
नियात्रा
झिनुडाँडाको उकालो
ज्ञानेन्द्र विवश
पोखराबाट झन्डै दुई घण्टापछि नयाँपुलमा ओर्लिन्छु । अन्नपूर्ण आधार शिविरतिर जाने बाटो र गाडी पाइने ठाउँबारे नजिकैको पसलमा सोध्छु । भित्ताभरि एरो दिएर एबीसी लेखिएका चिन्हहरू देखिन्छन् । बाटोका ती संकेतहरू नै पदयात्रीका लागि मौन मार्गदर्शक बनेर उभिएका हुँदा रहेछन् ।
पसलेले दिएको जानकारीअनुसार अलि अगाडि बढेपछि एउटा गाडी रोकिराखेको देख्छु । त्यसका गुरुजीलाई खोज्दै जाँदा बल्ल फेला पार्छु । धेरै बेरको आग्रहपछि उहाँलाई मनाउँछु । अर्का एकजनासहित हामी दुई जना झिनुको फेदीतिर लाग्छौँ । बाटो ठाउँ–ठाउँमा बिग्रिएको छ । गाडी हल्लिँदै, उफ्रिँदै अघि बढ्छ । यात्रुको शरीरभन्दा पहिले बाटोले नै आफ्नो कठिनाइ चिनाइरहेको जस्तो लाग्छ ।
नयाँपुलबाट गुडेको झन्डै दुई घण्टापछि एउटा खोला छेऊ पुगेर रोकिन्छ । गुरुजी भन्छन्– ‘तपाईहरू ओर्लिनुहोस् । अब उहाँ बाटो हिँडेर ऊ माथिको डाँडामा अर्को गाीड पाइन्छ । त्यसमा सामरुङसम्म जानुहोस् ।’
हामी यात्री एकै स्वरमा भन्छौँ– ‘त्यहाँसम्म यो गाडी जाँदैन र ?’
गुरुजी भन्छन्– ‘जाने भए त म लगिहाल्थेँ नि । माथि बाटो बनाइरहेको छ ।’
चर्किएको घाम, धुलाम्मे उकालो बाटो, ओहो पदयात्राको खास सास्ती बल्ल सुरु हुन थाल्छ । धुलोले लुगा र अनुहार चिन्नै नसकिने भइसक्छ । डेढ घण्टाको असिनपसिन हिँडाइपछि बल्ल टाकुरैमा पुगिन्छ । त्यहाँ केही मझौला माइक्रो रोकिराखेका रहेछन् । हामी पुग्नासाथ सिट पूरा भयो भनी कोचकाच सबैलाई राखेर गाडी हुरर्र तेर्सो लाग्छ । केहीबेरमा ओरालो झर्छ । घुम्ती आउँछ । साँघुरो बाटो अर्कोलाई बाटो दिँदा धन्न गाडी ठोक्किदैन ।
गाडी र बाटोको घम्साघम्सीपछि सामरूङमा म ओर्लिन्छु । यहाँबाट अब उता सडक छैन रहेछ । हुन त भर्खरै आएको बाटो पनि नाम मात्रैको सडक हो । गाडीले उफारेर नै आधा जिउ पार्दो रहेछ । अलिकति तेर्सो बाटो हिँडेपछि लामो ‘झिनु झोलुङ्गे पुल’ आउँछ । त्यहाँबाट माथि ठाडो उकालो अबको बाटो रहेछ ।
झिनुको पुलवारि चिया पिएपछि पुल तरेर उकालो बाटो लाग्छु । भर्खरै खुलेका केही होटल पार गर्दै जाँदा होटलहरू झन धेरै भेटिन्छन् । निकै सजिसजाउका आकर्षक उस्तै । बाटो, बार्दली, आँगन, झ्याल जताततै बोटविरुवाले सजाइएका छन् । वसन्त याम भएकाले लालीगुराँसका रङले जङ्गललाई कतै रातो, कतै गुलाफी बनाएका छन् । यात्राको थकाइलाई
फूलहरूले बाटैभरि सानो–सानो सान्त्वना दिइरहेका छन् ।
झिनुको ठाडो उकालो घाँटी तन्काएर हेर्छु ।
बाफ रे ! निकै लामै छ बाटो ।
जङ्गलको बाटोमा मानिसहरू ओर्लिरहेका देखिन्छन् । कोही थाकेका पाइला सार्दै उकालो चढिरहेका छन्, कोही लौरो टेक्दै माथितिर उक्लिरहेका छन् । उकालोको टाकुरामै होटलहरू देखिन्छन् । पल्लो क्षितिजको कुइनेटोमाथि अन्नपूर्ण हिमालको धमिलो आकृति एकछिन चियाएजस्तो हुन्छ ।
म उभिएर आँखाले नियाल्न खोज्छु । तर हिमाल छिनमै बादलभित्र लुक्छ । केहीबेर हिमाल र मेरो लुकामारी चल्छ । देखिन्छ, हराउँछ; फेरि देखिन्छ, फेरि बादलभित्र बिलाउँछ । मानौँ हिमाल मलाई आफ्नो नजिक आउनुअघि नै धैर्यको परीक्षा लिइरहेको छ ।
अब म बिस्तारै उकालो चढ्न सुरु गर्छु । झिनुको होटललाई पछाडि छोडेर जङ्गलको बाटो लाग्नुअघि एउटा घरको बाहिर एक जना बा घाँसको भारी बिसाएर सुस्ताइरहेको देख्छु । भाङ्ग्राको लुगा लगाएका ती व्यक्तिलाई म गुरुङ भन्ठान्छु, तर बाहुन पो रहेछन् ।
तातो घाम लागिरहेको छ । गर्मीको बेला हावा पनि चिसो होइन, तातो चलिरहेको छ । उकालोले शरीर तताइरहेको छ, घामले निधारबाट तर्तरी पसिनाका धारा बग्न थालिसकेका छन् । यस्तो बेला बाटोको अनुभव जान्ने स्थानीय मान्छेसँग केही कुरा गर्न पाए यात्रा अलि सहज हुन्छ कि जस्तो लाग्छ ।
बारीबाट आउँदै गरेका एक जना स्थानीय देख्छु । म उनीसँग केही जानकारी पाउन उत्सुक हुन्छु ।
तिनैले मलाई सोध्छन्– ‘बेस क्याम्पसम्म जाने होला भाइ, तपाईं ?’
म भन्छु– ‘ज्यू, बेस क्याम्पसम्म हो । बाटो कस्तो छ बाजे ? मैले सजिलै पुगेर सुविस्ताले फर्किन सकूँला ?’
मेरो कुरा सुनेर उनी हाँस्दै भन्छन्– ‘के भन्छौ भाइ ! यस्तो जवान मान्छेलाई केको गाह्रो हुनु नि ! बाटोमा कतै अल्मलिनुपर्दैन । सुविस्ताले पुगेर दुई दिनमै फर्किन सक्छौ ।’
बाजे मुसुक्क हाँस्छन् । उनका धोते दाँतमा किराले खाएका काला दाग देखिन्छन् । नाकैमा नमीठो हरक पस्छ । त्यो गन्धले नाक खुम्याउँछु । तर घिन मानेर नहुँदो रहेछ । उनको त्यही हाँसोमा उमेरका धेरै वर्ष झल्किएको अनुमान गर्छु । यी बूढाले निकै उमेर खाएका होलान् भन्ने लाग्छ ।
म उनी नजिकै सरेर बिस्तारै सोध्छु– ‘बाजेको उमेर निकै भयो ? भत्ता खान थाल्नुभयो ?’
उनी अफसोस मान्दै भन्छन्– ‘भत्ता खाने उमेर भएर के गर्नु, त्यो नागरिकताको खोस्टोले दिएन । पचहत्तर भइसकेँ, तर कागजमा सत्तरी नै पुगेको छैन भन्छन् । कहाँ भत्ता पाउनु र ? भत्ता खाने बेलामा मास्तिरै गइसक्छु होला बाबु ।’
उनको हाँसो एकछिनमै रोकिएर त्यहाँ आँसुको भेल बग्न थालेजस्तो लाग्छ । उमेर बढेको छ, तर कागजमा उमेर बढेको छैन । सरकारी कागजको एउटा अङ्कले मानिसको वास्तविक उमेरलाई नकारिदिएको कथा उनका शब्दमा सुनिन्छ ।
त्यसपछि उनले आफ्ना विगत दिनका पाना पल्टाउन थाल्छन् । कुरा गर्दै जाँदा थाहा हुन्छ, यहाँ केही घर मात्र बाहुन–क्षेत्रीका रहेछन्; अधिकांश स्थानीय बासिन्दा गुरुङ समुदायका रहेछन् । तापनि झिनुको डाँडाको फेदी उनीहरूको प्यारो ठाउँ हो ।
बाजेले देख्दादेख्दै यो ठाउँले धेरै फड्को मारेको छ । पहिले यहाँ बाटो यस्तो थिएन । अहिले सडक, पुल, होटल र लज बनेका छन् । अझै नयाँ भवन बन्ने र होटलहरू खुल्ने क्रम भइरहेको देखिन्छ । पहिले पोखराबाट हिँडेर आउँदा दुई दिन लाग्थ्यो । टिहाउसको त कल्पनै थिएन । अहिले भने पदयात्रीको पाइतालाले बाटोको स्वरूप नै फेरिएको छ ।
उनी हातले माथितिर देखाउँदै भन्छन्– ‘हामी खेतीपाती गर्छौँ, तर खासै अन्नबाली यहाँ राम्रो हुँदैन । गाईबाख्रा पाल्ने, त्यसलाई बेचेर घरखर्च टारिन्छ ।’
उनको कुरामा पहाडको जीवनको सादगी मात्र होइन, त्यसको कठोरता पनि सुनिन्छ । माटो छ, तर सबै ठाउँमा अन्न फल्दैन । घाँस छ, त्यसैले पशुपालन सम्भव हुन्छ । पहाडले जे दिन्छ, त्यहीसँग जीवन जोडेर यहाँका मानिसहरू बाँचिरहेका छन् ।
‘यो ठाडो उकालो बाटो काट्न मलाई कति लाग्ला बाजे ?’ उकालो बाटोतिर आँखा डुलाउँदै सोध्छु ।
मेरो कुरा सुनेपछि बाजे भन्छन्– ‘धेरै लागे एक घण्टा । म बूढो त भारी बोकेर आधा घण्टामै पुग्थेँ । अब त्यसरी हिँड्न सकिँदैन ।’
उनको आत्मविश्वास देखेर म मुसुक्क हाँस्छु । आफूलाई उकालो लामो लागिरहेको छ, बूढालाई भने त्यही बाटो आफ्नो घरआँगनजस्तो लाग्छ । यात्रुको लागि कठिन बाटो स्थानीयका लागि दैनिकी बनिसकेको हुन्छ । गुरुङ समाजमा बसेर गुरुङकै भेषभाषा र जीवनशैलीमा पनि उनले आफूलाई ढालिसकेका रहेछन् ।
यो क्षेत्र मुख्यतः गुरुङ र मगर समुदायको बसोबास भएको क्षेत्र हो । बाटोमा पर्ने गाउँहरूमा परम्परागत ढुङ्गाले बनेका घरहरू समयसँगै बिस्तारै हराउँदै गएका छन् । तिनको ठाउँमा आधुनिक संरचना र पर्यटकलाई लक्षित गरेर बनाइएका ‘टिहाउस’ तथा ‘लज’ हरू देखिन्छन् ।
यहाँका मानिसहरू मुख्यतः कृषि, पशुपालन र पर्यटनमा आश्रित छन् । पर्यटनले पहाडको पुरानो जीवनमा नयाँ बाटो खोलिदिएको छ । गुरुङ संस्कृतिको झलक, परम्परागत पोसाक, बौद्ध धर्मको प्रभाव देखिने गुम्बा र स्थानीयको आत्मीय आतिथ्यले पदयात्राको अनुभवलाई अझ अर्थपूर्ण बनाउँछ ।
मोदी खोला यस यात्राको निरन्तर सहयात्री हो । अन्नपूर्ण हिमालको फेदीबाट बग्दै आउने यसको आवाज कहिले टाढाबाट सुनिन्छ, कहिले बाटोको छेउमै आएर साथ दिन्छ । हिमालको हिउँ पग्लेर आउने पानी भएकाले खोला चिसो र सफा देखिन्छ । मानौँ हिमालले आफ्नो चिसो श्वास पानीमा मिसाएर तल पठाइरहेको हो ।
बाजेले बाटोको विवरण पनि बताउँछन्– ‘यहाँबाट छोम्रोङको ओरालो झरेपछि सिनुवाको उकालो आउँछ । त्यसपछि फेरि अलिकति अप्ठ्यारो ओरालो झरेपछि बाँसैबाँस भएको ‘बेम्बो’ आउँछ । बेम्बोमा पदयात्रीका लागि खाने–बस्ने सुविधा भएका केही होटल छन् । यहाँ जताततै बाँसका झाङ देखिन्छन् । मोदी खोलाको आवाज आउँछ । झ्याउकिरीले कानै खान्छ ।’
उनी बोलिरहँदा मेरो मनले बाटोको नक्सा बनाइरहेको हुन्छ । छोम्रोङ, सिनुवा, बेम्बो, दोभान, हिमालय, देउराली हुँदै माछापुच्छ्रे आधार शिविर र अन्ततः अन्नपूर्ण आधार शिविर । प्रत्येक नाम अब मेरो अगाडिको बाटो मात्र होइन, प्रतीक्षाको एउटा खुड्किलो बन्दै जान्छ । म झिनुडाँडाको उकालो लाग्छु ।

