
रसुवा, संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाइ अन्यौलमा नरहन अनुरोध गर्दै अबको अबिधेशनमा शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्र अस्तब्यस्त रहन नदिने बताइन् । नौकुण्ड गाउँपालिका स्थित गौतमबुद्ध माविको ४८ औ वार्षिक उत्सव तथा अभिभावक भेला उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराइले उक्त कुरा बताएकी हुन् ।
शिक्षामन्त्री भट्टराईले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक रहेको बताउदै यसका लागि अहिलेको लगानी पर्याप्त नभएको स्वीकार गरिन् ।
‘अहिले शिक्षामा १० प्रतिशत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहबाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।
उनले भनिन् सरकारले चाँढै दरबन्दी पुनरावलोकन गरी निबृत्तिभरण कोष बनाउन लागेको, सरकारले हिमाली छात्रावासको अवधारणा पनि ल्याएको जानकारी दिंदै अब शिक्षकहरु योगदानमा आधारित सुरक्षाकोषमा समावेश हुने बताइन् ।
बिशेष अतिथि संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकालले आजको युग अनुसारको शिक्षाका विकासको लागि जोड्दिनुपर्ने बताउँदै स्मार्ट स्कुल आवश्यकता रहेको बताउदै स्वर्गीय नेता रबिन्द्र अधिकारी योगदान स्मरण गर्दै जिल्लाको विकासका लागि विगतमा आफुले पहल लिए अनुरुप विकासका कामहरु अहिले भैरहेको र पछि परेका क्षेत्रहरुको विकास गर्ने बताए ।
जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेले विकास क्षेत्रमा पछि परेको नौकुण्ड गाउँपालिका अघि बढेको बताउदै स्थानीयको माग अनुसार एसइइ सेन्टर सिफारिस भएको बताए ।
नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पसाङबो घलेले पहिलो पटक संघीय सरकारका मन्त्री नौकुण्डमा आउनु भएकोमा खुसी लागेको बताए । उनले विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्न अनुरोध गर्दै २९ वटा विद्यालय रहेको यस पालिकामा एसइइ परीक्षा सेन्टर माग गरे ।
पुर्व जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टलगायतका बक्ताले शुभकामना दिनुभएको थियो । सो अवसरमा विद्यालय पुर्व व्यवस्थान समिति अध्यक्ष तथा पुर्व प्रधानाध्यापकहरुलाइ दोलल्ला र सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरु तथा अभिभावकले, लामा झाँक्री नाच, स्याब्रु नाच तथा रोचक नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षा सेवी तथा स्थानीय जनप्रतिनिधि, पत्रकारहरु, कर्मचारी, शिक्षकहरु सहभागी थिए ।







