
नेपाल विद्यार्थी सङ्घले काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिमा भइरहेको ढिलाइप्रति आपत्ति जनाएको छ ।
उपकुलपति नियुक्ति प्रक्रियामा देखिएको राजनीतिक हस्तक्षेप, व्यक्तिगत स्वार्थ र अनियमितता अन्त्य गर्दै निष्पक्ष, पारदर्शी, र योग्यताको आधारमा नियुक्ति गर्न माग गरेको छ।
४५ दिनदेखि विश्वविद्यालय नेतृत्वविहीन हुँदा शैक्षिक नीति निर्माण, प्रशासनिक निर्णय, तथा विद्यार्थीका आवश्यकताहरू बेवास्ता हुने अवस्था आएको छ।
विश्वविद्यालयको गरिमा जोगाउन तथा शैक्षिक गतिविधि सुचारु गर्न नेतृत्व चयन छिटो टुङ्ग्याउन आवश्यक रहेको समेत जनाएको छ। तर, वर्तमान नियुक्ति प्रक्रिया राजनीतिक दबाब र संस्थागत चलखेलले प्रभावित बनेको भन्दै सङ्गठनले कडा आपत्ति जनाएको हो ।।

विश्वविद्यालय प्रशासनलाई निष्पक्ष चयन प्रक्रिया अघि बढाउन आग्रह गर्दै, यदि कुनै बाह्य हस्तक्षेप देखिएमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
यसैगरी नेविसंघले फागुन ४ गते मनोचिकित्सा विभागकी एक आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेको घटनाप्रति समेत आपत्ति जनाएको छ। विश्वविद्यालय प्रशासनको उदासीनता र बेवास्ताको कडा आलोचना गरेको छ।




