काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।
यसैगरी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस हुने कार्यक्रम रहेको पनि बताइएको छ ।




