
केही वर्ष यता आएर तिथिसंगै दिन पनि फेरिन्छ भन्ने धारणा र बुझाई बन्दै आएको देखिन आएको छ । एकथरि मानिसहरु यही हुनु पर्दछ । यो बाहेक अरुबाटो छँदैछैन भन्दै आएको पनि देख्दै सुन्दैआएको हो । परम्परावादीहरु भने आदि अनादिकाल देखि एक सूर्योदय देखि अर्को सूर्योदय नभएसम्म एउटै दिन एउटै तिथि एउटै वार मान्दै आइरहेका छन् । अहिले दुईतीन दशक अघिदेखि तिथिसंगै दिन पनि फेरिन्छ भन्दै विवाद ल्याएर जनमानसमा परम्परागत रीतिरिवाज मै विचलन ल्याइदियो र फलस्वरुप हरेक चाडपर्व दुइदिन मनाउन बाध्य पार्दै आइरहेको छ । यसमा कसको कति दम छ भन्ने कुरा छुट्याउन नसकेर सर्वसाधारण मान्छेहरु रणभुल्लमा परिरहेका छन् । हुनतःयी दुवैसिद्धान्त ज्योतिष संगै सम्वन्धित छ । त्यसकारण कुनचाहिँ ज्योतिष हाम्रो अनुकूल हो कुन होइन यतातिर चिन्तमनन हुनु जरुरी हो भन्ने देखा परेको छ ।वास्तवमा ज्योतिष एउटै हो सिद्धान्त पनि एउटै हो र ग्रहनक्षत्र जे जति छन् तिनीहरु पनि एउटै हो । तर मान्छेको बुझाइमा जे कुरा विकास गर्दै लगे धारणाहरु पनि त्यही अनुसार बदल्दै गएको मात्र हो । सीमित घेराभित्र रहेर हेर्दा त तिथि अनुसार गर्ने काम त तिथि जहिले लाग्छ तहिले गर्ने हो नि भनेको कुरा सही लाग्नसक्छ । तर व्यवहार परम्परा आदि सबै पक्षलाई व्यापक दृष्टि दिएर हेर्दा त्यो कुरा गलत हो भन्न सकिन्छ ।
उदाहरण त सयौंसय अगाडि ल्याएर राख्नसकिन्छ तर बुद्धिमानलाई इसारा नै काफी हुन्छ ।त्यसैले यो उदाहरणबाटै प्रष्ट हुन्छ ।
राजा प्रतापमल्ल पालाको काठमाडौं मरुटोलको वज्रधातु चैत्यको शिलालेखमा लेखिएको यसप्रकार छ
श्रेयोस्तु सम्वत् ७८४ फाल्गुणमासे शुक्लपक्षे द्वितीयाघटि २ प्र (तृती) यान्तिथौ, उत्रभद्रघटि ६ प्र रेवतीनक्षत्र शुक्लमयोगे, यथाकण्र्णमुहुत्रे शुक्लवार …. रासिगते सवितरि, मीनरासिगते चन्द्रमसि ।। थ्व कुन्हु थ्व वज्रधातु चैत्य प्रतिस्थायाङा दिनजुरो ।। थ्वनलि सम्वत् ७८५ पौषमासे कृष्णपक्ष अमावास्यां तिथौ, उत्रषाढ नक्षत्रे वज्रयोगे शुक्लवार ।। थ्व कुन्हु सूय्र्यग्रासमहापव्र्वदिनस
यो अभिलेखमा दिइएको तिथिको मर्म जुनसुकै ज्योतिषलाई पढाएपनि मर्म एउटै आउँछ ।नेसं ७८४ को फाल्गुणशुक्ल द्वितीयाको वार तृतीया लागीसकेतापनि वार भने शुक्रवारनै छ शनिवार भएको छैन । नक्षत्र पनि उत्रभद्रबाट रेवती भइसक्यो वारभने शुक्रवार नै हो । के यो कुरा ज्योतिषै पिच्छे फरक मर्म आउँछ ? आउँदैन एउटै हो । त्यस्तै ने.सं ७८५ पौष कृष्ण औसी तिथि शुक्रवार सूर्यग्रहण लागेको महापर्व दिन भनिएको छ । यो पनि बिहान सूर्योदयले औंसी तिथि लिएर उदय भएको बेलाको शुक्रवार हो । जतिबेला ग्रहण लागेको हो तिथि र वार त्यतिबेला हो भनेर सायद कसैले अथ्र्याउँदैनन् । त्यसकारण हालसाल आएर मात्र होइन आदि अनादिकाल देखि नै सूर्योदयले जे तिथि लिएर उदय भएको हो अर्को सूर्योदय नभएसम्म त्यही तिथि कायम रहने गरेको हो । के एउटै वारमा दुइटा तिथि नपरेको उदाहरण कुनै छ ? वास्तवमा एउटै वारमा दुइटा तिथि नपरेको न हिजो थियो न आज छ न भोली नैहुने हो । आदिअनादिकाल देखि एउटै प्रकारको रीतिपद्धति चल्दै आएको कुरा ध्रुवसत्य मान्यता हो । यस्तो ध्रुवसत्य कुरा कहिल्यै परिवर्तन हुँदैन त्यस्तै सूर्यसिद्धान्तबाट बनेका पञ्चाङ्ग पात्रो हातमा लिएर चन्द्रोदयको सिद्धान्तबाट यस्तोउस्तो भन्नु सैद्धान्तिक विचार होइन । भगवान शिवको अनुष्ठान गरेर पूजागर्ने भनेर बसेको छ भगवान नारायणको किताव ल्याएर वाचन गरेर हुँदैन भनेजस्तै सूर्यसिद्धान्तको पात्रो हातमा लिएर यतिवजे तिथि सर्छ उतिवजे तिथि सर्छ भनेर मान्छेलाई अन्योलमा पार्नु कुनै काइदा होइन ।
बार र तिथिबीचको अन्तर सम्वन्ध
नेपालको पञ्चाङ्ग अनुसार बार भनेको सूर्योदयसंगसंगै उदय हुन्छ । तिथि भने यहीबेला यहीसमयबाट उदय हुन्छ भन्ने निश्चित मान्यता छैन र कसैले निश्चित मान्यता बनाउन सकिन्न पनि । त्यही भएर एउटै बारमा प्रायः दुइटा तिथि हुन्छ । त्यही भएर सूर्योदयसंग उदय भएको वार अर्को सूर्योदय नभएसम्म रहने हुनाले वारले सूर्योदय हुँदाको पहिलो तिथि समात्छ र दोस्रो तिथि अर्को सूर्योदयको लागि छोड्छ । यो कुरा सारा अभिलेख एकत्रित गरेर अध्ययन गर्दा त्यहाँ दुइमत आउँदैन । यो कुरा माथिको अभिलेख उदाहरणले नै प्रष्ट पारी सकेको छ । जब यी ध्रुवसत्य मान्यतामा कुनै आपत्ति छैन भने घडीपला हेरेर तिथि मान्ने र चाडवाड त्यही अनुकूल हुनु पर्दछ भन्ने गलत धृष्टता कहाँ बाट आयो ? अचम्म यसमा छ । त्यसकारण तिथिको आफनो स्वतन्त्र अस्तित्व छैन र तिथिलाई वारले जहिलेपनि आफुसंगै दोर्याएर लगिरहेको हुन्छ । यो कुरा कुनै पनि ज्योतिषले नबुझेको किमार्थ होइन केवल बूझपचाइ आएको मात्र हो भन्ने छर्लङ्गै बुझ्न सकिन्छ ।
तिहारमा गुञ्जिने भैलो गीत सर्वविदित नै छ
भैलिनी आइन आगन गुनियो चोलो मागन
हे ! औंसीको बारो गाइ तिहारो भैलो
हरियो गोबरले लिपेको लक्ष्मीपूजा गरेको
हे ! औंसीको बारो गाइ तिहारो भैलो
हामी तसै आएनौं बलिराजाले पठाको
हे ! औंसीको बारो गाइ तिहारो भैलो
हे ! औंसीको बारो गाइ तिहारो भैलो को अर्थ के हो ? यति कुरो नबुझ्ने त सायद कोही छैन होला ? यसमा गाई तिहार भनेको औंसी हो र औंसीको बार भनेको सूर्योदय हुँदा औंसीको जुन वार हो त्यो वार बेलुकासम्मै रहन्छ भनेको हो । किनभने भैलो माग्ने काम बिहान दिउँसो त हुँदै होइन । यो भैलो गीत नेपालको संस्कृतिको अभिन्न अंग हो भने यो संस्कृति बाहिरबाट हुलेको पनि बिल्कुलै होइन । तर अहिले नरक चतुर्दशीको वार कुकुर तिहार भैलो हुँदै आएको छ । वास्तवमा यसरी संस्कृति बिपरीत भएको विषयमा चिन्तित हुनुपर्ने हो तर यसमा कसैको चासो छैन । किनभने उनीहरु गाईपनि दिन दिनै पूजा गर्दै आएको हो लक्ष्मीपनि दिनदिनै पूजा गर्दै आएको हुनाले चतुर्दशीमा गरे पनि हुन्छ औंसीमा गरे पनि हुन्छ भनीरहेका छन् । उनीहरु यसरी जेसुकै भने पनि नेवारसमुदाय मध्ये अधिकाँशले त्यो मान्यता मान्दैन । कतिपय नेवारसमुदाय भित्रै पनि सुखरात्रीको अवधारणा अघि सारेर भएपनि फाटो ल्याइरहेको देखिएको छ ।
सुखरात्रीको अवधारणा कहिलेदेखि भित्रियो ?
हाम्रा पूर्वजहरुले सुखरात्रीको जिकिर कहिल्यै गरेको थिएन । वास्तवमा यो अवधारणा बाहिरबाट आएको हो । अहिले आएर सुखरात्री मोहरात्री र शिवरात्री भनेको बिहान दिउँसो गरिने होइन बेलुका सूर्यास्त पछि गरिने भएको हुनाले औंसी भएको रात्री त चतुर्दशीको रातीमात्र देखिने हो र गाईपूजा बिहान मात्र गरिने भएकोले भोलीपल्ट बिहानसम्म औंसी रहने भएकोले भोलीपल्ट बिहान गाईपूजा गराउनु भनेको धर्मसिन्धु निर्णय सिन्धु अनुकूल छ भन्दै प्रचार गराइ आएको हुनाले कतिपय नेवारसमुदाय बिच्केर आफनो परम्परा छोड्नेहरु पनि देखापरेको हो । वास्तवमा यो कुनै परम्परागत संस्कृति भनिंदैन त्यो त जताजता पानी उतैउतै माछा भएको मात्र हो । यसमा कुनै आश्चर्य मान्नु पर्दैन किनकि जसले आफनो पहिचान के हो थाहा छैन उनीहरु भड्किनु स्वभाविक नै हो ।
प्रायः ज्योतिषको काम गर्दै आएकाहरुसंग पुराना पञ्चाङ्गको संकलन पनि अवश्य हुने गर्दछ । उनीहरुले मान्छेले के भन्यो भन्ने तिर भन्दा पनि पुराना पञ्चाङ्ग पात्रो मात्र पल्टाएर हेरे पनि प्रष्ट देखिने कुरा किन हेरिएन?यो अचम्म छ । वि.सं २००१ साल भन्दा अघिको पञ्चाङ्ग पात्रोमा पनि सुखरात्री उल्लेख देखिएन । आफुसँग भएको २००१ साल देखिको सबै पात्रो पल्टाएर हेर्दा वि.सं २०३१ साल सम्मको पात्रोमा सुखरात्रीको उल्लेख देखिन आएको पाइएन ।
वि.सं २०३२ सालको पञ्चाङ्गमा आएर सुखरात्री उल्लेख देखियो र त्यहाँ उप्रान्त प्रत्येक सालको पात्रोमा सुखरात्री उल्लेख देखियो । तर रोचक कुरो २०३२ सालको पात्रोमा चतुर्दशीको रातलाई सुखरात्री होइन औंसीको रातलाई सुखरात्री उल्लेख गरेको छ । वि.सं २०३३ सालदेखि सुखरात्री भनेर रात्रीको समयलाई ध्यानमा राखेर अहिलेसम्म चतुर्दशीको रातलाई सुखरात्री भनेर उल्लेख गर्दै आएको देखिएको हो । यो कुरा पात्रो पल्टाएरै अध्ययन गरेपनि थाहा हुने कुरा हो ।
वि.सं २०३२ साल भनेको कति पो पुरानो होर ? हाम्रा पूर्वजहरुलाई यो कुरा थाहा हुने कुरै भएन । फेरि हाम्रा पूर्वजहरुले सुखरात्रीको अवधारणा किन नलिएको भनेर उपदेश दिन जान सक्दैनौं । हाम्रो संस्कार पूर्वजले जे सिकायो त्यो पालन गर्ने हो पूर्वजलाई सिकाउने संस्कार हामी अंगीकार गर्दैनौं । किनभने पूर्वजलाई सिकाउने भनेको सूर्यलाई बत्ती देखाउने जस्तै मात्र हो ।
यसरी सुखरात्री मोहरात्री र शिवरात्री मध्ये मोहरात्री र शिवरात्रीले हाम्रो संस्कृतिलाई केही धक्का दिएन तर सुखरात्रीले भने हरेक वर्ष धक्का दिंदै आएको छ । सुखरात्री, मोहरात्री शिवरात्री यी तीनै वटा रात्रीमा मात्र पूजा गर्ने हो । हाम्रो मुख्य भनाई यहीकि हाम्रा पूर्वजलाई जानकारी नै नभएको , उनीहरुलाई आवश्यकता नै नभएको कुरा हामीलाई मात्र किन चाहियो ? वि.सं २०३२ साल अघिसम्म हामीलाई दरकार नै नभएको अब आएर पालन गर्नै पर्दछ भनेर बाध्यात्मक हुने गरी संस्कृति लाड्ने कसैको अधिकार छैन । सुखरात्री राती मात्र पूजा गरिने हुनाले चतुर्दशी कै राती लक्ष्मी पूजागर्नु पर्दछ त्यो उनीहरुको संस्कृति होला हाम्रो होइन । हाम्रो म्हपूजा राती गर्ने हो । कार्तिकशुक्ल प्रतिपदाको राती म्हपूजागर्न अघिल्लो रातीमात्र लक्ष्मी पूजागर्ने हो । कसैले सुखरात्रीको बहकाउमा लगाएर चतुर्दशी कै राती लक्ष्मीपूजा गराउँछ र भोलीपल्ट खाली राखेर पर्सीपल्ट म्हपूजा गराउने अर्ती दिन्छ भने त्यो हाम्रो संस्कृति र संस्कार पनि होइन मान्दा पनि मान्दैनौं । फेरि बीचमा खाली नबसेर चतुर्दशीमा लक्ष्मीपूजा औंसीकोदिन म्हपूजा र प्रतिपदाको दिन किजापूजा गर भनेर अर्ती दिन्छ भने त्यो पनि हाम्रो संस्कृति संस्कार बिपरीत हो हामी मान्दैनौं । हामी आदि अनादिकाल देखि परम्परालाई अंगीकार गरी पूर्वजहरुले जे जसरी सिकाएको कुरा हो त्यो मात्र संस्कृति संस्कार भन्दछौं भने केहीवर्ष अघि देखि देखापरेको सुखरात्रीको संस्कृति संस्कारको पछि लाग्नुपरेको छैन ।
यमपंचकको अर्थ
यमपञ्चकको पहिलोदिन कागतिहार, दोस्रोदिन कुकुर तिहार ,तेस्रो दिन गाईतिहार चौथोदिन म्हपूजा र पाँचौंदिन किजापूजा गरी पाँच दिन लहरै मनाउने दीपावली चाड दशैं पछिको महान चाड हो । पूर्णिमान्त पात्रो अनुसार कार्तिककृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीया सम्मको पाँच दिनलाई यमपञ्चक भनिन्छ । पूर्वजहरुको भनाइ अनुसार पञ्चकलाग्दा खेरी धेरै मान्छे अकाल मृत्यु हुने गरेकोले पञ्चक नक्षत्रलाई कडा मानिन्छ । हाम्रा पूर्खाले कसैको अकाल मृत्यु नहोस् भनी यमराजसित तान्त्रिकभाषामा कुरा गरेर उनले सिकाए बमोजिम यमविधान अनुसार म्हपूजा गरेको खण्डमा कसैको अकाल मृत्यु हुँदैन भनी विश्वास लिएर पूजा गरेको म्हपूजा हो । यो म्हपूजागर्न यमराजको धुकुतीमा बसेको लक्ष्मीलाई बिराजमान गराउनैपर्ने जरुरी छ । यमराज कै उपदेश अनुसार आफनो धुकुतिसम्म पहुँच भएको प्राणी गाई भएकोले लक्ष्मीलाई बोलाउन गाईलाई पठाएको र लक्ष्मी बिराजमान गराएर यमराज आफु खुद अगाडि बसी म्हपूजा गराइएको हुनाले योपूजा विधिलाई यमविधान अनुरुपको पूजा मान्ने गरेको हो । कालान्तरमा काग कुकुरले पनि यमदूतको भाषा बुझ्ने प्राणी भनेर उनीहरुलाई पनि पूजागर्नु र अन्तिम दिनमा सम्पूर्ण दिदी बहिनीले आफनो दाजुभाइलाई त्यही यम विधान ले पूजा गरेमा दाजुभाईको आयुबढ्ने विश्वास रही आएको हो । प्राय संस्कृतिविद्हरुले लक्ष्मीपूजा, म्हपूजा र किजापूजा यी तीन दिन धुमधाम हुने हुनाले तीनदिनको तिथि भनेर स्वन्हुतिथि , स्वन्ति भनेको हो र कतिले फलफूल धेरै पाइने मौसम भएकोले स्वाँती चाड भनेको पनि भन्दै आएको देखिन्छ । तर मूलभूत कुरा यमपञ्चक भनेर पाँच दिन लहरै मनाउनु पर्ने विशेषता भएको दशैंउप्रान्तको उपसंहार चाड हो । त्यही भएर दशैमा आगममा चढाएको प्रसाद लक्ष्मीपूजामा परिकार बनाएर चढाउनै पर्ने परम्परा रही आएको विश्वास पाइन्छ ।
हामीले पूजागर्ने लक्ष्मी
हामीले पूजागर्ने लक्ष्मी यमराजको धुकुतिमा बिराजमान रहेकी हुनाले सामान्यतः पसलपसलमा पूजागर्ने लक्ष्मी भन्दा फरक छ । पसलपसलमा पूजागर्ने लक्ष्मी, सुखरात्रीमा पूजागर्ने लक्ष्मी दिनदिनै पूजा गर्ने लक्ष्मी हुन्भने वर्षको एकपटक यमपञ्चक तिहारमा मात्र पूजा गरिने लक्ष्मीविशेष रहेको छ । यो लक्ष्मीले हातमा सिन्हमू ज्वलान्हायकँ लिएकी कछुवाबाहन भएकी ,संगसंगै ख्याक र कुवेर साथमा लिएकी लक्ष्मीलाई ध्यान गरी पूजा गरिन्छ । सुखरात्रीमा पूजा गरिने लक्ष्मी तान्त्रिक होइन । यमविधानअनुसार पूजा गरिने लक्ष्मीलाई पञ्चममकारले युक्तगरी पूजा गरिन्छ त्यसैले यो तान्त्रिक देवी हुन् । पञ्चममकार भनेको रक्सी वारा मासु, माछा र हाँसको अण्डा लाई लिइन्छ ।
हाम्रो तान्त्रिक विधिगत पूजाको नियम
प्रायः म्हपूजागर्नु पर्नेहरुले पूजा गरिने लक्ष्मी तान्त्रिक भएकोले यसको पूजा गर्दा गोप्य कोठामा गरिन्छ र बाहिरका मान्छेलाई गोप्य कोठामा भित्र्याईंदैन । सामान्यतःपसलमा पूजा गरिने र सुखरात्रीमा पूजा गरिने लक्ष्मी गोप्यकोठामा गरिनु जरुरी छैन । पूजा सकिएको एक छिन् पछि नै फूल प्रसादलिएर प्रसादभोजन गर्न हुन्छ भने तान्त्रिक लक्ष्मीलाई पूजा गरेर चारदिनमा मात्र फूल टिका लगाई प्रसाद ग्रहण गर्ने गरिन्छ ।
सुखरात्रिमा पूजा गरिने लक्ष्मी कार्तिक कृष्ण चतुर्दशीको दिनमा गर्दा कुनै फरक पर्दैन किनकि दिन दिनै पूजागर्न मिल्ने लक्ष्मीको कुनै विशेष दिन भनेको छैन । कार्तिक शुक्ल प्रतिपदाको दिनमा म्हपूजा गर्नु पर्नेहरुले चाहिं कार्तिक कृष्ण चतुर्दशीमा कुनै हालतमा लक्ष्मी पूजा गर्दैनन् । किनकि म्हपूजा र लक्ष्मीपूजाको दिन एक दिन खाली पार्नु हुँदैन । त्यसरी खाली दिन पार्नु हाम्रो संस्कृति र संस्कार अनुकूल मानिंदैन ।
प्रायः स्वस्थानी वाचन गर्नेहरुले सतिदेवीको दाहिने तिघ्रा पतन भएको ठाउँमा तारकेश्वर महादेव उत्पत्ति भए त्यहाँ लक्ष्मी आई द्रव्य चढाइ सेवा गरे । त्यसरी द्रव्य चढाइ सेवागर्ने लक्ष्मी पनि यिनै तान्त्रिक देवीलक्ष्मी हुन् । लक्ष्मीले इश्वरीसंग वरदान माग्दा कार्तिक कृष्ण औसीको दिनमा सबैले सम्मान गरी मानुन् भनी माग्दा इश्वरी प्रसन्न भइ तथास्तु भनी वरदान दिइन भनिएको कुरा हामी हरेक वर्ष स्वस्थानी वाचन गर्दा सोकुरा स्मरण गर्दछौं । त्यस वाचनमा हामीले नरक चतुर्दशीको दिनमा सुखरात्री मानेर लक्ष्मीले इश्वरीसंग वरदान मागेको भनेर वाचन गर्दैनौं । त्यसकारण अहिले मान्छेहरु बढी जान्नेसुन्ने बनेर सुखरात्री भन्दै हाम्रा पूर्वजहरुले सिकाउँदै नसिकाइएको चलन गराउँदै आएका छन् । त्यसैको लहेलहैमा पछि लाग्नु हाम्रो संस्कार बिपरीत हुने हुनाले म्हपूजाको संस्कार भएकाहरुले सुखरात्रीको संस्कृति अपनाउन जान जरुरी छैन ।
निष्कर्ष
हामीले प्रयोग गर्दै आएको पञ्चाङ्ग पात्रो सबै सूर्यसिद्धान्तबमोजिम सूर्योदयमा आधारित पञ्चाङ्ग हुन् भनेर थाहा छ तर त्यसमा चन्द्रोदयको कुरा ल्याएर दिग्भ्रमित पार्दै आएको छ । अभिलेखीय प्रमाणले हाम्रो परम्परा के हो ? प्रष्ट बताइरहेको थाहा छ तर त्यतातिर ध्यानै नदिई मान्छेलाई गुमराह पार्ने कोशिस गर्दै आएका छन् । संस्कृति संस्कारमा तिथिलाई बारले निर्देशित गर्दै आएको ध्रुवसत्य कुरा जसको कसैले प्रतिवाद खण्डन नै गर्न सकेको छैन । त्यसको बिपरीत बाटोमा लाग्न मान्छेलाई अभिप्रेरित गर्दै आएका छन् । भैलो माग्दा रेडियोमा के वाचन भइरहेछ भन्ने पनि थाहा छ । स्वस्थानी वाचन गर्दा के भनेर पढ्छौं पनि थाहा छ । सुखरात्री अवधारणा कहिले देखि देखापरेको भन्ने कुरा पुराना पात्रो पल्टाए मात्रै पनि थाहा हुने हो तैपनि किन त्यसको जिकीर गर्दै आएको हो । यीसवै हेर्दा केवल बुझपचाइ गरेको मात्र हो भन्ने देखिन्छ । थाहा नपाएर गल्ती हुनु कुनै दोष होइन तर जानाजानी गल्ती गर्नु दोष हो ।
प्रत्यक्ष रुपले हामीले देखी आएका छौं जब सुखरात्रीको अवधारणामा प्रवेश गर्दछ उसले यमपञ्चक पाँचदिन लहरै मनाउन बिर्सनु पर्दछ । म्हपूजा गर्नै पर्दछ भनी बिर्सनु पर्ने हुन्छ । लक्ष्मीपूजा गरी सकेपछि चौथोदिनमा मात्र प्रसाद ग्रहण गरिने संस्कार बिर्सन्छ । लक्ष्मीपूजा गर्न पहिले गाईपूजा गर्नुपर्दछ भन्ने संस्कार बिर्सन्छ । म्हपूजा गरिहाले भने पनि त्यसको अघिल्लो दिन नै लक्ष्मी पूजागर्नु पर्दछ भन्ने संस्कार बिर्सन्छ । इतिहास तिर यसो फर्केर हेर्नुपर्दछ भन्ने पनि ख्यालै गर्दैन । किनभने लिच्छविकाल देखि नै कार्तिक शुक्ल प्रतिपदाको दिन हामीले अहिले म्हपूजा गर्दै आएको तिथिमा हाम्रा पूर्खाले नयाँ वर्ष मनाउँदै आएका थिए । अहिले नेपालसंवत्मा पनि यही दिन नयाँ वर्ष मनाइ म्हपूजा गर्दैछौं । यस्तो गरिमामय म्हपूजाको संस्कारको प्राचीनता गौरवमय भइआएको यथार्थको अगाडि हिजो अस्तिदेखि देखापरेको सुखरात्रीको संस्कृति अघि सारेर चुनौति दिनखोज्नु भनेको बुद्धिमानी कुरा होइन । यो मामलामा कसैले दिग्भ्रमित पार्ने प्रयास नगरियोस् । लक्ष्मीमाताले धन मात्र होइन सबैलाई सद्बुद्धि समेत देऊन् ।







