
कविता
सपथको दिन—प्रधानमन्त्रीलाई अग्रिम शुभकामना (तेस्रो पत्र)
सुषमा आचार्य ‘अंशु’
प्रिय प्रधानमन्त्रीज्यू,
आज तपाईंले लिन लागेको सपथ
केवल संवैधानिक औपचारिकता होइन
यो समयको नदी किनारमा राखिएको
एक अडिग ढुंगाको चिनो हो,
जहाँ इतिहासका छालहरूले
आफ्नो कथा ठोक्काउँदै जान्छन्,
र भविष्यले त्यसैमा दिशा खोज्छ।
संविधानमा राखिएको तपाईंको हात
केवल कागज छोएको होइन,
यो माटोको नाडी समातेको क्षण हो
जहाँ पहाडका मौन,
तराईका सासहरू
र हिमालका चिसा हावाहरू
तपाईंभित्र प्रवेश गर्छन्
त्यो क्षण,
राष्ट्रका पीडाहरू बादलझैँ जमेर
तपाईंको हृदयको आकाशमा टाँसिन्छन्,
आशाहरू जूनझैँ टल्किन्छन्,
अधुरा सपनाहरू
अँध्यारोमा टिमटिमाउने दीपझैँ
तपाईंलाई बाटो देखाउन खोज्छन्
त्यसैले, आज उत्सवभन्दा बढी
यो आत्माको दर्पणमा हेर्ने दिन हो
जहाँ ‘म’ पग्लेर ‘हामी’ बन्छ,
र ‘पद’ पग्लेर ‘कर्तव्य’ बन्छ।
तपाईंले शक्ति पाउनुहुनेछ
तर शक्ति,
यदि खोलाजस्तो बग्न सकेन भने
दलदल बन्छ
यदि घामजस्तो ताप्न सकेन भने
डढेलो बन्छ
विवेकको किनार नभएको शक्ति
अन्ततः आफ्नै धारले
आफैंलाई काट्ने तरबार बन्छ।
इमानदारी
यो केवल गहना होइन
यो त मुटुको धड्कन हो
एकपटक यो रोकिन्छ भने
सत्ताको शरीर जीवित देखिए पनि
आत्मा मरेको हुन्छ।
देशलाई माथि राख्नुहोस्
जस्तै आकाशले पृथ्वीलाई छोप्छ,
तर कहिल्यै थिच्दैन ।
निर्णयहरू त्यस्ता बनून्
जसले छायाँ दिन्छन्,
तर उज्यालो खोस्दैनन्।
जब दबाबका आँधीहरू उठ्छन्,
जब स्वार्थका हावाहरू
दिशा बदल्न खोज्छन्,
त्यो बेला
आफ्नो अन्तःकरणको दीप जलाउनुहोस्
र आफैंलाई सोध्नुहोस्,
“के यो बाटोले
भोलिको सूर्य उदाउन दिन्छ?”
अन्याय,
माटोमाथि देखिने झार मात्र होइन
यो जरा गाडेर बसेको अँध्यारो हो।
यसलाई उखेल्न
हात मात्र होइन,
हिम्मतको गहिरो खनाइ चाहिन्छ।
योग्यताको सम्मान गर्नुहोस्
जस्तै बीउले माटो रोज्दैन,
तर माटोले बीउ चिन्नुपर्छ ।
राष्ट्र त्यहीँ फुल्छ
जहाँ क्षमताले अवसर भेट्छ।
जब गलत बाटो
सजिलो र सुन्दर देखिन्छ,
त्यो बेलै सबैभन्दा ठूलो भ्रम हुन्छ।
त्यस क्षण
आफ्नो सन्तानको अनुहार सम्झनुहोस
किनकि भविष्य सधैं
हामीले आज लिएको निर्णयको प्रतिछाया हो।
नेपाल
यो केवल नक्शामा कोरिएको रेखा होइन,
यो पसिनाले लेखिएको हो,
रगतले सुरक्षित गरिएको स्मृति हो,
विविध स्वरहरू मिलेर बनेको
एक शाश्वत सङ्गीत हो।
यसको रक्षा गर्नु
यसको आत्मा जोगाउनु हो।
आजबाट तपाईंको यात्रा सुरु भएको छ
यो बाटो फूलले मात्र ढाकिएको छैन,
काँडाहरूले पनि सोध्नेछन्
तपाईंको धैर्यको परीक्षा।
प्रशंसा हावाझैँ आउँछ र जान्छ,
आलोचना छायाँझैँ पछ्याउँछ
तर तपाईं
आकाशजस्तो स्थिर रहनुहोस्।
धर्म, संस्कार र आधुनिकता
यी तीन धाराहरू
जब एउटै नदीमा मिसिन्छन्,
त्यसैले सभ्यता जन्माउँछ।
जरा बिना रुख उभिँदैन,
र विस्तार बिना
आकाश छुन्न सक्दैन।
अन्ततः,
इतिहासले तपाईंको नाम
स्याहीले होइन,
निर्णयहरूको उज्यालो र अँध्यारोले लेख्नेछ।
त्यसैले, प्रधानमन्त्रीज्यू,
यो सपथलाई शब्दमै सीमित नराख्नुहोस्
यसलाई आफ्नै श्वासमा बाँच्नुहोस्,
आफ्नै कर्ममा देखाउनुहोस्।
हार्दिक शुभकामना।
तपाईंको नेतृत्व
केवल सफलताको कथा नबनोस्
यो सत्य, न्याय र उत्तरदायित्वको
दीपस्तम्भ बनोस्।
हार्दिक शुभकामना !
जय देश ।
जय नेपाल।







