काठमाडौं । काभ्रेपलाञ्चोकमा कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको छ ।

यसअघि करिब १५ वर्षअघि नमोबुद्ध–बल्थली क्षेत्रमा यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गरिएको भए पनि निरन्तरता पाउन सकेको थिएन । हान काभ्रेपलाञ्चोक च्याप्टरका अध्यक्ष प्रह्लाद प्याकुरेलले कृषि र पर्यटनलाई जोडेर जिल्लालाई फरक पहिचान दिने उद्देश्यसहित कार्यक्रम पुनः सञ्चालनमा ल्याउन लागिएको बताए ।
उनका अनुसार जिल्लामा सुन्तलाखेतीको राम्रो सम्भावना रहेकाले यही सिजनलाई लक्षित गर्दै नयाँ स्वरूपमा कार्यक्रम सञ्चालन गरिनेछ । क्रिसमसको अवसर पारेर बिहीबारदेखि कार्यक्रम औपचारिक रूपमा सुरु गरिने जानकारी उनले दिए ।
कार्यक्रमअन्तर्गत नमोबुद्धदेखि बल्थलीसम्म पदयात्रा ‘रुट’ तय गरिएको छ । पदयात्रीहरूले सुन्तलाले भरिएका बगैँचाबीच यात्रा गर्दै प्राकृतिक दृश्यावलोकन गर्नेछन् । साथै स्थानीय किसानका बगैँचाबाटै ताजा सुन्तला चाख्ने अवसरसमेत पाउनेछन् ।








