
काठमाडौँ । अधिकारकर्मीले गृहमन्त्री सुधन गुरुङले पत्रकारविरुद्ध बोलेको धम्कीपूर्ण शब्द फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले गृहमन्त्री गुरुङले यही भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति समग्रमा आपत्तिजनक रहेको जनाएका छन् ।
“उक्त अभिव्यक्तिमध्ये पत्रकारविरुद्ध प्रयोग गरेको धम्कीपूर्ण शब्दप्रति हामी खेद व्यक्त गर्दछौँ,” उनीहरूले भनेका छन् ।
देशमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेका र विपद् व्यवस्थापनको अभिभारा बोकेका गृहमन्त्रीका ‘अराजक’ शैली र वचनले बेलाबखत मुलुकको शासनप्रणालीको वजन नै घटाएको उनीहरूको ठहर छ ।
“गृहमन्त्री चयन तथा उनीमाथि लागेका आरोपमा गरिएको ‘अनुसन्धान’ हामीले शंकाको घेराभित्रै राखेको सन्दर्भमा आमपत्रकारमाथिको गुरुङको आक्रामक टिप्पणीले उनले आफू जिम्मेवारीमा रहेको पद र ओहोदाको मर्यादा, संयम,र गाम्भीर्य नबुझेको हाम्रो अनुभूति छ,” विज्ञप्तिमा उल्लेख छ ।
“नेपालका पत्रकारहरूले अधिनायकवादी शैली अपनाउने राज्य सञ्चालकहरू यसअघि पनि भोगेका छन् भने समाचार सम्प्रेषणका लागि यस्ता शासकहरूको सामना पनि गरेका छन्,” उनीहरूले भनेका छन्, “साथै, सञ्चारकर्मीहरूले डर, त्रास र धम्कीका सामु पछि नहटी आमनागरिकहरूलाई सुसूचित गरिरहेका छन् ।” विज्ञप्तिमा भनिएको छ ।
यसरी विज्ञप्ति जारी गर्नेमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, दिनेश त्रिपाठी, श्यामकुमारी साह, सोम निरौला, सुबोध प्याकुरेल र अभिषेक अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “विगतमा सुनकाण्ड, नक्कली शरणार्थीकाण्ड, सहकारीकाण्डजस्ता अनगिन्ती काण्डमा सत्यतथ्य उजागर गर्ने कार्यमा पछि नहटेका पत्रकारहरू गृहमन्त्रीको धम्कीपूर्ण बोलीबाट हतोत्साही हुने छैनन् भन्नेमा हामी विश्वस्त छौँ,”।








