काठमाडौँ। साहित्यकार गोविन्द गिरी प्रेरणाको लामा कथाहरू समावेश कृति ‘अ–विधवा’माथि विमर्श सम्पन्न भएको छ ।
आइतबार राजधानीमाआयोजित कार्यक्रममा कृतिमाथि पाठकीय टिप्पणी राख्दै समीक्षक डा. ज्ञानु अधिकारीले लामो कथा लेख्नु मात्र चुनौतीपूर्ण नभई त्यो पढ्नु पनि आफैँमा चुनौतीपूर्ण काम भएको बताइन् । उनले कृतिका कथाहरूमा मनोवैज्ञानिक र दार्शनिक पक्ष सबल रूपमा आएको बताइन ।
डा. अधिकारीले भनिन्, “यस कृतिभित्रका कथाहरूले मान्छे आफ्नो मनबाट दुखी छ भन्ने देखाउँछ,” उनले थपिन् “कृतिका सबै कथाका पुरुष पात्र केटीप्रति आशक्त देखाइएको छ ।कथाहरु पुरुष संवेदना पनि स्पष्ट देख्न सकिने गरी आएका छन् ।”
अर्का समीक्षक डा.अशोक थापाले कृतिभित्रका कथाहरूमा बहस गर्नुपर्ने धेरै विषयहरू रहेको बताए । उनले कथाकृतिभित्र गहन मनोविज्ञान, गहिरो दृष्टिकोण र दार्शनिक द्वन्द्व रहेको उल्लेख गर्दै कृति पठनीय रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले लामा कथा लेखनले माग गर्ने निर्माण पद्धतिको चर्चा गरे र उनले लामा कथा हुन एउटा सिस्टम हुनुपर्नेमा जोड दिँदै त्यो तोडिन नहुने बताए ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिकार प्रेरणाले करिब पाँच दशकदेखि कथा लेख्दै आएको बताउँदै उनको लेखन यात्रा र शिल्पको चर्चा गरे ।
कृतिकार प्रेरणाले आफूलाई लामो कथा लेख्ने रुचि रहेको बताउँदै आफूले आज पनि सिक्दै गरेको उल्लेख गरे । कार्यक्रमको सहजीकरण यादव भट्टराईले गरे ।