
काठमाडौँ। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
चन्डीगढमा गएराति भएको दोस्रो क्वालिफायर खेलमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनल पुगेको हो।
गुजरातले २१५ रनको लक्ष्य ३ विकेट गुमाएर ७ बल बाँकी छँदै पूरा गरेको थियो।गुजरातका लागि कप्तान शुभमन गिलले शतक प्रहार गरे।
उनले ५३ बलमा १५ चौका र ३ छक्का प्रहार गरी १०४ रन बनाए। ओपनर साई सुदर्शनले ३२ बलमा ८ चौका र १ छक्का प्रहार गरी ५८ रन बनाए।वासिङ्टन सुन्दरले ९ बलमा १६ रन जोडे। जोश बट्लर ९ र राहुल टेवाटिया १७ रन बनाएर नट आउट रहे। बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र ब्रिजेश शर्माले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। वैभव सूर्यवंशीले ९६ रन बनाए। उनले ४७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे।रवीन्द्र जडेजा ३५ बलमा ५ चौका र १ छक्काको मद्दतबाट ४५ रन बनाउँदै नट आउट रहे। डोनोवन फरेरा ११ बलमा ३८ रन बनाउँदै अविजित रहे। कप्तान रियान पराग ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ गुजरातका कगिशो रबाडा र जेसन होल्डरले २/२ तथा मोहम्मद सिराज र प्रशिद कृष्णले १/१ विकेट लिए।
गुजरातले उपाधिका लागि अब रोयल च्यालेन्जर्स बेंग्लुरूसँग खेल्नेछ।

