
काठमाडौँ। होटेल संघ नेपाल (हान)ले भक्तपुरका अग्रणी पर्यटन व्यवसायी तथा भिलेज हाइल्याण्ड रिसोर्टका प्रवन्ध निर्देशक रामसुन्दर बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरेको छ ।
उनी लामो समयदेखि पर्यटन तथा आतिथ्य क्षेत्रसँग आबद्ध बके होटल व्यवसायीबीच समन्वय, सहकार्य र संस्थागत एकताको पक्षमा सक्रिय रूपमा क्रियाशिल व्यवसायी हुन् ।
संघले बकेको नेतृत्वमा बागमती प्रदेशका होटल व्यवसायीलाई एकीकृत गर्दै पर्यटन प्रवद्र्धन, व्यवसायिक हित संरक्षण तथा संगठन सुदृढीकरणका अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।
होटेल संघ नेपालका अध्यक्ष विनायक शाहद्वारा असार १५ गते जारी गरिएको मनोनयन–पत्रअनुसार असार १४ गते बसेको संघको कार्यसमिति बैठककोले बकेलाई बागमती प्रदेश तदर्थ समिति अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । मनोनयनसँगै संघले बकेलाई नयाँ जिम्मेवारीका लागि बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

संघले जारी गरेको पत्रमा बकेको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व सुनिश्चित हुने गरी समावेशी, प्रभावकारी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरिएको छ । साथै, प्रचलित विधान तथा कार्यविधिअनुसार प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूसँग समन्वय गरी प्रदेश समिति गठन गर्न, पदाधिकारी तथा सदस्यहरूको नामावली तयार गरी संघको सचिवालयमा उपलब्ध गराउन पनि आग्रह गरेको छ ।


