
मुक्तक
ज्ञानु दाहाल
१.
नेपालमा सबथोक छ महान मान्नुपर्छ
आधा यता आधा उता छन् जहान मान्नुपर्छ
रोजगार र युवा देशमै भेटिने हो भने
जगतकै सुन्दर हुने कहान मान्नुपर्छ !
२.
सयौं भिडमा खोज्थें तँलाई म
अरु छाडेर ढोग्थें तँलाई म
के मात लागेर घात गरिस नि
अति आत्मीय सोच्थें तँलाई म!
३.
देखियो तिम्रो चाला पनि हेर
गज्जब छ है ताला पनि हेर
तन तिम्रो यहाँ मन कता हो
बुझिन तिम्रो खाला पनि हेर!
४.
चाहिएन साथ अब बेर्न छोडिदिन्छु
हेर्नै हुन्न भन्छौ भने हेर्न छोडिदिन्छु
तड्पाएर किन हो र घिटिघिटी पार्ने
भनेर त हेर सास फेर्न छोडिदिन्छु!
५.
मात्रा खुस्किनु हुन्न तिम्रा रौं ठाडा हुन्छन्
केही बोलौं त बोलेका कुरा छाडा हुन्छन्
दुवैमा थोरै त्यागको भावना भए पो
सम्बन्ध हाम्रो आत्मीय अनि गाडा हुन्छन् !
