
चर्चामा पुस्तक
अमेरिकाको घाम
कवि,सञ्चारकर्मी एवं नियात्राकार छविरमण सिलवालको यो कृतिमा याायवर कविको चीन,अमेरिका र युरोपको विभिन्न यात्राको क्रममा देखे भोगेका र अनुभूति गरेका कुराहरुको रोमाञ्चक वर्णन पढ्न पाइन्छ ।कृतिभित्र विभिन्न शिर्षकका तेह्रथान नियात्राहरु समावेश गरिएका छन् ।कृतिकार आफ्ना यात्रा अनुभवहरु पाठकसमक्ष बाँड्न सफल देखिएका छन् ।
स्थानीय भूगोल,ऐतिहासिक र प्राकृतिक तथा मानवनिर्मित जिज्ञासु चीजविजहरुको जानकारी नियात्राले गराउँदा पाठकलाई पनिसंगै यात्रा गरेको भान पर्छ । स्लोभानिया,लसभेगास,कुनमिङ आदि स्थानहरुको स्थानीयतामा रुझेर निजात्मक अनुभूति सहित तथ्यमा रहेर सरल,सुलोलित भाषाशैलीमा लेखिएका नियात्राहरु पठनीय लाग्छन् ।
अमेरिकाको घामलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.२७५। रहेको छ ।
लन्डिनियम
कृष्ण बजगाईंकृत यो नियात्राकृतिमा उतिबेलाको रोमन साम्राज्यको राजधानी उतिबेलाको लन्डिनियम नै हालको लन्डन हो भन्ने कुरालाई कृतिले जानकारी गराएको छ । यतिमात्र नभएर नियात्राकारले यात्रा गरेका जर्मनी,नेदरल्यान्डका विभिन्न ऐतिहासिक विशेषताहरु,त्यहाँका कला संस्कृतिको बारेमा जानकारी दिन पनि नियात्राकृति सफल देखिन्छ ।
नियात्रामा हुनुपर्ने विशेषताहरु तथ्यपरक,नीजात्मक अनुभूतिले भरिएको,स्थानीयतामा भिजेका र गतिशिलताले भरिएका छन् ।कृतिभित्र विभिन्न १८ वटा विभिन्न देशका शहरहरुका विभिन्न विषयमा लेखिएका नियात्राहरु समावेश गरिएका छन् ।
सरल तर कलात्मक भाषाशैलीले नियात्रा पठनीय छन् ।
लन्डिनियमलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.३९०। रहेको छ ।
चौशूल
रुपक श्रेष्ठको मुक्तकसङ्ग्रह हो । जसलाई विभिन्न शिर्षकमा शिर्षकृत गरी हरेकमा ६० वटा मुक्तकहरु समावेश गरिएको छ । प्रणयशूल,समाजशूल,घरदेशशूल र परदेशशूलमा गरी दुई सय थान मुक्तकहरु समावेश छ । समय र समाजलाई सम्बोधन गरिएका,वर्तमानकालको यथार्थलाई लिपिएका,प्रेमलाई सम्मान र उपाशना गरिएका मुक्तकहरु कृतिमा छन् । यतिमात्र नभएर देश दुखेको पीडा बोलिएका मुक्तक पनि छन् । राजनीतिले पुर्याएको जनताको दुखहरुका आवाज उठाइएका छन् । विदेशिन बाध्य नेपालीका पीडाहरु पोखिएका डायस्परिय चेतका मुक्तकहरु पनि यसमा छन् ।
सुन्दर र सशक्त बिम्ब प्रयोग गरिएका मुक्तकविधानमा अटेका मुक्तकहरु यसमा छन् ।
चौशूललाई नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको हो । यसको मूल्य रु.५००। रहेको छ ।





