक हो ।यसको गणना सन् ७६ अक्टुवर २० बृहस्पतिवारबाट हुन्छ किनकि यो कार्तिकादी हो । त्यसैले कार्तिकादि प्रवर्तमान शक र चैत्रादि गतशक संवत् बीच एकवर्ष ५ महिनाको अन्तर हुन्छ ।
( मल्ल २०६१,पृष्ठ २६)
यसको साथै उनले उपसंहारमा आएर “मेरो गणना मूलतः Hermann Jacobi को The computation of Hindu Dates in Inscriptions etc.को आधारमा परीक्षण गरेका हुन् ” भन्नु भएको छ ।
उनले गर्नु भएको गणना अनुसार (वर्तमान) संवत् ३१ माघशुक्ल १३ आदित्यबार पुष्य नक्षत्र भनेको जूलियन पात्रो अनुसार AD 608 February 4 तारीख हो ।
त्यस्तै संवत् ३०१ बैशाख शुक्ल ७ आदित्यबार पुष्य नक्षत्र भनेको जूलियन पात्रो अनुसार
AD 878 April 13 तारीख हो ।
यति कुरा अघिसार्ने क्रममा इतिहास संशोधकहरुको उत्थान र पतन भनेर तीतो कटुता पोख्नु भयो । यसरी कटुता पोख्दैमा कसैले पार पाउने कुरा होइन किनकि आफनो भनाइ र मत लाई कसरी सवल तुल्याउने ? त्यसको लागि चाहिने पृष्ठपोषणको लागि यथेष्ट प्रमाण अघिसार्नु पर्ने हुन्छ तर प्रमाण भने एउटा कुनै अघिसार्न सकेको छैन । कमसेकम चाँगुनारायणको गरुड कवचमा भएको संवत् ३१ को तिथिमिति र सहोत्तरतन्त्रमा भएको संवत् ३०१ को तिथिमितिको गणनाको पूरा चरण देखाउनेसम्म पनि गरिएको छैन । त्यतिमात्र होइन गत शक सन् ७८ मार्च ३ बाट उठेको र वर्तमान वा प्रवर्तमान शक सन् ७६ अक्टुवर २० बृहस्पतिवारबाट हुन्छ भनेको गणनाको पनि चरण अघिसार्न सकेको छैन । ती गणना गर्दा के के सिद्धान्त आकर्षित भएको छ पाठकलाई जान्ने मौका त दिइएको हुनु पर्दथ्यो । त्यत्तिकै यति तारीख आयो उति तारीख आयो भन्दैमा पार पाउने कुरा छैन ।
नेपालको संवत् इतिहास सुमतितन्त्रसंग सम्वन्धित विषयवस्तु बारे उनीको सान्दर्भिक टिप्पणी यस किसिमका छन् ।
१. इतिहास शिरोमणि बाबुराम आचार्यको बारेमा टिप्पणी गर्दा लेखै पिच्छे फरक मत प्रतिपादन गर्ने बानी परेको कुरा उदाहरण सहित दिएको छ । मल्लको यो कुरा मनासीब छ ।
२.लिच्छविकालीन इतिहास भनेको संशोधन मण्डलको व्यक्तिगत वा पारिवारिक विर्ता हो र उनीहरुको निर्णय ब्रम्हवाक्य झैं सम्पूर्ण नेपाली बौद्धिकहरुलाई मान्य नै हुनुपर्दछ भन्ने ठान्दै आएको भनी टिप्पणी गरिएको पनि यथार्थ नै देखिन्छ ।
३.पं नयराज पन्तका गुरुकूलमा जम्मा २१ जना थिए त्यसमा एक जनाले अष्टाध्यायी कण्ठ सुनाएर बिदा भए अरु घोकन्ते विद्यामा पारंगत नभइ गुरुकूल छोडेर हिंडे भनिएको छ । सुनिए अनुसार यो कुरा पनि यथार्थ नै हो ।
४.वि.सं २०३६ वैशाख १ गते देखि २०५० साल फागुनसम्म प्रज्ञा प्रतिष्ठानमा स्थान ओगटेर बस्दा के काम गरियो भन्ने सम्बन्धमा विष्णुपादुका फेदीको अभिलेखको संवत् ३९६ पनि होइन ३९५ पनि होइन ३९८ हो भनी निर्णय भए त्यहाँ भन्दा बाहेक केही गर्न सकेन भन्ने कुरा स्वयं पं नयराज पन्तले बोलेको उद्धरण राख्नु भएको छ ।
५.पं नयराज पन्तले समाएको वेदांग ज्योतिष कामलाग्दैन भन्ने बारेमा कमल प्रकाश मल्लको तर्क एकदम ससक्त छ । किनभने वेदांग ज्योतिषले हरेक अढाइ अढाई वर्षमा
अधिमास आउँछ यसप्रकार पाँचवर्षमा दुईचोटि आउनेमा पहिलो अढाईवर्षमा आषाढमा र दोस्रो अढाई वर्षमा पौषमा पर्नेगर्छ भन्ने सिद्धान्त लिएको छ । यस बारेमा पूर्णिमा अंक ३४ र ३७ मा बिस्तृत व्याख्या गरिएको छ । लिच्छविकालका अभिलेखहरु तिर हेरियो भने संवत् ५१७ को धर्मस्थलीको अभिलेख र सवत् ५१९ को सतुँगलको अभिलेख अगाडि राखियो भने १८ महिना मै अधिमास देखा पर्छ । त्यस्तै संवत् ३१ को भ.पु.इनायचोको अभिलेख र संवत् ३४को पाटन सुनधाराको अभिलेख अगाडि राखियो भने ३६ महिनाको अन्तरमा नै अधिमास परेको मात्र होइन दुइटै पौषमा अधिमास परेको छ । त्यस्तैगरी पाटन सुनधारा र गोकर्ण वालुवा गाउँको संवत् ५३६ बीच २४ महिना फरक छ । त्यो पनि पौष मै परेको छ । नयराज पन्तको वेदांग ज्योतिषमा ३० ।३० महिनामा अधिमास पर्छ त्यो पनि एउटा आषाढमा अर्को पौषमा भन्ने कुरा अभिलेखबाट ठाडै अस्वीकृत रहेको देखियो र ३८ वर्षमा १४ वटा अधिमास पर्ने पनि निरर्थक सिद्ध भएको कुरा मल्लले कोट्याई दिनु भएको छ । यसमा संशोधन मण्डल निरुत्तर रहेको छ । वास्तवमा कौटलीय अर्थशास्त्रमा पञ्चयुगात्मक उल्लेख भएको हुनु र वेदांग ज्योतिषमा पनि यहीकुरा छ भनी इटालीका लुसियानो पेतेकले पहिलो सूचना सन् १९५८ मै दिएको थियो । त्यहाँ पेतेकले हाम्रो अभिलेखहरुलाई उपेक्षा गरे भन्दैमा पन्तले पनि उपेक्षा गर्न सक्ने कुरो होइन । त्यसैले पन्तको सिद्धान्तमा भनाइ एउटा गराई अर्को गर्नमा सिपालु इतिहासकार भनेर चिनिन्छ ।
६.पं नयराज पन्तले समाएको सुमतितन्त्र कामलाग्दैन भन्ने बारेमा कमल प्रकाश मल्लको तर्क मननीय छ । किनभने सुमतितन्त्रमा एक सौर वर्षमा ३६५ दिन १५ घडी ३१ पला र ३० विपला दिइएको छ । अहिले ३६५ दिन १५ घडी ३१ पला र २४ विपला हुन्छ भनी मानी आएका छौं । सन् १५०९ मा रचना भएको ग्रहलाघवमा पनि सुमतितन्त्रमा भनिए जत्तिनै दिइएको छ । त्यसकारण सन १५०९लाई लिच्छविकाल भन्न सकिन्न भनेझैं सुमतितन्त्र पनि लिच्छवि कालमा रचना भएको मान्न सकिन्न भनी मल्लको तर्क छ । साथै पन्तले सुमतितन्त्र नेपालखाल्डोमा रचना भएको ग्रन्थ हो । यसमा अयनाँशको चर्चा नभएकोले लिच्छविकालको भनेर जोड दिने गरको छ । मल्लले सुमतितन्त्र दक्षिण भारतमा रचना भएको ज्योतिष ग्रन्थ हो । यो सिमरौणगढको बाटो हुँदै नेपाल उपत्यका आइपुगेको कुरा जोड दिएको छ ।
जेहोस् मल्ल र पन्त दुवैले यसमा जानाजान बूझ पचाएको कुरा छ । यो भनेको एउटाले सुमतितन्त्रमा शकसंवत् ४९८ सम्म चल्यो भनेको र अर्कोले सहोत्तरतन्त्रमा संवत् ३०१ वैशाखलाई तद्नुसार शक ८०० वैशाख हुन्छ भनेको छ । वास्तवमा यहाँ दुवैको शकसंवत् ८०० दृष्टान्त भएर रहेको छ । अतः भनाई एउटा गराई अर्को गर्नमा उनीहरु दुवै माहिर रहे । किनकि संवत् ३०१ वैशाखलाई पन्तले वि.सं ९३५ वैशाख भनेको छ भने मल्लले इस्वी ८७८ वैशाख भनेकोे छ । वि.सं ९३५ मा १३५ घटाए पनि शक ८०० हुन्छ भने इस्वी ८७८ मा ७८ घटाए पनि शक ८०० नै आउँछ । त्यसरी शक ८०० आउन ३०१ मा ४९९ नजोडीकन सुखै छैन भन्ने कुरा दुवैले सरासर बूझ पचाएको छ ।
पन्तले कुरा चपाएर कार्तिकमा ९३४ भएको विक्रमसंवत् वैशाख लागेपछि वि.सं ९३५ हुने हुँदा ९३५ मा १३५ घटाएर शक ८०० बनाउन पाएको कुरा गर्छ भने मल्ल गत शक र वर्तमान शक भन्ने दुइवटा भएकोले चाहे गत भन चाहे वर्तमान भन शक ८०० बाट एकलाइन पनि तलमाथि गर्न नसकेको बाध्यता लुकाउनु हुन्छ । उनले सहोत्तरतन्त्रमा भएको संवत् ३०१ लाई गत शकबाट यति हुन्छ र वर्तमान शक बाट यति हुन्छ भनेर दुइटै हिसाव गणनाको पद्धति बमोजिम चरण खुलाएर देखाउने हिम्मत देखाउनु भएन । यसबाट उनीहरु प्रकारान्तरले एकै खेत, एकै ड्याङ्का मूला हुन् भने जस्तै देखियो ।
७ छत्रे सारणीको दुरुपयोग बारेमा मल्लले प्रश्न उठाएकोे छ । यो सारणी लिच्छविसंवत्को निर्णयको पृष्ठ २९३ देखि २९७ सम्म दिइएको छ । यसमा शकसंवत् १ देखि शुरु भएको वर्षको कुन वर्षमा कुन महिनामा अधिमास पर्छ भनी दिइएको छ । वास्तवमा यो अधिमास तालिका हो यो क्षयमासको तालिका होइन । तथापि यसलाई अधिमास र क्षयमास तालिका भनिएको छ । यसलाई मल्लजीले भने जस्तो ० बाट शुरु हुने गत शक भन्यो भने झनै कुनै पनि मिल्दैन । छत्रेको सारणी बने जस्तै रवर्ट सिवेल र शंकर बालकृष्ण दीक्षितले पनि सारणी बनाएको छ भनिएको छ । यस्तै अरुले पनि सारणीहरु बनायो होला त्यो महत्वपूर्ण कुरा होइन । बार सहित उल्लेख भएको अभिलेखको मितिको सारणी सहित गणना गर्दा बार मिल्न आयो वा आएन त्यो महत्वपूर्ण कुरा हुन्छ । उनले त्यो गणनाको परीक्षण गर्दा गणनाको चरण कुनै पनि नदेखाएको कारण उनको गणना परीक्षामा इमान्दारी पटक्कै छैन भन्न सकिन्छ ।
८ वर्तमान र गत शक बारेमा मल्लले ठोस प्रमाण भन्दै हास्यास्पद कुतर्क गर्नु भएको छ । किनभने अरुलाई मूख्याई पण्डित भनेको छ त्यतिबेला आफनो पनि अनुहार ऐनामाा हेर्ने प्रयास गर्नु भएन । उनले लक्ष्मण छत्रेको तालिका गत शक हो यो शून्यबाट शुरु भएको शकसंवत भनेको छ । यसको लागि शून्यबाट शुरु भएको मान्यताबाट बारसहित भएको कमसेकम आठदशबटा मितिको गणना गरेर शून्यबाट शूरु भएको मान्दा तालिका ट्वाक्कट्वाक्क मिल्न आएको उदाहरणहरु दिन सक्नु पर्दथ्यो तर एउटा पनि उदाहरण नदिइकन ठोस प्रमाण भन्दै गर्दा दुनियाँ हाँसेको उनले चालै पाउनु भएन छ ।
उनी डाक्टर उपाधि लिएको व्यक्तिलाई गणित र गणना भनेको बुझाउनुपर्ने होइन । उनले एस एल सी जाँच दिएको बेलामा अनिवार्य गणित विषय त अवश्यै छ । त्यतिवेला उनी गणितको जाँचमा प्रत्येक प्रश्नको उत्तर मात्र लेखेर जाँच दिएर पास भएको त अवश्यै होइन । पं.नयराज पन्तले गणना देखाएर नाक फुलाइ रहेको देखादेख उनलाई हाँक चुनौति दिने व्यक्तिले गणना नदेखाइकन ठोस प्रमाण भन्दैमा संशोधन मण्डल मान्दैन भन्ने कुरा थाहा नपाउनु हास्यास्पद भन्न सकिन्छ । फलामलाई काट्न फलाम नै चाहिन्छ अरुबाट संभव हुँदैन भन्ने थाहा नपाउने मान्छे विद्वानको खोल मात्र ओढेको सावित हुन्छ ।
नेपालमा कमसेकम अंशुवर्मादेखि प्रयोग भएको संवत् स्पष्टतः वर्तमान शक हुन् ।सो कुराको एक ठोस प्रमाण हो अंशुवर्माको निम्न अभिलेख—
( मल्ल २०६१,पृष्ठ २६,२७ )
ॐ एकत्रिंशत्तमे वर्षे वर्तमाने स्वसंस्थया
माघशुक्लत्रयोदश्याम्पुष्येण सवितुर्दिने
(मल्ल,२०६१पृष्ठ २७)
पन्तले कुरा चपाएर चाँगुको गरुड कवचको यो अभिलेखको मिति मानदेवसंवत् ३१ मानेर तद्नुसार शक ५२९ बताइ रहेको हुनु ,मल्लले कुरा चपाएर यस अभिलेखको संवत् ३१ लाई वर्तमान शक भनीरहे पनि तद्नुसार शक ५२९ नै बताउन पुगेको हुनुलाई लिइन्छ । यहाँ मान्छेलाई उल्लू बनाउने र मान्छे उल्लू बन्ने कुरा भन्दा फरक केही छैन । पन्तले वेदांग ज्योतिषको ध्वाँस दिने तर वेंकटेश केतकरको गणना पद्धति लिने गरियो । मल्लले हर्मन ज्याकोबिको ध्वाँस दिने हिसाव गरेको चरण नदेखाइ घुमाइफिराई गतशक भनिएकै उही ५२९ को लाइनमा आउने गरेको छ । यसले उनीहरु भनाइ एउटा र गराई अर्को गर्नेमा माहिर खेलाडी हुन् भन्ने तथ्य जगजाहेर हुन आएको छ ।
यसरी अभिलेखमा भएको संवत्लाई पन्तले मानदेवसंवत् भनेर डम्फूबजाएको बजाई गरेपनि संवत् ३१को तद्नुसार शक ५२९ र संवत् ३०१ लाई तद्नुसार शक ८०० भनेर शकसंवत्को लाइन समातेको छ । यता मल्लले गत शक वर्तमान शकको डम्फू बजाएर आखिरमा संवत् ३१को तद्नुसार शक ५२९ र संवत् ३०१ लाई तद्नुसार शक ८०० भनेर शकसंवत्को लाइन समातेको छ । यसबाट कुरा अनेक गरेपनि दुवैले मानेको शकसंवत् एउटै छ । वास्तवमा उनीहरु टुडिखेलमा आएर चटक देखाउने चटकी भन्दा केही फरक थिएनन् भन्दा अन्यथा नहोला ।
नेपालसंवत् आरम्भको बारेमा उनीहरुले बजाइ आएको डम्फूको आवाज बेग्लाबेग्लै छ तर यथार्थ कता हो अत्तोपत्तो छैन । पन्तको डम्फूले मानदेवसंवत् ३०४ वर्ष चलेकोले ३०४ मा ६३३ जोड्यो भने वि.सं ९३७ हुने हुंदा वि.सं ९३७ कार्तिकमा नेपालसंवत् आरम्भ भएकै सकार्ने भन्ने बोल बोली रहेको छ ।
मल्लको डम्फुको बोलले बोलेको आवाजमा —
नेपालसंवत्बाट शकसंवत् लैजाने सूत्र दिंदा पनि चैत्रादि गत शक ८०१ वर्ष ७ महिना पछि नेपालसंवत् शुरु भएकोलाई स्थूल संख्या ८०२ दिएको छ ।
(मल्ल,२०६१पृष्ठ १०)
वर्तमान शक र गत शक भनेर आवाज बुलन्द गर्न खोज्ने मल्ल स्वयं बिलखबन्दमा परेको कुरा माथिको उद्धरणले बताउँछ । कुनै पनि हिसावमा चाहेस्थूलको कुरा गर चाहे सूक्ष्मको कुरा गर तर ८०१ वर्ष पूरा गरी ७ महिना गुज्रीरहेको हुंदैमा ८०२ भन्न पाइने नियम कुनै पनि गणित शास्त्रको सूत्रले भन्दैन । उनी यो संसारमा हुनु हुन्न तर उनको वर्तमान शक र गत शकको हवाला दिइ रहने इतिहासका प्रा.डा कहलिएका व्यक्तिलाई त यो कुरा बोध गराउनै पर्ने हुन्छ ।
अहिले नेपालसंवत् ११४५ चली रहेको छ र शुरुभएर ७ । ८ महिना बितीरहेको छ यसलाई स्थूल संख्याको दुरवीनले हेरेपनि ११४६ भन्न पाइन्न सूक्ष्म संख्याको दुरवीनले हेरे पनि भन्न पाइन्न । त्यसकारण शक ८०१ को ७ महिना बितेको बेला मात्र स्थूल संख्याको दुरवीनले ८०२ भएको भन्नु मनगढन्त सिवाय अरु होइन ।
अहिले नेपालसंवत् ११४५ वर्तमान हुन् त्यस्तै यो इस्वी २०२४ को कार्तिक देखि २०२५ को आश्विनसम्म रहन्छ भन्नु पनि वर्तमान हो । इस्वी २०२४ र २०२५ संग नेसं ११४५ को के कति अन्तर छ भनी हेर्दा ८७९ र ८८० जुन आउँछ त्यो गत हो । त्यस्तै भने झैं नेपालसंवत् १ हुंदा शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहेको जनाउँछ
। त्यहाँ नेपालसंवत् १ संग शक ८०० र ८०१ अन्तर जुन देखिने हो त्यो मात्र गत शक हो । नेपालसंवत् १ भनेको ८०१ को कार्तिकदेखि ८०२ को आश्विनसम्म चलीरहेको वर्तमान शक हो ।
लिच्छविकालमा चलीरहेको वर्तमान लिच्छविसंवत् ८०३(३०३) हुंदा नेपालसंवत् आरम्भ भएकोले नेपालसंवत् र लिच्छविसंवत् बीच जहिलेपनि ८०२ वर्षको अन्तर हुने भएको हो । यहाँ ८०३ वर्तमान लि.सं हो भने ८०२ गत लि.सं हो । दूर्भाग्य वश इतिहास लेख्ने लेखकहरुले यही लिच्छविसंवत्लाई पनि शकसंवत् ठानी दिंदा यो दूर्दशा भइ रहेको हो ।
यसमा दूधकोदूध पानीकोपानी छुट्याए सरी नेपालसंवत्मा ८०० र ८०१ फरक देखिने संवत् जति शकसंवत् र नेपालसंवत्मा ८०२ फरक देखिने जति लिच्छविसंवत् भएकोले शकसंवत् र लिच्छविसंवत् बीच १ वर्ष ५ महिना फरक हुने देखापरेको यथार्थ सत्य हो ।
निष्कर्ष
लिच्छविकालीन इतिहास भन्ने बित्तिकै त्यो विषय कसैको विर्ता ठहरिने होइन । तैपनि कसैले आफनो विर्ता ठान्छ वा कसैले विर्तावाल ठान्छ भने त्यो उनीहरुको दिवा स्वप्न मात्र हुने हो । भन्नु हुँदैन कोहीकोही प्रा.डा भनाउँदाहरु समेत अमूक अमूकलाई विर्तावाल नै मान्दै आइरहेका कुरा माथि वर्णित प्रसंगमा देखिएकै हो ।
खैर केही छैन दिवा स्पप्न देख्न रमाउनेहरु रमाइ रहुन् तर सत्य प्रकाश गर्नेहरुको मनोवल उनीहरुले निस्तेज पार्न सकेको छैन त्यही ठूलो कुरो हो । सबैको आआफनो लक्ष्य हुन्छ । …..भुके हजार हात्ती लस्के बजार भने झै सत्य प्रकाशको बाटोमा लम्के पछि लक्ष्यसम्म पुग्नै पर्नेहुन्छ । अनेकौं बाधाहरु तेस्र्याइ रहेका देखियो हो तर त्यसलाई अहिलेसम्म पार गर्दै आइरहेको पनि देखेकै हो ।
नेपालको अभिलेखमा देखापरेका कलिगत संवत्, विक्रमसंवत्,शकसंवत् नेपाल संवत् मात्र होइनन्, विश्व जगतमा प्रचलित सारा संवत् थुपारे तापनि ती मध्ये एउटामात्र शून्यबाट शुरु भएका संवत् भेटियो भन्न सकेका छैनन् । स्वयं कमल प्रकाश मल्लले आफ्नो जीवनपर्यन्त शून्यबाट शूरु भएको संवत् एउटा पनि भेट्टाउन नसक्दै संसारबाट बिदा लिनु भयो ।उनको आत्माले चिरशान्ति पावस् भन्ने कामना गर्दछु । उनले छरेर गएका भ्रम प्रति उहाँको आत्माले लज्जित हुन नपरोस् । कथंकदाचित् उनले छरेकै भ्रमलाई सापत लिने कोही देखिएछन् भने पनि यही लेख उनीहरुको लागि काफी हुनेमा विस्वस्त छु । सत्यमेव जयते ।