
काठमाडौं । पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल र उनका छोरा अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’माथि छलफल भएको छ ।
वुधबार काठमाडौंमा आयोजित कार्यक्रममा समीक्षक ज्ञानु अधिकारीले कृतिमाथि चर्चा गर्दै कुनै पनि विषयलाई मिठासपूर्ण तरिकाबाट भन्न सक्ने विधा नै कविता भएको उल्लेख गरिन् । उनले अनिमेषका कवितामा सरल शब्द भए पनि भावगाम्भीर्यता असीमित भएको बताइन् ।
उनले पुरुषोत्तम दाहालका कवितामा प्रयुक्त शब्द र अभिव्यक्त विम्बले ओज बढाएको बताइन् ।
समीक्षक युवराज मैनालीले अनिमेष सम्भावना बोकेका कवि भएको उल्लेख गर्दै कवितामा पुरुषोत्तम पिता नै हुन् र अनिमेष पुत्र नै हुन भन्ने तर्क गरे । उनले दुवैका कविताले समाजका युगीन चेतना बोकेको बताए ।
समीक्षक कवि घनेन्द्र ओझाले अनिमेषका कविताहरू सशक्त रहेको बताउँदै यहाँ खुकुरीभन्दा कर्द लागेको तर्क गरे । उनले कविताभित्र रहेका केही कमी कमजोरीको चर्चा पनि गरे ।
कवि पुरुषोत्तम दाहालले कृतिभित्र र बाहिरबाट केही कविता वाचन गर्दै कृतिभित्रका कविताहरू आफूहरूले अमेरिकामा हुँदै लेखेको बताए । उनले कविता लेखनका केही प्रसंग सुनाउँदै यस्ता कृति परिचर्चाले लेखकलाई हौसला दिने र कृतिलाई जीवन्त राख्ने बताए ।
कवि अनिमेषले आफ्नो कविता यात्राबारेमा कृतिभित्रका केही कविता वाचन गरे ।
उक्त अवसरमा प्रा.डा. कुलप्रसाद कोइरालाले आफ्ना धारणा राखे । कार्यक्रममा खेमनाथ दाहाल, कलानिधि दाहाल, ठाकुर शर्मा भण्डारी,दुर्गा भँवरकोटी, डा. कृष्णप्रसाद भट्टराई, जीवन श्रेष्ठ लगायत अन्य केही साहित्यकारहरूले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्दै कृति’वंशवृक्ष’ मिलापले प्रकाशित गरेको बताउँदै उनलेे पुस्तकको न्वारान आफैँले गर्न पाएकोमा गर्वको महसुस गरेको बताए।
कविताकृतिभित्र पुरुषोत्तम दाहालका १७ र अनिमेषका १३ कविता छन् ।





