
हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी वाग्मतीको संसदीय दलले पाँच सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको छ ।
मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिने पाँच सांसदलाई पदमुक्तका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको हो ।
राप्रपा वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बरबहादुर तामाङले प्रदेशसभाका उपसभामुखलाई उक्त पत्र बुझाएका छन् । त्यस पत्रमा सांसदहरू भुवकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई पदमुक्त गर्न भनिएको छ । उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा राप्रपाभित्र दुई धार थियो । संसदीय दलका नेता थापाले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका प्रदेशसभा सदस्यलाई बैठकमा अनिवार्य उपस्थित भएर सरकारको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।
उक्त ह्वीप पाँच सांसदले उल्लंघन गरेको भन्दै पदमुक्तका लागि पत्राचार गरिएको थापाले बताए ।
