
काठमाडौँ ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार बाढीपछि फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षणमार्फत पहिचान गर्न बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना नजिकको रक्तसम्बन्धीको ताजा रगतको नमुना आवश्यक पर्नेछ ।
नमुना दिन चाहने परिवारले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जस्थित रोग परीक्षण प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।
विदेशमा रहेका आफन्तका हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित मुलुकमै डिएनए परीक्षण गराई त्यसको विद्युतीय प्रतिलिपि तुलना प्रयोजनका लागि नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
बाढीपछि पहिचान हुन नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक विधिबाट पहिचान गर्न डिएनए परीक्षण गरिने भएकाले सम्बन्धित परिवारलाई आवश्यक प्रक्रिया पूरा गर्न प्रहरीले आग्रह गरेको छ ।




