
यात्रा कविता
शैलुङ्ग: त्रासको गर्भबाट झुल्केको बिहान
किशोर पहाडी
कालो पछ्यौराले छोपेको
अन्धकार यात्रा —
साँघुरो सड़क,
बसको गडगडगड गर्जन,
पाङ्ग्रा भीरको छेवैमा पुगेको छ
तल पातालको मुख झैँ खोंच,
माथि निस्पट्ट पहाड
शून्यको गर्भगृहमा
काँपिरहेका आत्माहरू ।
प्रत्येक मोडमा त्रासको छाया
प्रत्येक झट्कामा जीवनको प्रश्न,
स्रष्टाहरू मौन हिउँ झैँ जमेका,
आशाको एउटा मसिनो सूत समातेर
आफ्नै अनुहार अँध्यारोको ऐनामा हेरिरहेका ।
अँध्यारोमा देखिन्थ्यो केवल
हेडलाइटको पातलो रेखा,
जस्तै जीवनमा आशा –
“बिहान उज्यालो देखिन्छ कि ?”
बिहान देखिएको
हिमश्रृङ्खलाले जब रमायो मन,
गाइएछ शैलुङ्गको सुन्दरताको गान
बनाइएछ भिडियो ।
जस्तै जीवनमा आशाको उदय भयो,
रातको त्रासलाई चिर्दै
नयाँ अध्याय शुरू भयो —
चित्रकारको क्यानभासमा
रङ्गहरूको उत्सव झैँ सिङ्गारिएर ।
शैलुङ्गको आकाश –
नीलो र विशाल
जस्तै मुक्त आत्माको संसार
जहाँ चीलहरू उड्दै थिए
स्वतन्त्रताको प्रतीक बनेर ।
रातको त्रासपूर्ण यात्रा
बिहानको उज्यालोमा भएछ रूपान्तरण
जीवनका पीडाहरू
सफलताका गीतमा बदलिए छन् ।
जब स्रष्टाहरूले शैलुङ्गको ‘ग्रेटवाल’ मा पाइला टेके,
सुनौलो आभाले सय थुम्काका शिरमा टीका लगाइदियो।
शैलुङ्ग — प्रकृतिको एउटा जीवन्त गहना,
जहाँ हावाका लहरहरूले कानमा सुस्तरी भन्दै थियो —
“अझै माथि आऊ, अझै भित्र हेर!”
हो,
धानका स्वर्ण थुप्रा झैँ देखिने सय थुम्काहरू
त्यो दिन बादलको घुम्टो उघारेर
शान्तिको मन्त्र जपिरहेका थिए ।




