
हामी हरेक बज्राचार्यले म बज्राचार्य भनी आफ्ना परिचय दिनु पूर्व बज्र शब्दको दार्शनिक अर्थ स्पष्टरूपले जान्नु नितान्त आवश्यक छ। | विविध बज्रयानी तन्त्रहरुमा वज्र शब्दको अर्थ कसरी व्याख्या गरिएको छ हामीमा ज्ञान हुनु अत्यन्त आवश्यक छ।आधार भूत सत्य तथ्य कुरालाई नपहिल्याकन बोल्नु, लेख्नु वा प्रचार गर्नु आदि कुरा सभ्य एवं शालीन आचार्यहरुलाई मात्र होइन कसैलाई पनि सुहाउने कुरा कदापि मान्न सकिंदैन।
हामी प्रबुद्ध बज्राचार्यहरुले आजको परिवेशमा म को हुँ ? मेरो चर्या के हो ? मेरो कर्तव्य र उद्देश्य के हो ? आदिको वास्तविक ज्ञान हासिल गर्न पनि वज्रयान दर्शनहरुले वज्र शब्दको प्रयोग तन्त्रहरु कुन कुन सन्दर्भमा कसरी प्रयोग गरिएको छ समीक्षा गर्नु आवश्यक छ।
त्यस पछि मात्र हामीले वज्राचार्य र वज्रयान दर्शनको महत्व महिमा र गरिमालाई उजागरण गर्नु उपयुक्त हुन आउने कुरामा दुईमत हुँदैन होला। हामी कहाँ थुप्रै बज्र तथा बज्रयान प्रेरित बौद्ध संघ संस्थाहरु छन् जस्तै कि, बज्राचार्य संरक्षण गुथी, वज्रयान महासंघ, बुद्धधर्म अध्ययन पुच:, परम्परागत बौद्ध धर्म संघ एवं नामसगिती खल: तथा वज्राचार्य क्लब, महायान, वज्रयान प्रारम्भिक शिक्षा आदि। वस्तुतः यी सबै संघ संस्थाहरुको उत्पत्ति एवं विकासले आज बौद्धहरुको जागरुकताको सन्केत अवस्य गर्दछ ।
यी सबै संघसंस्थाहरूमा वज्र र बज्रयानको उद्देश्य बारे पनि काफी ज्ञान भएमा सुनमा सुगन्ध हुने विश्वाश गरी हेवज्र तन्त्रको टीका योगरत्नमालाले उल्लेख गरेको र वज्र वज्रयान सम्बधी तथ्य परक सन्दर्भहरु यहां पेश गर्नै प्रयास गरिए को छ –
वज्रं सारमसौशीर्यमच्छेधा भेय लक्षणम् ।
अक्षहि अविनाशि च शून्यता वज्रमुच्येत ॥
भावार्थ:- वज्र भनेको खदिलो, सारयुक्त, कात्न र भेदन (टुक्रा गर्न) नसकिने अदाहि (पोल्न, बाल्न) नसकिने अविनाशी (नाश नहुने, नित्य रहीरहने) कुरा हो भन्ने बुभन सकिन्छ । अतः वज्रको अर्थ शून्यता (निःस्वभावता) नै हो भन्ने भावार्थ स्पष्ट हुन आउँछ । किन भने शून्यतालाइ पनि हामीले न काटन र भेदन गर्न सकिन्छ, न पोल्न सकिन्छ । यो शून्यता न नाशवान नै छ ।
यसरी हेवज्र तन्त्रले उल्लेख गरेको वज्र सम्बन्धि कुरा नामसंगीतिले पनि ठाउँ ठाउमा उल्लेख गरेको पाइन्छ-
बज्रमभेद्य ज्ञानं, वज्रस्य सम्यग् ज्ञानस्य
वज्रं अद्वय ज्ञानं आदि
यी उपर्युक्त कुराले वज्र अर्थात् शून्यता ज्ञान परिवादीहरु अर्थात् अरु धर्महरुले खण्डन गर्न नसकिने ज्ञान हो भन्ने बुनु पर्छ भने ,वज्र भनेको कुनै पनि सांसारिक वस्तुको सम्यक् ज्ञान पनि हो। त्यस्तै वज्र भनेको अद्वय अर्थात् स्व, पर ( म, मेरो वा तेरो मेरो) भन्ने भेदभाव नभएको समताज्ञान पनि हो भन्ने भावार्थ हो। यस बाहेक गुह्ययातिगुह्य कुरा वर्णन गर्न पनि वज्र शब्दको प्रयोग तन्त्र हरुले प्रयोग गरेको पनि पाइन्छ। तर ती गुह्य कुरा उल्लेख गर्नु उचित थानिँदैन ।
धर्ममा श्रद्दा भएका शील र प्रज्ञायुक्त व्यक्तिलाई व्यक्त गर्न नसकिने पनि होइन । तर हल्का रूपले लिनेहरुलाई भने गुह्य कुरा गुह्य नै राखिनु पर्छ भन्ने कुरामा विश्वस्त हुनु सबैको दायित्व हो।
आचार्याभिषेक र वज्राचार्य
आचार्याभिषेक दिई वज्राचार्य बनाउनु पूर्व वज्राचार्य हुन इच्छुक व्यक्तिमा क्रमबद्ध रूपले स्थविरवाद (वैभाषिक सिद्दान्त), सौत्रान्तिक, योगाचार, त्यसपछि माध्यमिक र मन्त्रयान बु पर्छ अनि मात्र वज्रयान के हो राम्ररी बु र बुजाउन सकिन्छ भन्ने कुरा हे वज्रतन्त्रले यसरी व्यक्त गरेको पाइन्छ –
पोषधं दीयते प्रथमं तदनु शिक्षापदं दृशं ।
वैभाष्य तत्र देशेत सूत्रान्त वै पुनस्तथा ॥
योगाचारं ततः पश्चात् तदन मध्यमक दिशेत् ।
गृहीयात सादरं शिष्यं सिद्धयते नात्र संशय ॥
अर्थात्, हे वज्रतन्त्रको विनय पटलक्रमको अनुसार सबभन्दा पहिले उपोषध व्रतको ज्ञान दिनुपर्छ। त्यस पछि दशशीलको उपदेश, स्थविरवादको वैभाषिक सिद्धान्तको ज्ञान, सौत्रान्तिकको ज्ञान तदनन्तर योगाचार (मनवादी ) ज्ञान, माध्यमिक (सर्व शून्यता वादीको) ज्ञान दिनु पर्छ।यतिबुझेको व्यक्तिले मन्त्रयानको ज्ञान हासिल गर्न सक्ने हुन्छ र वज्रयान बुभन सकिन्छ, समर्थ हुन्छ भन्ने यो श्लोकको भावार्थ हो।
यही हे वज्रतन्त्रको सिद्धान्तमा रही अद्यापि दीक्षा दिदा वा प्रवज्या दिनु अगाडि उपोषध व्रत बसाइ दशशीलमा बस्न लगाइन्छ। अनि स्थविरवाद अनुसार प्रवज्या दिइन्छ । प्रवज्या पछि उपसम्पदा (भिक्षुत्व) दिइने चलन स्थविरवाद रहिआएको हुनाले बज्रयान अनुसार पनि दशशील दिइ प्रवज्या दिइसकेपछि मात्र आचार्याभिषेक दिने परिपाटी चलि आइरहेको पाइन्छ ।
यसरी क्रमश सबै ज्ञानहासिल गरेको व्यक्तिलाई मात्र महायानी वा व ज्यानी उपसम्पदा (बज्राचार्यत्व)दिन चार प्रकारको सेकं (अभिषेक) दिन विधि वा नियम पनि हे वज्रतन्त्रको टीकामा वर्णन गरिएको छ
” सेकं चतुर्विधं ख्यातं सत्वानां हित हेतवे। सिच्यते स्नाप्यते एतै चत्वार: सेका: प्रभेदत आचार्य गुह्यं प्रज्ञाश्व -चतुर्थतत्पुनस्तथा ” भावार्थ : आचार्य, गुहय प्रझा र चतुर्थ ….- गरी क्रमश चार प्रकारको अभिषेकले सिंचन गरी स्थान गराइ सत्व प्राणीहरूको हित गरोस, र निस्वार्थ उद्देश्यमा लागोस भन्ने महान प्रणिधान (प्रार्थना ) गरी गुरुले आचार्याभिषेक दिइन्छ र वज्राचार्य बनाइन्छ भन्ने कुरा हे वज्रतन्त्रको उपर्युक्त वाक्य बाट व्यक्त हुन्छ । त्यसकारण बज्राचार्याभिषेक भनेको आफ्नो बढ़पन र अरुलाई निचा देखाउनका लागी किमार्थ होइन केवल जगतकल्याणको लागी रहेछ भन्ने कुरा व्यक्त हुन आउँछ ।यस कुरालाइ अझ स्पष्ट पार्न र आचार्य शब्दको व्याख्या र वज्राचार्यको नित्य चर्यालाई पनि हेवज्रतन्त्रले यसरी उल्लेख गरेको छ – “दूराद् दूरे पापकेभ्यो धर्मेभ्यश्चरतीत्याचार्य : तदेव तस्य सम्वरमाचार्याभिषेक स्वभाव :”
भावार्थ:- पाप कर्म (मन, वचन, कायले गरिने अकुशल कर्म )बाट दूर रहने, कुशल चर्यामा वस्ने व्यक्तिलाइ ने आचार्य वा वज्राचार्यको स्वभाव मानिन्छ भन्ने कुरा उपर्युक्त वाक्यवाट प्रष्ट हुन आउ छ । केवल सिन्चन र स्नापनले मात्र आचार्य, वज्राचार्य हुनुन भनेको आडम्बर (देखावति) मात्र हुन् । यस्तो देखावतिआदम्वरले बौद्ध पंचशीललाई उपहास गर्दैन? अपरिपक्व दूधे बालकलाई क्रमस प्रवऱ्या दिनु ,उपसम्पदा दिनु वा आचार्याभिषेक दिनु जस्ता क्रियाकलापहरू के बुद्ध उपदेशकों अपमान होइन ? प्रवज्या लिई परिपक्व उमेरका व्यक्तिलाई मात्र उपसम्पदा (भिक्षुत्व वा आचार्यत्व) दिनु भन्ने बुद्धको उपदेश हुँदा हुँदै यस्तो आदम्वरपूर्ण क्रियाकलाप तुलु तलु हेरी रहनु कदापि सुहाउँदो कुरा होइन । हामीमा भित्री हृदयदेखि बुद्ध र बुद्धधर्म प्रति श्रद्धा नजागिकन यि आदम्वरमा सुधार ल्याउनुअसम्भव छ । श्रद्धा विश्वास र समर्पण भावले नै बौद्दहरुको संख्या बढ्न सक्छ। ज्ञानरहित अभिषेकको नाटकले मात्र हामी सच्चा बज्राचार्य बनिदैन।
तन्त्रहरूमा निदेश गरिएका शील सम्बरहरुले सच्चा वज्राचार्यमा के कस्तो आचरण हुन पर्छ भनेर उल्लेख गरिएका कुराहरुले आज मात्र होइन पहिलेको जमानामाम वज्राचार्य /आचार्य गुरु हुँ भनि रहने मात्र व्यक्तिलाई सिद्धहरूले यस्तो उपदेश दिने गरेको पाइन्छ — इन्द्रभूति सिद्धले आफ्नो तन्त्र ज्ञान सिद्धिमा बज्राचार्य गुरुले अनुशरण गर्नुपर्ने चर्या यसरी निर्देश गरिएको छ
मतिमान् पण्डितो s स्थीति सर्व शिल्पकलासु च ।
कुशल:पीर्थव व्श्राहमिति चित्ते म योजयेत् ॥
बाला मूर्खा दरिद्राश्र दुःशीला रोगपीडिता: ।
एवमाधैरनेकैश्रव् सयुंक्तान नावमानयेत् ॥
भक्तो रत्नत्रये श्राद्धो बोधिचित्त विभूषित; ।
सर्वसत्वानुकम्पी च समयी सम्बरे स्थित ॥
यि उपयुक्त कुराले जतिनै बुद्धिमान् पण्डित र समस्त शिल्पकलामा पोख्त भएपनि म यस्तो हुँ भन्ने घमण्ड मनमा लिन हुँदैन । कुशल राजानै भएपनि म राजा भन्ने घमण्ड गर्नु हुँदैन। अज्ञानी मुर्ख, दरिद्र, दुशील रोगीहरूलाई पनि बज्राचार्यले कहिल्यै अपमान, हेलागर्नु हुँदैन।
रलत्रयमा श्रद्धा भक्ती हुने वज्राचार्यले सधै बोधिचित्तयुक्त भइ सम्पूर्ण प्राणी माथि दयालु हुनुपर्छ । शील सम्बरयुक्त हुनुपर्छ, समयी (नियम मा वस्ने) हुनु पर्छ म ठूलो मेरै कुरा ठीक छ भन्ने अभिमान गर्न हुँदैन भन्ने शिक्षा इन्द्रभूति सिद्धले दिनु भएको छ। यसरी शील सम्बरमा वस्न सक्नेलाइ मात्र वज्राचार्य भनिन्छ भन्ने बुझी आत्ममोह, आत्ममान अभिमान छोडी सह-अस्तित्व र समन्वयमा बसी बुद्धधर्मलाई संसारमा चम्काऊ, फैलाउँ। अर्काको नकल नगरौं बुद्ध शिक्षा मनन गरौँ । भवतु सर्वमङ्गलम्







