
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ ।
चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।
पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो ।
टिकटकले पनि सरकारलाई प्रतिबन्ध खुलाउन आग्रह गर्दै पटक–पटक पत्राचार आएको छ । एक साता अघि मात्रै दक्षिण एसियाको सार्वजनिक नीति र सरकार सम्बन्ध इकाईले सञ्चाार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पत्र लेखेर आफू नेपालको सबै कानुनको परिपालन गर्न प्रतिबद्ध रहेको दोहोर्याएको थियो ।गत कार्तिक २७ मै तत्कालिन सरकारले सामाजिक द्धेष फैलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
हाल ३० भन्दा बढी देशमा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
टिकटक प्रतिबन्धले वाक तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार खोसिएको दाबी गर्दै सर्वोच्च अदालतमा एक दर्जन मुद्दा दायर भएका थिए । ५ मंसिर २०८० मा न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी नगरी सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । यो मुद्दाको नयाँ पेशी १० असोज, २०८१ का लागि पेशी तोकिएको छ ।
सत्तारुढ दल काँग्रेस पनि सहमत भए टिकटक माथिको प्रतिबन्ध खुल्ने बताइएको छ । प्रधानमन्त्रीले सञ्चारमन्त्रीसँग यस बारे परामर्श गरिसकेको र आवश्यक प्रस्ताव मन्त्रीपरिषदमा ल्याउन सल्लाह भएको श्रोत बताउँछ ।
छिमेकी मूलुक भारतमा यो पूर्णप्रतिबन्ध छ भने अमेरिकामा आँशिक प्रतिबन्ध छ ।






