
आजभोलि नेपालमा चैत्यहरूको क्रमश विकास हुँदै विभिन्न आकार प्रकार एवं शैलीमा निर्माण हुन थालेको देखिन्छ । श्रद्धालु भक्तहरूको श्रद्धा र कलाकारहरूको सौख संगसंगै चैत्यमा विविधता आएको जो सुकैले पनि महसूस गरेकै कुरा हुन् । तर चैत्य मात्रमा हुनुपर्ने दुइवटा वैशिष्टयतालाई भने कुनै सम्प्रदाय तथा निकायले छोड्न र त्याग्न सकेको देखिदैन । ती दुईवटा वैशिष्टयता हुन चैत्यमा पाइने गजूर र गर्भगृह (अर्ध गोलाकार वस्तु) । गर्भ गृह नभएको चैत्य यो संसारमा शायद विरलै होला । कलाकारले आफ्नो कलाकारिताद्वारा अनेक प्रकारका चैत्यहरू समय र परिस्थितिसँग जेलिदै बनाउन वाध्य भए पनि गर्भगृहलाई समावेश गर्न कहिल्यै भूलेको छैन । तर आश्चर्यको कुरा गजूरको सट्टा एक पाटोमा वज्रधर र अर्को पाटोमा वज्रसत्व युक्त प्याफल टोल स्थित एउटा चोकको चतुर्बुद्धयुक्त चैत्यमा भने न गर्भ गृह छ न गजूर नै (चित्र नं. ६) । वास्तवमा यसप्रकारको चैत्य निर्माण हुनुमा निर्माता भक्तहरूको श्रद्धा चतुर्बुद्ध, गर्भ गृह र त्रयोदश भुवनयुक्त गजूरमा भन्दा वज्रयानका देवता श्रीवज्रधर र श्रीवज्रसत्वमा नै बढी केन्द्रित भएको हुनुपर्छ । यसप्रकारको चैत्य हालसम्म भीमसेनस्थान र प्याफल बाहेक कहिंकतै भेटिएको पनि देखिँदैन यो विचारणीय छ ।
हाल नेपालमा स्तूप भन्दा चैत्यको प्रचार प्रचूर मात्रा भइरहेको पाइन्छ । नेपालमा पाइने चैत्यको आकारप्रकारसँग मिल्ने चैत्यहरू भारतमा पनि यत्र तत्र हालसम्म पनि नपाइएका होइनन् । बोधिगया, नालन्दा सारनाथ, सांची आदि स्थानमा स्तूप तथा चैत्यहरूलाई अक्षता, सिन्दूर र फूल वत्ती द्वारा पूजा गर्ने पद्धति हराइ सकेका छन् । तर नेपालमा चैत्यप्रतिको अपार श्रद्धा बढी नै रहेको छ, घटेको छैन । नेपालमा बौद्धमार्गीहरूको समाजमा विविध विधिविधानपूर्वक चैत्यको पूजा गरिन्छ । मर्दा पर्दा होस् वा शुभकार्यमा चैत्यको पूजा अनिवार्यरूपले गरिन्छ । वहुसंख्यक भक्तहरूको अपार श्रद्धाले गर्दा के विहार, के गल्ली, के चोक कुनै पनि स्वच्छ सफा र खुला ठाउँ पाउना साथ भक्तहरू चैत्य स्थापना गर्न तम्सिन्छन् । यसरी ठाउँ ठाउँमा चैत्यहरू र मन्दिरहरू पाइएकाले हाम्रा देशलाई विदेशीहरूले “मन्दिरै मन्दिरको देश” भन्ने नामाकरण गर्न थालेका छन् ।
चैत्यप्रतिको श्रद्धा परम्परागत विश्वासले जति जति मात्रामा चैत्यको निर्माण गरियो त्यत्ति नै मात्रामा चैत्यहरूको आकार प्रकारमा क्रमिक विकास हुँदै जानु अस्वाभाविक छैन । हालसम्म पाइएका चैत्यहरूमा कलाका हिसाबले यस किसिमको चैत्य यसबेला यसको पालामा बनाइयो भन्न कठिन छ । शिलालेख भएको मन्दिर एवं चैत्य बाहेक अरू चैत्यहरूलाई ठोकेर यो यति बेला निर्माण गरियो भन्नु ठीक पनि छैन । तर पनि शीलालेख सहितको चैत्यको बनोट आकृतिसँग मिल्ने मिहिन, चिप्लो वा भद्दा खस्रो चैत्यहरूलाई तत् तत् समय सँगै मिलाएर काल निर्णय गर्नु हाम्रो वाध्यता र बुद्धिमत्ता दुबै हुन आउँछ । विकासक्रमसँग तुलना गर्दा नराम्रोबाट शुरु भएर राम्रो तिर लम्केकोलाई नयाँ र आधुनिक भन्नु पर्ने देखिन्छ । तर कुटाक्षरयुक्त ढोकावहाल काठमाडौंको स्तम्भाकार चैत्यको अगाडि अरूपछि बनेका चैत्यहरू त्यति मिहिन चिप्लो र सुन्दर आकृतिका न भेटिनुबाट लिच्छवि कालका चैत्यका दाँजोमा उत्तर लिच्छविकालीन एवं मल्लकालीन चैत्यहरू केहीलाई छोडेर त्यति राम्रा र सुन्दर छन् भन्न सकिन्न । भनिन्छ लिच्छविकालका ताम्रलेप, लोहलेप गरी मूर्ति निर्माण गर्ने कला राजा प्रताप मल्ल सम्मनै रह्यो । त्यसपछि यो कला हराएर गए ।
हाल नेपालमा पाइने सम्पूर्ण स्तूप, चैत्य र मन्दिरहरूको विश्लेषण गर्दा करीब ११ प्रकारका ‘शैलीयुक्त चैत्यहरूको श्रेणीमा वर्गीकरण गर्न सकिन्छः
१. धातु गर्भ चैत्य ( स्तूप, स्थूरो, थुवे) – पुल्चोक, लगनखेल, थसी आदि ठाउँमा अवस्थित छन् ।
२.मूर्ति रहित चैत्य स्तूप वा स्थुरो कै प्रतिकृति अनुरूप ढुंगाको अर्धगोलाकार गर्भगृह र गजूरयुक्त चैत्य – नमोबुद्ध, भगवान् वहाल, ठमेल, चावहिल, त्यौड ढोकावहाल बाहिर र बौद्धमा अवस्थित छ ।
३. स्वयम्भू चैत्य ( स्तूप) जस्तो गर्भगृहको चारै दिशामा बुद्ध मूर्तिहरू भएको त्रयोदशभूमि अङ्कित गजूर र तोरण (हलं पौ) र हर्मिकामा चारैतिर ठूल्ठूला दुई आँखा, सानो प्वाल र प्रश्न चिन्ह जस्तो देखिने कुंजिका (खव.क्वें) अर्थात् आगलो, परिघ खोल्न प्रयोग हुने साँचो कुंजिका (खव क्वें) अंकित चैत्य- स्वयंभूबाहेक बौद्धनाथ स्तुप, काठमाडौंको महाबुद्ध स्तूप, टेवहालमा वन्धुदत्त चैत्य, यट्खावहाल, इटुंबहाल, ठंहिटी, श्रीघः बिहार, तुकंबहाल, चावहिलमा धनद्य (धनदेव) चैत्य, साँखुको धवल कीर्तिपूरको चिलंच्व चैत्य, ललितपुरको इवही चैत्य, कामुनक चैत्य, बालाजु नागार्जुनमाथि नागार्जुन चैत्य र जामाच्व चैत्य अत्यन्त प्रसिद्ध चैत्यहरू हुन् साथै काठमाडौं बाहिर दोलखा र चितलाङ्गमा पनि स्वयंभू चैत्य जस्तो चैत्य भेटिएका छन् ।
४. गजूर, अर्धगोलाकार गर्भ गृह र त्यसको चारै दिशामा कलापूर्ण द्वार वा आसन मात्र भएको मूर्तिरहित चैत्यहरू – स्वयम्भू महांकाल स्थान टुंडिखेल, तेवहाल, मुंसुबहाल, चावहिल धनद्य चैत्यको परिसरमा, ठमेल भगवान् बहाल, त्यौड ढोकाबहाल, थंबहील, इतुम्बहाल, टेकुदोभान् र ज्यावहालमा मात्र अवस्थित छन् ।
५. बोधिसत्व र प्रत्येक बुद्ध सहित स्तम्भाकार चैत्य – विद्वानहरू यो चैत्यलाई युग- चैत्य, चतुर्दिग चैत्य र चतुर्व्यूह चैत्य पनि भन्दछन् । यी स्तम्भकार चैत्य स्वयम्भू, जनवहाल, ढोका वहाल, थवहील, इतुम्बहाल, ज्यावहाल, लगं वहाल र ललितपुरमा मात्र अवस्थित छन् ।
६.चैत्यको चारै दिशामा अमिताभ बुद्धमात्र भएको चैत्य – यस्तो चैत्य स्वयम्भू, श्रीघःविहार र हेनाकर महाविहार त्यौडमा मात्र अवस्थित छन् ।
७. शिखर कूट चैत्य- यो चैत्य स्तम्भाकार चैत्य र कुटागार चैत्यको मिश्रित रूप मान्न सकिन्छ । यसमा ध्यानी बुद्धहरू स्तम्भको चारै दिशामा अवस्थित हुन्छन् भने कमलमा ठड्याइएको यो स्तम्भ माथि सानो स्तूप अर्थात् गर्भगृह राखिएको हुन्छ । यो गर्भ गृहको चारै दिशामा पनि स-साना बुद्ध मूर्तिहरू राखिएका हुन्छन् । यो अत्याधुनिक चैत्य प्रचूर मात्रामा प्रचलनमा आएको चैत्यको रूपमा लिन सकिन्छ । विहारमा मात्र होइन, टोल टोलमा यस्ता चैत्य उपलब्ध छन् ।
८. कटागार शैली (प्यागोडा स्टाइल) को चैत्य- चैत्यको सर्वोपरि क्रमश:
गजूर अनि गर्भ गृह वा चर्तुर्युद्धयुक्त गर्भगृह त्यसपछि घरको छाना जस्तै तह तह छाना बनाई त्यसमुनि देवस्थल एवं मन्दिरमा जस्तै सुन्दर द्वारहरू बनाइ हरेक द्वारमा उभिरहेका बोधिसत्वहरू र प्रत्येक बुद्ध राखी चतुष्कोण, अष्टकोणका आकृतिमा पनि निर्माण गरिएका हुन्छन् । हरेक पूराना विहारहरूमा यसप्रकारका एक न एक चैत्य अवस्थित हुन्छ । “ इतुंबहाल, सवलबहाल, झ्वाबहाल, न्हाय्कं तला, गुणाकर महाविहार, कनक चैत्य महाविहार, स्वयम्भू श्रीघः महाविहारमा यस प्रकारका कूटागार चैत्य अवस्थित छन् ।
९. चैत्य मुनि अष्टकोण चतुष्कोण र षोडशकोण युक्त चैत्य-
हरेक कोणमा उभिरहेका बोधिसत्वहरू भएको वेदी र त्यसमाथि चारै दिशामा ध्यानी चतुर्युद्ध युक्त वा गर्भगृह त्रयोदशभूमि भएको यस्तो चैत्य – सवलको तधंबहाल, झ्वावहाल, न्ह्येकंतला, श्रीघः विहार पाटनका विभिन्न बहालहरू र प्रायजसो हरेक विहारमा एउटा यस्तो चैत्य अनिवार्य अवस्थित रहेको देखिन्छ । १०. सहस्रदल पद्मोपरिस्थित ध्यानी चतुर्बुद्धयुक्त चैत्य- तहतह सहस्रदल कमलको वेदी चुलिंदै गएको र त्यसको सबभन्दा माथि सानो गर्भ गृह वा चतुर्बुद्धयुक्त गर्भगृह र त्रयोदश भुवनयुक्त चैत्यलाई सहस्रदल कमल चैत्य भनिन्छ । यो चैत्य पुरानो शैलीको चैत्यमा गनिन्छ । हाल यसप्रकारको चैत्य स्वयंभू, काठेस्वयंभू, ढोकाबहाल, जनवहाल आदि स्थानमा उपलब्ध छन् ।
११. शिवालय आकारको चैत्य – गुणाकर महाविहार, ज्याठा टोल, कीर्तिपुरमा चिलंचो महाविहार अगाडि, आदिनाथ र चोभारमा उपलब्ध छन् ।आकार प्रकारको दृष्टिकोणले चैत्यको विविधता प्रचूर मात्रामा भेटिए पनि चैत्यको प्रमुख विशेषतालाई मात्र विचार गर्दा चैत्यलाई यी एघार श्रेणीमा वर्गीकरण गर्नु उपयुक्त देखिन्छ । वज्रधातु चैत्य र धर्मधातु चैत्यका भेदले पनिचैत्यहरूलाई वर्गीकरण नगरिएको होइन, तर यी धर्मधातु र धातुको विशेषता शास्त्रोक्त रूपले बाहिरी आवरणबाट अर्थात चैत्यको बाहिरी आकार प्रकारबाट मात्र निक्र्योल गर्न युक्तिसंगत छैन । किनभने हिजोआज यस प्रकारका चैत्यहरूको चलन विस्तारै हराइ सकेका छन् । अष्टकोण, पोदशकोण युक्त वेदी र त्यसमाक्रमश: बोधिसत्वहरू राखी चैत्य बनाउने चलन पनि प्रायः हराइ सकेका छन् । सहस्रदल कमलमाथि चैत्यबनाउने प्रचलन र प्यागोडा स्टाइल चैत्य (कुटागार शैली) चैत्य बनाउने प्रचलन पनि लोप भैसकेको देखिन्छ ।
एकताका गर्भगृहको सट्टा शिवालय आकृतिको गजूर सहितको तथा चारै दिशामा ध्यानी बुद्ध र त्यसमुनिको तहमा पश्चिमाभिमुख गरेर बसेको खड्ग हस्त मञ्जु श्री बोधिसत्व स्थापना गरेको चैत्य ( चि.नं. ८) बनाउने प्रचलन चलेको देखिन्छ । यस्तो चैत्य गुणाकर महाविहार छुस्याहीमा निर्माण भएको पाइन्छ भने त्यस्तै भव्य शिवालय आकृतिको चैत्यमा चतुर्ध्यानी बुद्ध सहितको तर उत्तराभिमुख अक्षोभ्यको मूर्ति भएको कीर्तिपुरको चीलंचो विहार जाने बाटोमा पनि नपाइएको होइन । यी दुईवटै चैत्यलाई मल्लकालीन मूर्तिकलाको विशेषता मान्नुपर्छ । भारतको काशी जगन्नाथ आदि मन्दिरबाट प्रभावित भई श्री अभयराज शाक्यले ललितपुरको महाबौद्ध मन्दिर बनाउनु भए जस्तै मल्ल राजा लक्ष्मीनरसिंहले भव्य कृष्ण मन्दिर बनाए । कृष्ण मन्दिरको भव्यताका साथसाथै कृष्ण र अवलोकितेश्वर दुवैलाई प्रतिष्ठापित गरी धर्म समन्वय देखाउने जुन प्रयास राजा लक्ष्मीनरसिंह मल्लले देखाउनु भयो, त्यही आधारशिला मानी चैत्यको प्रमुख पक्ष गर्भगृहलाई हटाई शिवालय आकारको चैत्य स्थापना गरी गुनाकर महाविहार ज्याठामा र चीलन्चो विहार जानेबाटोमा एकदम हुवहु उस्तै शैलीको चैत्य बनेको देखिन्छ । ज्याठाको छुस्यावही (गुणाकर महाविहार) को शिवालय शैलीको चैत्यको वेदीमाथि भित्र खोपामा स्थापित मञ्जुश्रीको मूर्तिले सुविशुद्ध धर्म धातु चैत्य बनाउने श्रद्धालु भक्तको महत्वाकांक्षा झल्काउँछ त शिवालय आकृतिको गर्भगृहको चारैतिर ध्यानी बुद्ध र अष्टमङ्गलका चिन्ह राखिसकेपछि फेरि माथि टुप्पामा सानो गर्भगृह र त्रयोदश भुवन अंकित गजूर राख्नुबाट परम्परा एवं समन्वय र सर्वोदय कै कामना गरेको देखिन्छ । वास्तवमा श्रद्धालु भक्तहरूको उदार हृदय र कलाकारको शालिन कला कौशल विना यस्तो महनीय कृतिहरू निर्माण हुनु संभव छैन ।
फेरि यस्तै वैशिष्ट्यतापूर्ण मात्र होइन, समन्वय देखाउने महनीय कदमको फलस्वरूप बनेको अर्को सुन्दर चैत्य (चि.नं. (७) लगनटोल स्थित कीर्तिपुण्य महाविहारमा भेटिन्छ । यस चैत्यको चारै दिशामा चार ध्यानी बुद्धमध्ये पश्चिम दिशामा विराजमान हुने अभिताभ बुद्ध बाहेक अरू बुद्धहरू राखिएका छैनन् । बरु यी बुद्धका सट्टा क्रमशः अरु दिशामा शिव, विष्णु र इन्द्रका मूर्ति स्थापना गरिएका छन् । गर्भगृह र गजूर यथावत छन् अनि पिंधमा शिवलिंगमा जस्तै जलहरी पनि राखिएका छन् । यस चैत्यको माध्यमले यी शाक्य परिवारका श्रद्धालु भक्तले धर्म समन्वयको कामना गरिएको बुझिन्छ भने अर्कोतिर चैत्यका क्षेत्रमा पाइने आदर्शस्वरूप पश्चिम दिशामा रहने तथा सुखावती भुवनका अधिपति अमिताभ बुद्धको आदर्शलाई जुन परम्परागत महत्त्व दिई आएको छ त्यो आदर्शलाई भने त्यत्तिकै कायम नै गर्दै आएको देखिन्छ । अनि यो चैत्यको अर्को रहस्यमय पक्ष हो यस चैत्यमा गुह्येश्वरीदेवीको मन्दिरमा जस्तै पीतलका चारवटा नागको इंला खडा गरिराख्नु । यहाँका ती कलापूर्ण नागहरूको टाउको स्वर्गलोकबाट पृथ्वीलोकमा झरेको हो कि जस्तो गरी पुच्छर चैत्यको माथि इलामा र टाउको चैत्यको वेदीमा अड्याएको देखिन्छ । यो बाहेक अरू कुनै चैत्यमा यसरी नागको इलां राखेको भेटिए पनि नागको टाउको तल फर्केको देखिएको छैन । यो चैत्यमा टाउका तल पारी झरिरहेको नागले कालमोचन मन्दिरको गजूरबाट तल झरिरहेको नागको टाउकोसँग तुलना गर्न सकिन्छ ।
लगन टोल अवस्थित यो चैत्य जयस्थितिमल्लको पालामा बनेको प्रमाण त्यहाँको शिलापत्रबाट प्रमाणित हुन्छ । जयस्थिति मल्लको सुधारवादी नीति एवं जातभात, धर्म, संस्कृतिको विभेदले उब्जाएको भित्रि वैमनस्यलाई सर्व धर्म समन्वयको माध्यमबाट शान्ति स्थापना गर्ने प्रयास स्वरूप शिव, विष्णु, इन्द्र पनि बौद्ध चैत्यमा समावेश गरेको होकि भन्ने कौतुहलता यो चैत्यले देखाउँछ ।
अर्को यस्तै वैचित्र्यतापूर्ण भनूं वा परापूर्वकालदेखि चलिआएको स्तूप, थूरो एवं चैत्यप्रतिको अपार श्रद्धा भनूं, बुंगमतीमा उपलब्ध एउटा चैत्यमा चारै दिशामा ध्यानी बुद्धको सट्टा स-सानो स्तूपकै प्रतिकृतिसँग मिल्ने चैत्यहरू कुम्भाकारको गर्भ गृहको मुनि चारै दिशामा स्थापना गरिएको छ । त्रयोदश भुवन अंकित गजूर यथावत् नै सुसज्जित देखिन्छ । हुनत चैत्यमाथि चैत्यको प्रतिमूर्ति स्थापना गरिएको अरु पनि नभेटिएका होइनन् । तर यसको वैशिष्टयता ध्यानी बुद्ध हुनुपर्ने ठाउँमा चैत्यको आकृति पाउनु हो । यो एकदम विचारणीय कुरा छ । टुडिखेलको महांकाल स्थान अगाडिको चैत्यमा पनि ध्यानी बुद्धहरू राखिएका छैनन् । केवल छेपुयुक्त द्वारहरू मात्र छन् । तर त्यस द्वारको दाँया बाँया सुन्दर चैत्यकै स-सानो आकृति कुंडिएका छन् । त्यस्तै चावहिलमा पनि यस्तै चैत्य आकृतियुक्त चैत्यहरू पाइन्छन् । चैत्यको क्षेत्रमा यी चैत्य आकृतियुक्त चैत्यहरूको छुट्टै विशेषता रहेको मान्नुपर्छ । गुरु परम्पराको अभाव प्रामाणिक ग्रन्थहरू उपलब्ध नहुनु, शिलापत्रहरू हराइसक्नु आदिले गर्दा नेपालमा स्थूरो, स्तूपबाट सुरु भएको चैत्य निर्माण कलाको श्रृंखला श्रावकयान, महायान हुँदै वज्रयानसम्म लामो यात्रा तय गरिसक्दा के कति विविधता अपनाईसके अध्ययन, अनुसन्धान गर्नु नितान्त आवश्यक भएको छ । अनुसन्धानविना यी रहस्यमय पक्षहरू वर्णन गर्नु गाहो मात्र होइन, असम्भव छ ।
हाल नेपालमा पाइएका स्तूप, स्थुरोहरूमा अवश्य पनि पहिले ध्यानी बुद्धहरू नहुँदो हो । किनभने सम्राट अशोकले यी पाँच स्थुरोहरू बनाउँदासम्म, वज्रयानका देवता यी ध्यानी बुद्धहरू त्यति सजिलैसँग प्रसार प्रचारमा अवश्य पनि आएका थिएनन् होला । सत्रशय वर्ष अगाडिको बौद्ध विद्वान् असंगको रचना वज्रयानी सूत्र ग्रन्थ तथागत गुह्य समाज सूत्रमा नै सर्वप्रथम पंच बुद्धको उल्लेख भयो भन्ने विद्वान्हरूको विचार अनुसार पनि इ.पू. २०० कालीन अशोक स्तूपमा पंच बुद्ध नहुनु स्वभाविक छ । यति मात्र होइन, एक समयमा भक्तहरूले आदिनाथ चोभारको करुणामयको ठीक अगाडि शिवालय आकारको तर गजूर अर्धगोलाकार गर्भगृह नभएको चारै दिशामा पंचबुद्धको मूर्ति सहितको चैत्य पनि निर्माण गरेका छन् ।
यस्तै अर्को महत्वपूर्ण चैत्य हो पाटनको महाबुद्ध चैत्य ( चि. नं. १०) । नेपालमा यस प्रकारको चैत्य हामीले बोध गयामा बाहेक अन्त कतै देखेको छैन । शान्तिनायक भगवान् बुद्धको जन्म नेपालको लुम्बिनी उद्यानमा भयो ।
बोधिगयामा कल्पवृक्षको मुनि वज्रासनमा बसी ६ वर्ष सम्म दुष्कर चर्या गरे अनि बैशाख पूर्णिमाको दिन मध्यम चर्या गरी यही स्थानमा सम्यक् सम्बोधि लाभ गर्नु भयो । यो वृक्ष बोधिवृक्षका नामले प्रख्यात मात्र भएन, एउटा परम पुण्यस्थल बने । यसरी भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेको हुनाले त्यसकै स्मृति स्थलको रूपमा सम्राट् अशोकले इसा पूर्व २२७ – २३२ तिर त्यहाँ एउटा सानो पवित्र स्मारकका रूपमा एउटा चैत्य निर्माण गरे । तर पाचौं शताब्दितिर त्यही चैत्यलाई हालको महाबोधि चैत्य ( चि.नं. ९) को रूपमा परिष्कृत गरी निर्माण गरियो । सर्वोत्कृष्ट स्थापत्य कलाका नमूना यो देवस्थलले बौद्धतीर्थ यात्रीहरूलाई अत्यन्त प्रभावित पारे । जसको फलस्वरूप बौद्ध धर्मावलम्बीहरूले आ-आफ्नो देशमा यस चैत्यको नमूनामा आ-आफ्नो देशको मौलिक कलाकृतिका साथसाथै विभिन्न नामले चैत्य बनाउन थाले । वर्मा, थाइल्याण्ड, कम्बोडिया, श्रीलङ्का, चीन अनि नेपालमा पनि क्रमशः यही आकृतिको चैत्य निर्माण भयो । भनिन्छ प. अभयराजले बोधिगयाको महावोधि मन्दिरको जस्तै शिखरकूट शैलीको अनुकरण गरी त्यसमा आफ्नो देशको मौलिक कलाकृतिको विशेषता समेत समावेश गरी १६ शताव्दितिर ” महाबुद्ध चैत्य ” प्रतिष्ठा गरी एक तल्ला पूरा गरेका थिए । तदनन्तर वहाँका छोराहरू, नातीहरूले विस्तारै उक्त चैत्यलाई हालको आकारमा सम्पूर्णता दिए ।
यो महाबुद्ध चैत्यको भूमितल्लामा भूस्पर्श मुद्राको शाक्य सिंह बुद्ध अनि क्रमश: यस भन्दा माथिको तल्लामा ध्यानमुद्राको अमिताभ बुद्ध, तेस्रो तल्लामा स्वयम्भू चैत्य, चारौं तल्लामा धर्म धातु, पाँचौंमा वज्रधातु मण्डल, छैठौंमा फेरि शून्यनिरञ्जनचैत्य स्थापना गरिराखेको छ । अनि त्यसमाथि चूडामणि राखिएको छ । चैत्यको चारै दिशामा चैत्यको सम्पूर्ण भागमा स-सानो खोपा बनाएर देवदेवीको मूर्ति स्थापना गरीराखेका भेटिन्छ । यी टेराकोटाले बनाइएका मूर्तिहरू ३००० भन्दा बढी त्यस मन्दिरमा प्रतिष्ठा गरि राखेका छन् । श्रद्धालु भक्तहरूको चैत्य प्रतिको अनुपम श्रद्धा र विश्वासको प्रतिकृतिका रूपमा महाबुद्ध चैत्यलाई मान्नुपर्छ ।’








