
काठमाडौं भदौ २५ गते ।बर्ड कन्जरभेसन नेपालले गिद्ध संरक्षणमा नेतृत्वदायी भूमिकाको लागि बर्डलाइफ इन्टरनेसनलको ‘संरक्षण उपलब्धि पुरस्कार २०२६’ प्राप्त गरेको छ ।
नेपालमा गिद्ध संरक्षणका लागि लामो समयदेखि निर्वाह गरेको नेतृत्वदायी भूमिका र पु¥याएको उत्कृष्ट योगदानको कदर गर्दै ‘बर्डलाइफ इन्टरनेसनल’ (BirdLife International) ले ‘बर्ड कन्जरभेसन नेपाल’ (BCN) लाई प्रतिष्ठित ‘कन्जरभेसन एचिभमेन्ट अवार्ड २०२६’ (Conservation Achievement Award २०२६) प्रदान गरेको छ ।
बर्डलाइफ इन्टरनेसनल विश्वभरका १२० देशमा चराचुरुङ्गी, तिनका बासस्थान र विश्वव्यापी जैविक विविधताको संरक्षणका लागि कार्यरत १२५ संरक्षण संस्थाहरूको एक विश्वव्यापी साझेदारी हो । पुरस्कार बर्डलाइफ ग्लोबल काउन्सिलको ८८ औँ बैठक (जुन १५–१७, २०२६ मा सम्पन्न) द्वारा स्वीकृत गरिएको हो । उक्त पुरस्कारले वैज्ञानिक अनुसन्धान, नीतिगत पैरवी र राष्ट्रव्यापी संरक्षण कार्यमार्फत गिद्धका लागि हानिकारक मानिने पशु उपचारमा प्रयोग हुने औषधि ‘डाइक्लोफेनाक’ (Diclofenac) लाई हटाउन ‘बर्ड कन्जरभेसन नेपाल’ (BCN) ले गरेको नेतृत्वको कदर गर्दै यस्तो खाले कार्यले नेपालमा गिद्धको संख्या पुन : वृद्धि गर्नमा निर्णायक भूमिका खेलेको जनाएको छ ।
केन्याको नैरोबीमा ७ देखि ११ सेप्टेम्बरसम्म आयोजित ‘बर्डलाइफ ग्लोबल पार्टनरसिप मिटिङ’ र ‘ग्लोबल फ्लाईवेज समिट’ का क्रममा ‘बर्डलाइफ इन्टरनेसनल’ की मानार्थ अध्यक्ष राजकुमारी ताकामाडोले बर्ड कन्जरभेसन नेपाल (BCN)लाई औपचारिक रूपमा पुरस्कार प्रदान गरेकी हुन ।
उक्त पुरस्कार ‘बर्ड कन्जरभेसन नेपाल’ का लागि ठूलो सम्मान हो र महत्वपूर्ण कुरा, यो नेपालमा गिद्ध संरक्षणलाई सम्भव बनाउने सामूहिक प्रयास र बृहत् साझेदारीको कदर हो । नेपालका गिद्धहरूको संरक्षणका लागि सहकार्य गर्ने नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, औषधि व्यवस्था विभाग, ‘रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बड्र्स’, ‘सेभिङ एसियाज भल्चर्स फ्रम एक्सटिङ्सन’ (OG6), बर्डलाइफ इन्टरनेसनल र साझेदारहरू, संरक्षण संस्थाहरू, पशु चिकित्सकहरू, अनुसन्धानकर्ताहरू, स्थानीय सरकारहरू, समुदायहरू, अन्तर्राष्ट्रिय समर्थकहरू तथा हाम्रा सम्पूर्ण साझेदार र सहयोगीहरूप्रति हामी आभारी छौं ।’
दुई दशकभन्दा लामो समयदेखि ‘बर्ड कन्जरभेसन नेपाल’ (BCN) वैज्ञानिक अनुसन्धान, गिद्धको संख्या तथा गुँडको अनुगमन, स्याटेलाइट ट्र्याकिङ, संरक्षणमुखी प्रजनन, सामुदायिक सहभागिता, पशु चिकित्सामा प्रयोग हुने औषधिको अनुगमन र नीतिगत पैरवी जस्ता कार्यहरूलाई एकीकृत गर्दै नेपालमा गिद्ध संरक्षणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
बर्ड कन्जरभेसन नेपाल(BCN)को उपलब्धि भनेको सन् २००६ मा नेपालमा पशु उपचारमा प्रयोग हुने ’डिक्लोफेनाक’ ((Diclofenac) माथि राष्ट्रिय प्रतिबन्ध लगाउन सफल अभियानमा यसले खेलेको नेतृत्वदायी भूमिका हो । यो औषधि प्रयोग गरिएका पशुहरूको सिनो खाँदा दक्षिण एसियाली ‘जिप्स’ (-Gyps) प्रजातिका गिद्धहरूको संख्यामा विनाशकारी गिरावट आएको पाइएपछि डिक्लोफेनाकलाई त्यसको मुख्य कारणको रूपमा पहिचान गरिएको थियो । गिद्धका लागि सुरक्षित विकल्पहरूको प्रयोगलाई प्रवद्र्धन गर्न बर्ड कन्जरभेसन नेपाल ले सरकारी निकायहरू, पशु चिकित्सकहरू, औषधि क्षेत्रका सरोकारवालाहरू र समुदायहरूसँग निरन्तर सहकार्य गरेको थियो ।
नेपालमा ‘गिद्ध सुरक्षित क्षेत्र’ (Vulture Safe Zones – VSZs) स्थापना र सुदृढीकरण गर्नमा पनि बर्ड कन्जरभेसन नेपाल (BCN) ले नेतृत्वदायी भूमिका खेलेको छ । सन् २०२१ मा घोषणा गरिएको ‘गण्डकी–लुम्बिनी गिद्ध सुरक्षित क्षेत्र’ विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्र बन्न पुग्यो, जसले समन्वयात्मक र बृहत् भू–परिदृश्य (landscape–level) स्तरको गिद्ध संरक्षण एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको थियो ।
‘बर्ड कन्जरभेसन नेपाल’(BCN) को दीर्घकालीन अनुगमन र अनुसन्धानले नेपालमा ‘डंगर गिद्ध’ (White–rumped Vulture) को संख्यामा आएको तीव्र गिरावटपछि भएको उल्लेखनीय सुधारको महत्वपूर्ण प्रमाण उपलब्ध गराएको छ ।
हालैका अनुसन्धान र अनुगमनले गिद्धको संख्यामा निरन्तर वृद्धि, उच्च बाँच्ने दर र प्रजनन गर्ने गिद्धहरूको संख्यामा बढोत्तरी देखाएका छन् । यसले समन्वयात्मक र विज्ञानमा आधारित संरक्षण प्रयासहरूले संकटमा परेका प्रजातिहरूको संख्यामा आएको तीव्र गिरावटलाई उल्ट्याउन (सुधारतर्फ लैजान) मद्दत गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्दछ ।
नेपालमा गिद्धको संख्यामा भएको सुधार विशेष गरी महत्वपूर्ण छ किनभने विश्वभरि नै गिद्धका धेरै प्रजातिहरू संकटमा छन् । गिद्धहरूले जनावरका सिनोहरू छिटो सफा गरेर तथा रोगजनक जीवाणु र रोगको संक्रमणको जोखिम कम गर्न मद्दत गरेर पारिस्थितिक प्रणालीमा अत्यावश्यक सेवाहरू प्रदान गर्छन् ।
तिनको संरक्षणले जैविक विविधताको रक्षा मात्र होइन, स्वस्थ पारिस्थितिक प्रणाली, पशु स्वास्थ्य सुरक्षा र समुदायको कल्याणमा पनि योगदान पु¥याउँछ ।
उक्त पुरस्कारले बर्ड कन्जरभेसन नेपाल (BCN) का उपलब्धिहरूको कदर गर्दै नेपालमा गिद्ध संरक्षण कार्यलाई अझ सुदृढ बनाउँदै लैजान प्रोत्साहन समेत गरेको छ । पुरस्कारले नेपालमा गिद्धहरूको संख्यामा भइरहेको सुधारलाई निरन्तरता दिँदै यसलाई संरक्षणको एक दिगो र सफल उदाहरणका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।
नेपालमा गिद्धहरूको भविष्य सुनिश्चित गर्न हामी विज्ञानमा आधारित संरक्षण, प्रभावकारी नीति कार्यान्वयन, सुरक्षित पशु–चिकित्सा अभ्यास, सामुदायिक सहभागिता र बृहत् भू–परिदृश्यमा आधारित दृष्टिकोणहरू अपनाउन प्रतिबद्ध छौं, ईशाना थापाले भनिन् ।

