
काठमाडौं ।नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
जारी सचिवालयको आठौं बैठकमा शनिबार बोल्ने क्रममा उनले अध्यक्ष ओलीबाट अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका हुन्।
‘अध्यक्ष ओली अब तपाईंले राजीनामा दिनुस्, तपाईंबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए।
अध्यक्ष ओलीले पार्टी पुनर्गठनका पक्षमा उठेको आवाजलाई सम्बोधन गर्नुपर्ने र निकास दिनुपर्ने धारणा उनले राखेका थिए।
आजको बैठकमा ९ जनाले धारणा राखेका थिए। सचिव महेश बस्नेतबाहेक कसैले पनि अध्यक्ष ओलीको बचाउ नगरेको पदाधिकारीको भनाइ छ।
सचिव पद्मा अर्यालले पनि नेतृत्वले सोचेकोजस्तो अवस्था तल नरहेको भन्दै सुधारको खाँचो औंल्याएकी थिइन्।
‘माथिबाट हेर्दा जस्तो देखिन्छ, तल त्यस्तो छैन,’ उनको भनाइ थियो। आजको बैठकमा सचिव महेश बस्नेत कठोर सुनिएका थिए।




