
काठमाडौँ। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं उपत्यकामा आज (आइतबार)पनि विभिन्न ७ स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण हुने भएको छ ।
शनिबार काठमाडौं जिल्लाका ४ स्थानबाट विभिन्न कम्पनीका करिब ६ हजार ग्यास सिलिण्डर करिब ९० वटा गाडीमार्फत बिक्री गरिएको थियो । त्यसैको मोडललाई निरन्तरता दिँदै आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ७ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल आयल निगमले जनाएको छ ।
उपभोक्ताले ग्यास खरिद गर्न जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।
निगमका अनुसार आइतबार टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बूढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरबाट ग्यास बिक्री गरिनेछ ।
निगमले सार्वजनिक गरेको विवरणअनुसार टेकुमा नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम र सगर ग्यास बिक्री वितरण हुने छ ।

पशु सेवा शाखा चपली बूढानीलकण्ठमा नेपाल, एचपी र भानु तथा राधास्वामी कीर्तिपुरमा नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीकृष्ण, साइबाब र श्रीमाया ग्यास पाइने छ ।
जुडो हल नयाँ बजारमा नेपाल, एचपी र ओम तथा तारकेश्वरमा नेपाल र एचपी ग्यास बिक्री वितरणको प्रबन्ध मिलाइएको निगमले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास विक्री वितरण हुने छ ।
यसैगरी भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टरसुगम र एसटीसी ब्रान्डका सिलिण्डर बिक्री वितरण गरिने नेपाल आयल निगमको सूचनामा उल्लेख छ ।
