बोधिसत्त्वहरूले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने शिक्षा दिने उद्देश्यले लेखिएको अति उत्कृष्ट एवं शिक्षाप्रद महायानी ग्रन्थ शिक्षा समुच्चयमा लेखक आचार्य शान्तिदेव सिद्धले पनि मांस भक्षणका विरुद्ध अत्यन्त जोडदार विरोध गरेको पाइन्छ । जस्तै-
स्वजन्याद् व्यभिचाराच्च शुक्रशोणित संभवात् ।
उद्वेजनीयं भूतानां योगी मांस विवर्जयेत् ॥
भावार्थ – व्यभिचारबाट उत्पन्न भएका घीनलाग्दा शुक्र शोणितले बनेका जीव वा प्राणीको मा खानु घीन लाग्दो कृत्य हो भनी सम्झी हामीले मांस भक्षण त्याग गर्नुपर्ने भन्ने शान्तिदेव आचार्यको शिक्षा हो ।
त्यस्तै मांस भक्षणलाई निरूत्साहित गर्न शान्तिदेव आचार्य फेरि भन्नुहुन्छ-
दुर्गन्धः कुत्सनीयश्च उन्मतश्चापि जायते ।
चाण्डालपुक्कसिकुले डोम्वेषु च पुनः पुनः ॥
यथैव रागो मोक्षस्य अन्तराय करो मवेत् ।
तथैव मांसमद्यादि अन्तरायकरं भवते ॥
भावार्थ : मासु खाने व्यक्तिको शरीर दुर्गन्धयुक्त हुन्छ, इर्ष्यालु र सधैं उन्मत्त रहन्छ । यतिमात्र होइन, मांसभक्षी व्यक्ति अर्को जन्ममा फुक्कसी ( फोहोर सफा गर्ने कुविचार) वा डोम्वी ( लास जलाउने डोमहरूको) कुलमा जन्म लिन जाने हुन्छ । यसैले मासु खानु राम्रो कुरा होइन । किनभने जसरी रागादि क्लेश बुद्धत्व प्राप्तिका लागि बाधक हुन्छ, त्यस्तै मांस, मद्य आदि उपभोग गर्दा मोक्ष, निर्वाण र बुद्धत्वको मार्गमा बाधा उत्पन्न हुने हुन्छ भनी मांसभक्षणलाई घोर विरोध गरेको छ, शान्तिदेवले फेरि यस्तो पनि भन्नुभएको छ-
योऽतिक्रम्य मनेर्वाक्यं मांस भक्षेत दुर्मति: ।
लोकद्वय विनाशार्थ दीक्षित शाक्यशासने ||
भावार्थ – बुद्धले त्रिकोण त्रिकोटि परिशुद्ध नभएको मासु नखाऊ भनी दिएको उपदेश विपरीत गई यदि कुनै बुद्ध धर्ममा दीक्षित व्यक्तिले मासु खान्छ भने त्यो व्यक्ति लोकद्वय ( इहलोक, परलोक) दुवै विनाश गर्नलाई मात्र शाक्यसिंह तथागतको शासन (धर्म) मा दीक्षित भएका हुन् भनी बुझ्नुपर्छ |