काठमाडौ । गत महिनासम्म भरिभराउ ठमेल अहिले पर्यटकविहिन बन्दैछ ।
होटल,रेष्टुर्न्ट र विभिन्न ह्याण्डिक्राफ्ट ,सोभिनुर पसलहरुमा हिजोको जस्तो विदेशी पाहुनाहरुको भीड आज छैन् । भ्याइनभ्याइ हुने दिनचर्यामा बदलाव आएको छ । ब्यवसायीहरु फुर्सदिला देखिन्छन् । कारोबार छैन् ।त्यसैले खर्च जुटाउन धौ परेको उनीहरु बताउँछन् ।
पश्मिना पसलमा लामो समयदेखि कारोवार गर्दै आएका हरि थापा अब पर्यटकको सीजन अफ भएको बताउँछन् । उनका अनुसार कहिलेकाँही त बोहनी पनि हुँदैन् ।
लामो समयदेखि होटल ब्यवसाय गरी आएका इन्द्र खड्का पनि आफ्नो गेष्टहाउसमा मात्र नभएर छिमेकीहरुकोमा पनि पर्यटकहरुको सँख्या घटेको भन्दै अब दुई महिनासम्म यस्तै हुने बताउँछन् ।
नेपालमा मनसुन सुरु भएसँगै पर्यटक आवागमन पातलिने गर्छ ।
‘ अब केही महिना यस्तै गरी चल्छ । भएका पर्यटक फर्किसके । केही पर्यटक ट्रेकिङ गएकाहरु फर्कदैछन् । हाम्रोमा बसन्त र सरद ऋतुमा पर्यटक बढी आउँछन् । तर मनसुनसँगै गृष्म ऋतु सुरु भएको छ । यतिबेला हाम्रो ब्यस्तता घटेको छ । ’ होटलमा मेनेजर गर्दै आएका शंकर कुँवरको तर्क हो यो ।
‘पर्यटक आएभने ट्रेकिङ बेचिने हो । टुर बेचिने हो । अलिक यो बर्ष अघिल्लो बर्षभन्दा राम्रै ब्यापार गरेका थियौं । अब अर्काे सिजन कुर्नको विकल्प छैन् ।’ टुर एण्ड ट्रेकिङ कम्पनीमा काम गर्ने अर्जूृन गिरी बताउँछन् ।
सरकारले नेपाली नयाँ बर्षसंगै ठमेललाई चौविसै घन्टा खुला राख्ने निर्णय गरेर रात्रीकालिन ब्यवसायहरुमा केही उर्जा भर्न खोजेको थियो । यसको लागि आबश्यक सूरक्षाको प्रबन्ध पनि मिलाउने भनेको भएपनि राती अबेरसम्म डान्सबार,डिस्को,क्लवहरु मात्र सञ्चालन गरेको पाइएको छ । तर खास यसले राहतको अनुभूति भने भएको देखिएको छैन् ।
‘कोभिडले आक्रान्त ठमेल यसबर्ष चाहि अलिक बढी तन्केकै हो । अहिले ठमेलमा बाह््य मात्रा नभएर आन्तरिक पर्यटकको आवागमन पनि बढेर गयो । यसले केही ब्यापार राम्रो भएको हामीले महसुस गरेका हौं।’ गेष्टहाउस सञ्चालक संग्राम लामा यो बर्ष अलिक ब्यापार उकालो लागेको स्वीकार्छन् ।
उसो त अब्यवस्थित बजार,पार्किङको असुविधा,रात्रीकालिन ब्यवसायहरु पूर्णत ध्वनीमैत्री नहुनु जस्ता कारणले ठमेलमा पर्यटकको बसाई लम्ब्याउन नसकिएको तर्क छ पश्मिना ब्यवसायी रमेश थापाको ।
काठमाडौको पर्यटकीय राजधानी हो ठमेल । जहाँ दशौं हजार पर्यटन ब्यवसायीहरुले विभिन्न व्यवसाय गरेर बैदेशिक मुद्रा आर्जनमा योगदान गरिरहेका छन् । यसको अझै ब्यवस्थापन हुनसकेन भने झम्सिखेल लगायतका स्थानमा पर्यटकहरु स्थानान्तरण हुने सम्भावना नकार्न सकिन्न। ब्यवस्थित ठमेललाई पर्यटकीय सुन्दर हब बनाउन सबैको ध्यान जानु आजको खाँचो देखिन्छ ।