
निबन्ध
प्रेम
श्रीबाबु कार्की
अक्सर मानिसहरू यही कुरा भनिरहेका हुन्छन् – ‘प्रेम अमर विषय हो ।’ कसले भन्न सक्छ र ‘-प्रेम अमर विषय होइन, यो क्षणिक र क्षणभङ्गुर कुरा हो ?’
प्रेम निरर्थक हुँदै होइन । यो सार्थक र सर्वब्यापि रूपमा फैलिएको छ,लहरिएको छ, झांगिएको छ अनि अनन्त अनन्तसम्म फैलिरहनेछ / फूलिरहनेछ ।
यद्यपि औसत मानिसहरु घृणाका कुटिल आँखाले हेर्छन – प्रेमलाई । त्यो सर्बथा भ्रम हो, भ्रान्ती हो ।
मलाई यो घोर आश्चर्य अनि पुर्वाग्रही दृष्टिकोण हो भन्ने लाग्छ । प्रेमलाई घृणाको आँखाले हेर्नुहुँदैन । प्रेमलाई प्रतिशोधको आँखाले हेर्नू हुदैन । प्रेमलाई स्वार्थका आँखाले हेर्नु हुँदैन । प्रेमलाई बिचार / वाद / सिद्धान्त / रङ्ग / जात / धर्म / संस्कृति कुनै पनि कुराहरू भन्दा माथि रहेर सोच्नुपर्छ । प्रेम निर्वन्ध हुन्छ । प्रेम स्वतन्त्र हुन्छ । प्रेम प्रकृति जस्तै सर्वाङ्ग छ । सर्वाङ्ग छ र त सुन्दर छ – प्रेम।
हामी स्वार्थी छौं । प्रेम निस्वार्थ छ । जव हामी स्वार्थ राख्छौं र प्रेममाथि नकारात्मक सोच राख्न थाल्छौं । प्रेम आँखाको गहिराइमा प्रतिबिम्बित हुन्छ । प्रेम हृदयको अन्तरकुन्तरमा अनुगुन्जित हुन्छ । प्रेम हरेक जीव-जीवात्माको जीवनसंग लहरिरहेको हुन्छ ।
– प्रेममा घृणा हुन्छ । घृणामा प्रेम हुन्छ । जसरी प्रेमको प्रतीक गुलाफको फूलमा काँडा र फूलको अस्तित्व हुन्छ । काँडा र फूलमा सापेक्षता छ प्रेमको ।
मानवीय जीवन त झनै प्रेमको अमुल्य पर्याय हो । हामी अनुपम प्रेमको विकल्पमा पलपलको पनि परिकल्पना गर्न पनि असमर्थ हुन्छौं ।
म हेर्छु- प्रकृतिका हरेक रङ्गहरु जहाँ छताछुल्ल प्रेम फैलिएको छ । रातसंग दिनको प्रेम छ । दिनसंग रातको प्रेम छ । साँझसंग बिहानको प्रेम छ । प्रेमको लहरा लहरिएको जहीँ त्यहीँ ।
प्रेम प्रकृतिको अनुपम बरदान मात्रै नभएर, यो ब्राह्मण्डको गतिलाई थाम्ने एउटा दर्बिलो मीयो पनि हो । एकै छिन आफ्ना दुई नेत्रलाई चिम्म गर्नुहोस् र प्रेमबिनाको यो सृष्टि कल्पना गर्नुहोस त । यो पूर्णरूपमा असम्भव छ । प्रेमबिनाको संसार कल्पनै गर्न सकिन्न ।
यो संसारमा कुनै एकपल मात्रै प्रेम रहेन भने, प्रेम भएन भने – आमाको न्यानो वात्सल्यमय काखमा बसेर स्तनपान गरिरहेको अबोध शिशु फ्यात्त भुइँमा झर्छ । यो अन्तरिक्षमा प्रेमले झुन्डिएको पृथ्वी झुत्रुक्क कुनै गडतिरमा झर्छ र समाप्त हुन्छ ।
प्रेम छ प्रेत्येक हृदयमा फरक । प्रत्येक मस्तिष्कमा फरक । यो बिज्ञानको प्रयोगशालामा नापिने/ जाँचिने विषय होइन ।
प्रेम गहिरो छ – नाप्न नसकिने अथाह गहिरो ।
प्रेम अजर/अमर छ – मार्न नसकिने ।
प्रेम अनुपम छ – दाँज्न नसकिने ।
प्रेम अपार छ – कल्पनै गर्न नसकिने ।
प्रेम अमुल्य/अतुल्य छ – मुल्य नै गर्न नसकीने । प्रेमको हिसाब अथाह छ, अनन्त छ । कुनै दार्शनिकको परिभाषाबाट बुझ्न सकिँदैन प्रेम । कुनै शब्दका अजस्र स्रोतबाट पढ्न सकिँदैन प्रेम । म हेर्दिन प्रेमलाई एउटै कोणबाट । यसका अनन्त-अनन्त आयामहरु छ्न ।
प्रेम, कविको गजल वा कविता होइन, हुँदैहोइन । निबन्ध वा कथा होइन । नत कुनै कलाकारको सुन्दर सृजना वा संगीतको कुनै हृदयविदारक अलाप नै प्रेम हो ?
प्रेम सृष्टिको एउटा अद्वितीय झंकार हो । जसको कुनै रुप र सार छैन । ब्राह्मण्डको सुन्दर र अमुर्त सौन्दर्य मात्रै हो प्रेम ।
यसका रङ्गहरु अथाह छन । यसका स्वरूपहरु अथाह छन । यसका लयहरु अथाह छन । यसका वादहरु अथाह छन । यसका रुप र स्वरूपहरु अथाह छन । शैलीहरु अथाह छन । यसका नीति र नियमहरु अथाह छन । यो अमुर्त र अदृश्य छ ।
हाम्रा प्राणीशास्त्रीहरु बिपरित लिंङ्गीप्रतिको अपेक्षा ( प्राप्ति )लाई प्रेम भन्छन् । यो सर्बथा गलत हो । प्रेम अनुभुति मात्रै नभएर यो सृष्टिको अदभुत चमत्कार पनि हो ।
प्रेमलाई संसारको कुनै शास्त्रले चिनाउन सक्दैन । बुझाउन सक्दैन । यो संसारका हरेक मानिसको भावना/ अनुहार /दृष्टिकोण /स्वभाव / चाहना जस्तै भिन्न र पृथक हुन्छ । जसरी सृष्टिका सात अर्ब मानिसका सबै कुरा फरक छ्न । प्रेम पनि हरेक जीवाशेषमा नितान्त फरक छ ।
हरेक जीवको अस्तित्वमा प्रेम अंकुरण भएको हुन्छ । तसर्थ प्रेम जीवन हो , जीवन प्रेमको अस्तित्व । सृष्टि र सिर्जना दुबैको एकाकार भावको समष्ठिगत रुप हो -प्रेम ।
प्रेमको परिकल्पना हुँदैन्थ्यो भने यो प्रेमिल सृष्टि हुने नै थिएन । कुनै जीव-जीवाशेषको जन्म हुने थिएनन । जन्मको मुल स्रोत पनि प्रेम नै हो । प्रेमले नै जन्माएको छ हामीलाई । प्रेमले नै बचाएको छ हामीलाई । जन्मको पहिलो पाइतलादेखि हामी प्राणकाे अन्तिम संघार, चिताको नजिक पुगिरहँदा समेत प्रेमकै तरङ्गले तरङ्गीत भइरहेका हुन्छौं ।
जीवनभर हामी भौतिक संसारमा रमाउने कोसिस गर्छौं । मेरो परिवार/ मेरो जमिन / मेरो घर / मेरो सम्पत्ति / मेरो आफन्त / मेरो पद…….! आदि आदिभन्दै जपिरहेका हुन्छौं । मानिसभित्र लालचीको पिरामिड नै छ । खाँदा,बस्दा,उठ्दा, हिड्दा जत्तिखेरै स्वार्थ सोचिरहेको हुन्छ । लालचमा प्रेम अंकुरण हुँदैन । प्रेम त निष्ठाको मलिलो ड्याङमा मौलाउँछ ।
‘मेरो’ भन्ने भावनाले तपाईं हाम्रो जीवन कहिल्यै पूर्ण बन्दैन । अपूर्ण नै रहन्छ । यो पृथ्वी, ग्रह, ताराहरु, ढुङ्गा, माटाे, रुख-बिरुवा, खोला -नाला, हिमाल, जीव-जनावर, मानिसहरु, आकाश, धर्ती, क्षितिज, आगो, पानी, सुख दु:ख सबै सबैलाई समानान्तर प्रेम गर्न सक्नु पर्छ नत्र हाम्रो जीवन निरर्थक हुन्छ र प्रेम केवल नाटकमा मात्रै सिमित हुन्छ । यसले हाम्रो जीवन रङ्गमञ्चमा अभिनय गर्ने पात्रझैँ कुनै पलभरको अस्तित्व मात्रै बाँचिरहेका भान गराउँछ ।
हामी भ्रममा छौं – प्रेम प्राप्ति हुने विषय होइन । यो त अनुभूति मात्रै हो । हामी प्राप्तिलाई प्रेम र अप्राप्तीलाई घृणाका दृष्टिकोणले हेर्छौं अनि जीवनलाई निरर्थक बनाउनेतर्फ लैजान्छौं । जीवन सार्थक बनाउन प्रेमलाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ । हरेक बर्ष आत्महत्याका कैंयौ समाचार सुन्नु पर्छ । आत्महत्याको प्रमुख कारण प्रेम नै हो । हामीले प्राप्तिलाई मात्रै प्रेम भनिदिँदा आत्महत्याको ग्राफ संसारभर बढीरहेको छ ।
हाम्रा महाकवि देबकोटाले इन्द्रीयहरुले गर्नेभन्दा बढी प्रकृतिलाई प्रेम गरे । आफू र आफ्नालाई भुलेर देवकोटाले जन्मनुको सार्थकता उजिल्याए । तसर्थ प्रेम एउटै रूप र प्रकृतिको हुन्न । काेटी- काेटी छन प्रेमको – रूप र सौन्दर्यको सुगन्ध । अथाह छन – गुण र गौरव । प्रेम आश्वादनमा छ भिन्न-भिन्न । मूल्यमा छ अनेकानेक ।
हजार तत्त्व र तरहले निर्मित छ -प्रेम ! असंख्य रङ्ग- रोगनले फुलेको छ -प्रेम ! अथाह सुगन्धका सुवासले मगमगाएको छ – प्रेम ! यो अनन्त-अनन्त आयामहरुमा फैलिएको प्रकृतिको निर्विवाद शाश्वत सत्य हो – प्रेम !
– प्रेममा गतिशीलताको वैभव छ
– प्रेममा सृजनाको सुगन्ध छ
– प्रेममा अस्तित्वको सार छ
– प्रेममा जीवनको सौन्दर्य छ
– …………….!
सबथोक हो प्रेम । प्रेम मानिसहरुले कोरेको आचारशास्त्रमा बसेर गरिन्न । गरिनु पनि हुन्न । प्रेम कुनै शास्त्र /दर्शनले मार्गनिर्देशीत हुनुहुन । सबै दर्शन र शास्त्रबाट निर्बन्धित छ – प्रेम । मानवीय चेतनाको विशिष्ट रूप प्रेम न भोग्य र न भोज्य बस्तु हुन । हामी प्रेमलाई भोग्य र भोज्य साधनका रूपमा ब्याख्या गरिरहेका हुन्छौं ।
-प्रेमको यस्तो नियम छ, जहाँ कुनै नियम नै छैन । यो नदि जस्तै छ – सर्वाङ्ग । यो प्रकृति जस्तै छ – उदाङ्ग । प्रेमका हरेक धाराहरु,हरेक उप-धाराहरु र दफ्फाहरु स्वतन्त्र र सार्बभौम छन । यो नदिले जस्तै परिवेश अनुसार आफ्नो बाटाे आफैं कुँदेर हजारौं किलोमीटरको यात्रा तय गर्छ ।
तृष्णाले प्रेम उत्पन्न गर्दैन । तृष्णामा केवल स्वार्थ हुन्छ । निष्ठा, त्याग, समर्पण र साधनाले अभ्यर्चना गर्नुपर्छ प्रेमलाई । प्रेमका अर्थ अनन्त छन । प्रेमका अनेकानेक शास्त्रहरु छन । प्रेम भौतिक बस्तु होइन, जो सजिलोसंग लिन र दिन सकिने ! प्रेम अमुर्त हुन्छ – जसलाई बुझ्न हम्मे हम्मे पर्छ । प्रेम अदृश्य हुन्छ – जसलाई हाम्रो दुईचच्क्षुले देख्न सक्दैन । यसलाई त हृदयको तेस्रो आँखाले हेर्ने होइन, अनुभव गर्न सक्छ ।
प्रेम मस्तिष्कबाट सुरु हुन्छ र मानवीय इन्द्रियहरु मार्फत मानिसको भावनामा सिंचित हुन्छ । प्रेम भौतिक शरीरबाट नभएर आध्यात्मिक शक्तिबाट मानिसको जीवनलाई प्रज्ज्वलित गर्ने उच्च चेतनाको गतिशील तरङ्ग मात्रै हो ।
प्रेम हुनु र नहुनुमा खास अर्थ छैन ।
– प्रेम नहुँदा /नहुँदै पनि हुनसक्छ ।
– प्रेम हुँदा /हुँदै पनि नहुनसक्छ । यो त काल जस्तै अदृश्य छ । अदृश्य हुँदाहुँदै पनि सत्य छ । प्रेम आनन्दहरुको पनि सर्वोत्त्म आनन्द हो ।
प्रेम त जहीँ तहीँ हुन्छ । आकाशमा उडिरहेको चङ्गा चुँडिएर बिजुलीको पोलमा अड्किए, चङ्गालाई भुइँको अगाध प्रेम हुन्छ । आमाको भ्रुणमा हुर्किरहेको शिशुलाई पृथ्वीको स्पर्शमा छुट्टै प्रेम हुन्छ ।
प्रेम जीवनको गीत, जीवनको गति, जीवनको गौरव र जीवनको सौरव पनि हो । हामी प्रेमको अतृप्त तृष्णा लिएर जीवनभर भौंतारीरहेका हुन्छौं । कहिले सपनाहरुका विशाल कुन्युहरुमा कुम्मीरहेका छौं त कैले बिपनामा तरङ्गिदै-तरङ्गिदै अनन्त क्षितिजमा दाैडीरहेका हुन्छौं । मनलाई पानी जस्तै तरल बनाएर बगिरहनु / सुशाई रहनु पनि त प्रेम नै हो । गतिशीलताको अर्को परिचय हो- प्रेम !
हरेक धर्ममा प्रेम हुन्छ । हरेक दर्शनमा प्रेम हुन्छ । हरेक बिचारमा प्रेम हुन्छ । हरेक जातमा प्रेम हुन्छ । हरेक रङ्गमा प्रेम हुन्छ । हरेक लिङ्गमा प्रेम हुन्छ । प्रेम नभएको संसारमा कुनै ठाँउ छैन ।
धर्मको पनि धरोहर हो -प्रेम – दर्शनको पनि दरवार हो – प्रेम । बिचारको पनि बीउ हो – प्रेम । जातको पनि जननी हो – प्रेम । रङ्गको पनि रश्मि हो – प्रेम । लिङ्गको पनि लिला हो – प्रेम । मानिसका मन मनलाई जाेड्ने रशायन पनि त प्रेम नै हो ।
सोच्छु – हामी धर्ममा बिभाजित छौं । रङ्ग, बिचार, झन्डा, भूगोल …..? के-केमा बिभाजित छौं के के ? यी सबै बिभाजनलाई जोड्ने यो अचुक रशायन ‘प्रेम’ कस्ले आबिस्कार गर्यो होला ? कसरी निर्माण भयो होला – प्रेमको दर्शन ?
प्रेमको न कुनै सिमाना छ ! न कुनै साँध छ ! यो त धर्मका किल्लाहरु भत्काउदै हिंड्छ । देश- देशका सिमानाहरु मेटाउँदै हिंड्छ । रङ्गका भ्रमहरु सिकाउँदै हिंड्छ । बिचारका बेमेलहरु फुकाउँदै हिंड्छ । द्वन्द्वका दरारहरुमा एकताका पाठ पढाउँदै हिंड्छ ।
प्रेमको एउटै सर्वस्वीकार्य मन्त्र छ –
“सर्वे भवन्तु सुखिनं: सर्वे सन्तु निरामया:।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिन्तु दु:खभाग्जन:।।
****








