
सन् १९७९ ताक सिमित थिए– ट्रेकिङ कम्पनी । तिनै कम्पनीका सञ्चालक मिलेर अम्बिका श्रेष्ठको अध्यक्षतामा गठन गरिएको संस्थाको नाम थियो– ट्रेकिङ एजेन्ट्स एसोसिएन अफ नेपाल । एउटा आदर्शको संस्था थियो यो । पछि यो नामलाई ‘ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल’का रूपमा संसोधन गरियो । छोटकरीमा भनिने नाम चाहिँ ‘टान’ नै थियो र अद्यापि त्यही छ ।
पर्यटन व्यवसायसित सम्बन्धित संस्थाहरूमा टान त्यस्तो संस्था हो, जसको पहिलो नेतृत्व नै महिलाबाट भएको थियो । त्यो पदचापलाई याङ्किला शेर्पाबाहेक कसैले पछ्याउन सकेको छैन
अम्बिका श्रेष्ठले नेपालमा ट्रेकिङ एजेन्सीहरूको हितका खातिर वकालत गरिन् । त्यसै बेलादेखि टानले तत्कालीन सरकार र स्थानीय समुदायलगायत विभिन्न सरोकारवाला सँगको सम्बन्धलाई स्थापित गर्नुका साथै दिगो, जिम्मेवार, वातावरणीय र सांस्कृतिकरूपमा संवेदनशील पदयात्रा सञ्चालन गर्ने अभ्यासको सुरुआत भएको थियो । उनी थोरै समयका लागि मात्र संस्थापक नेतृत्वमा रहिन् । तत्पश्चात् स्व. टेकचन्द्र पोख्रेलले एड्हक अध्यक्षका रूपमा अम्बिका श्रेष्ठको कार्यभार सम्हाले
टानको पहिलो अध्यक्ष अम्बिका श्रेष्ठको गत २०२४ जुलाई १८ का दिन निधन भयो । वास्तवमा उनी आफैँमा टानको एउटा इतिहास थिइन् । आफ्नै संस्थाको संस्थापक अध्यक्षको निधनमा टानले शोकसभाको आयोजना गर्नुपथ्र्यो तर गरिएन । चुनावका बेला अग्रज व्यवसायीको अर्थमा आशिर्वाद थाप्न लाइन लाग्ने हामी उनको निधनमा संस्थागतरूपबाट श्रद्धान्जली व्यक्त नगरिनु भनेको उनीप्रतिको उपेक्षा नै हो । अग्रजमाथि गरिने बेवास्ता लज्जाको विषय हुन्छ । हामी सामाजिक प्राणी हौँँ । हाम्रा नैतिक जिम्मेवारी, सांस्कृतिक मूल्य र परम्परा छन् । फेरि यो एउटा कर्तव्य र अग्रजप्रतिको सम्मानको विषय पनि हो । यस मानेमा हामी चुकेका छौँ । अझै पनि समय छ । उनको पैँतालिसौँ पूण्यतिथिका अवसरमा टानले श्रद्धान्जली सभाको आयोजना गरोस् !
अध्यक्षको सम्बन्धमा विवेचना गर्दा स्व. अम्बिका श्रेष्ठदेखि हालका बास्तोलासम्म आइपुग्दा हामीले दुईखाले अध्यक्ष पायौँ । एकथरि अध्यक्ष ‘प्रोस्पायरिङ’ लाग्थे÷लाग्छन् । अर्थात् उनीहरूलाई देख्दा यस्तो लाग्छ कि उनीहरूमात्र टानको अध्यक्ष बन्न सक्छन्, म सक्तिनँ । किनकि उनीहरूको व्यक्तित्वको सामू आफू फिका भएको महसुस हुन्छ । जस्तै– स्व.अम्बिका श्रेष्ठ, याङ्किला शेर्पा, जेबी सिंह, सुमन पाँडेकाजी, दीपक महत, ज्योति अधिकारी र रमेश धमला । यसबाहेकका अन्य अध्यक्षहरू भने ‘इन्सपायरिङ’ लाग्छन् । अर्थात् उनीहरू त अध्यक्ष बन्न सक्छन् भने ‘म किन नसक्नु ?’ भन्ने लाग्छ । टानका साधारण सदस्यहरू अध्यक्ष हुनका लागि मरिमेट्नुको पछाडिको रहस्य यो पनि होला सायद ।
त्यसो त साधारण सदस्य भएपछि अध्यक्षको दाबी गर्नु अस्वाभाविक पनि होइन । किन्तु फरक के भने– पहिले पहिले कार्यसमितिमा कार्यकारिणी सदस्यका रूपमा प्रवेश गरी ‘प्रोमेटेड’ हुँदै अध्यक्ष हुने चलन थियो भने पछिल्लो अवस्थामा सीधै अध्यक्ष बन्ने चलन बस्यो । यतिसम्म कि टानको अध्यक्ष हुनका लागि मात्र दर्ता भएका ट्रेकिङ कम्पनी अद्यापि छन् र तिनले अध्यक्षका लागि हिनहिनाइरहेका हरेक चुनावी परिदृश्य देखिएकै हो र देखिरहेका पनि छौँ ।
सन् २००६ सम्म दलीय राजनीतिको प्रभावबाहिर थियो टान । त्यो एउटा युग थियो, जति बेला टानमा फुटपरस्त नीति अवलम्बन भएको थिएन । प्रत्येक आवश्यकतामा हाम्रा अग्रजहरू जुटेको इतिहास साक्षी छ । ८० को दशकमा उनीहरूले कतिपय सदस्यसँग पैसा सापटी लिएरै टान चलाउँथे । त्यो एउटा बाध्यता थियो । ९० को दशकमा त टान अर्थिकरूपमा यति कमजोर भयो कि काठमाडौँका तारे होटलहरूले कार्यक्रम गर्नका लागि हलसमेत दिन हिच्किचाउँथे । यस्ता कुराहरू अहिले एकादेशको कथाजस्तै लाग्छन् । पछिल्लो अवस्थामा आर्थिकरूपमा मजबुत भएपनि दलीय राजनीति घुसेपछि टान कमजोर हुँदै गएको यथार्थ घामजस्तै छर्लङ्ग छ ।
दोस्रो जनआन्दोलन ताक ठमेलका व्यवसायी मिलेर विनादर्ताको कथित ‘लोकतान्त्रिक पर्यटन समाज’को गठन गरेका थिए । त्यसमा सबैखाले विचारका व्यवसायी सामेल थिए । एकै ठाउँमा रहन नसक्नु नेपालीहरूको विशेषता नै हो । चाहे ती नेता हुन् वा हामी व्यवसायी । अरोपप्रत्यारोप, खिचातानी, एकअर्कालाई होच्याउने र बिउझाउने गर्दागर्दै ‘लोकतान्त्रिक पर्यटन समाज’ कहाँ बिलायो पत्तै भएन ।
यसैको ह्याङ्ओभरले होला हामी राजनीतिक विचारका गोत्र मिल्नेहरू विभिन्न नाम, रूप र अर्थमा संगठित हुन थाल्यौँ । काँग्रेस समर्थित व्यवसायीहरू राष्ट्रिय पर्यटन व्यवसायी सङ्घको नाममा र कम्यूनिष्ट समर्थितहरू राष्ट्रिय पर्यटन व्यवसायी संगठन तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका नाममा गोलबन्द भयौँ । यसरी टान लगायत पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका सदस्यहरूमा गुटबन्दी सुरु भयो । पछि भट्टराई थर गरेका एक नेता माओवादीबाट उछिट्टिएपछि टुरिजममा अर्को भगिनी संस्था जन्म्यो । अस्थिर मनस्थितिका उनी अहिले कहाँ छन् त्यो सबैलाई थाहा छ । बिचल्लीमा परेका उनका अनुयायी व्यवसायीहरू अहिले कोही रास्वपातिर छन् त कोही मातृसंस्थामै फर्केर चुनावी मैदानमा उत्रने उद्घोष गरेको साक्ष्य पनि कहीँ छिपेको छैन ।
संगठनको नाममा यतिसम्म कि हामी जातिगतरूपमा गुरुङ, मगर र क्षेत्रगतरूपमा काठमाडौँ पूर्वका काभ्रेली व्यवसायी र पश्चिमतर्फका धादिङेली तथा रसुवाली एवम् नुवाकोटेली व्यवसायीहरू पनि झुन्ड झुन्ड हुन पुगेका छौँ । कुनै खास अर्थ र औचित्यका साथ एकिकृत हुनु जायज भएपनि यसले टानको संस्थागत विकास र गरिमा बढोत्तरीका लागि के भूमिका निर्वाह गर्छ भन्ने कुरामा सायद हामी अनविज्ञ नै छौँ । तर कुनै कार्यक्रममा कुनै संस्थाको अध्यक्षका रूपमा मञ्चासिन हुन पाउनु चाहिँ स्वयम्का लागि गौरवको विषय बन्छ ।
टानमा हाल मूलतः चार–पाँच थरि राजनीतिक दलका भातृसंगठन मौजुद छन् । यहाँ हुने चुनावमा ती संगठनले नै उम्मेदवारहरू चयन गर्छन् । व्यावसायिक हकहितका लागि भन्दापनि सौखका लागि वा आफूलाई टानको अध्यक्ष वा महासचिव वा कोषाध्यक्ष भएको ‘सो अप’का लागि प्रतिस्पर्धा गर्ने चलन एउटा फेसन नै भएको छ । टानको अध्यक्ष भनेपछि व्यवसायिकरूपमा पनि फाइदा हुन्छ होला नै । टानमा भएको पदले नपुगेर हामीले ‘वरिष्ठ उपाध्यक्ष’ पदको सिर्जना ग¥यौँ । निवर्तमान अध्यक्षसमेत गरी कार्यसमितिमा २५ जनाको जम्बो टोली रहने व्यवस्था छ । उल्कै रमाइलो कुरा चाहिँ अध्यक्षले मनोनित गर्ने सदस्यसमेत पार्टीकै भागबण्डाको आधारमा हुन्छ । मिलिभगतको अर्को दृष्टान्त हो यो । नेकपा (एमाले) मा जस्तै भोलिका दिनमा टानमा पनि दुईजना अध्यक्षको व्यवस्था गरिए सायदै अनौठो होला ।
टानजस्तो छाता संगठनमा पार्टीको राजनीति घुस्नु÷घुसाउनु किमार्थ सही थिएन । प्रत्येक जितमा पार्टीको जित र व्यवसायीको हार हुने संस्कार टानका लागि दुर्भाग्य थियो । आजका दिनसम्म आइपुग्दा त्यसैले झन् गहिरो जरो गाडेको छ । राजनीतिक सम्बद्धताले टानको मुख्य मिशन ओझेल पर्दै गएको वास्तविकता पनि जगजाहेर छ । यो कुरा हामीले नबुझेका होइनौँ किन्तु बुझेर पनि बुझ चाइरहेका छौँ ।
पार्टी सम्बन्धित हाम्रा भगिनी संगठनहरूले सिफारिस गरेका सेलिब्रेटी उम्मेदवारहरूलाई हामीले शिरमै राख्यौँ । हामी यतिसम्म लगाम लगाएको घोडा जस्तो भयौँ कि– भगिनी संस्थाबाटै सिफारिस भए पनि कतिपय दक्ष उम्मेद्वारहरूलाई हामीले धुलो चटाइदियौँ ।स्वतन्त्र उम्मेदवारको के त हैसियत भो र ! यसरी साँच्चिकै ‘राम्रा’हरू त छायाँमा परे नै, तुलनात्मक सेलिब्रेटी अर्थात् ‘हाम्रा’ उम्मेदवारभन्दा अलिक ‘राम्रा’समेत धूलिसात् भए । अनि उदय हुन थाल्यो ‘हाम्रा’ र हाम्राहरूको ।
‘हाम्रै’ र ‘हाम्रा’ मात्र भएपछि धेरै कुरामा सजिलो ! टानका मिटङका बिलहरू आफ्नै होटल र रेस्टुरेन्टबाट पेश गर्न सजिलो । टानमा भएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पनि सजिलो, त्यो पनि निब्र्याजी । अफिसियल भिजिटहरूको खर्च संस्थाले ब्यहोर्ने भएपछि संस्थाको स्टयान्डर्ड अनुसार नै खर्च गर्न हिचकिचएनौँ किनकि संस्थाको इज्जज जोगाउनु पर्ने बाध्यता पनि हुन्थ्यो । समयको अन्तरालले यादहरू धुमिल भएर मात्र हो, सम्झने कोशिस गरे अझ यस्ता थुप्रै कुराहरू सम्झन सकिन्छ ।
टानमा हामीले जितेपछि सकेसम्म आ–आफ्नो जिल्लामा योजना लाने प्रयत्न पनि ग¥यौँ । कति सफल वा असफल भयौँ ती आफ्नै ठाउँमा छन् । यस्तै यस्तै ‘लुप होल’ थाहा पाएपछि पर्यटन पत्रकारिता गर्ने कोही कोहीले टानससित मौकाको फाइदा मज्जैले उठाएको नजिर पनि छिपेको छैन ।
हामीले जिताएका महासचिवहरूले प्रभावशाली रूपबाट कुनै कार्यक्रम सञ्चालन गरेको र टानको एजेन्डाहरूमा अभिव्यक्ति दिएको देख्न पाएनौँ भन्दा अतिशयोक्ति नहोला । म त्यो पदका लागि सक्षम छु÷छैन भन्ने हेक्का स्वयम्लाई हुन्न । चुनावमा पैसा खर्च सक्ने अर्थमा हामी सक्षम हुन्छौँ । पैसा कमाएपछि विद्वान र विज्ञ हुने कुरा त छँदै छ । भाषण गर्न सिक्दासिक्दै हाम्रो दुईवर्ष त्यत्तिकै बित्छ । नीतिगत व्यावसायिक चिन्तनको आधारमा भन्दा पनि पार्टीगत इज्जत र स्वार्थका आधारमा प्रतिस्पर्धा हुनुको परिणाम यस्तै त हो ! यतिसम्म कि– हामीले डेबिट÷क्रेडिटको समामान्य ज्ञान भएकोलाई कोषाध्यक्षको उम्मेदवार चयन गर्न सकेनौँ । लौरो नै सही पार्टीको एउटा नेता छड्के साक्षीको किनारमा उभिएर निर्णय गरेपछि ऊ नै सक्षम हुन्छ भन्ने गलत बुझाइ हामीमा थियो र छ । किनकि टानको चुनावसँग पार्टीको इज्जत गाँसिएको हुन्छ । आसन्न निर्वाचनका कतिपय उम्मेदवार पनि माउपार्टीको नेताको रोहबरमा निर्णय भइसकेका छन् ।
यो भन्दा पनि अचम्मचाहिँ के भने अध्यक्ष जितेपछि हामी टानको अध्यक्ष हुन्नौँ । हुन्छौँ त पार्टीको । किनकि हामी पार्टीका हौँ, त्यहाँभित्र पनि कुनै खास गुटका अध्यक्ष हुन्छौँ । र, त्यो गुटको पनि दुई–चारजनाको मात्र अध्यक्ष बन्छौँ । कुनै कुनै अध्यक्ष त हप्ता दिनसम्म पनि ओछ्यानको ओछ्यानमै ढलेको विगत साक्षी छ । हामीलाई अध्यक्ष वा महासचिव वा कोषाध्यक्ष भएपछि हामीलाई साधारण सदस्यप्रति उत्तरदायी बन्नु पनि पर्दैन । जितेपछि हामी टानमा जानै पर्दैन । कुनै सदस्यले कुनै काम विशेषले फोन गर्दा ‘मेरो चाहिँ काम हुँदैन र ?’ भन्ने जस्तो ओठे जवाफ फर्काइदिए हुन्छ । किनकि हामी यस्तै मानसिकताबाट ग्रस्त छौँ । टानका हामी विवेकी सदस्यहरू आफैँ पश्चातापको भुमरीमा पर्ने गरी हरेक निर्वाचनको मतपेटिकामा कलङ्क भर्दै जानु विडम्बनाबाहेक सायद केही थिएन/होइन ।
अचम्मै अचम्मका छौँ हामी । चुनाव हारेपछि टानमा नफर्किने चलन हामीमा भएको अर्को एउटा अचम्म हो । किनकि हारमा हामीले भन्दा पनि हाम्रो पार्टीले हारेको हुन्छ । हारेको ठाउँमा जान लाज हुन्छ । फर्कने भनेको एकैचोटि दुई वर्षपछि मात्र हो । चुनावका बेला हामी भोटका लागि सदस्यहरूलाई पैसा नतिरिकनै सदस्यता नविकरण गराइदिन्छौँ । र, त्यसलाई बेरुजुमा पारिदिन्छौँ । चुनाव हो सकेसम्म हार्नु हुन्न भन्ने मानसिकता जो छ हामीमा ।
अर्को अचम्मको कुरा गर्नु पर्दा हामी कुनै पनि संस्थाको सदस्य भइसकेपछि त्यो संस्थाको हितमा समर्पित रहनुपर्छ भन्ने छैन । हामीमा त्यो आचरण हुनुपर्दैन । हामी कतिपय टाठाबाठाले त भगिनी संस्थाहरूलाई मज्जैले प्रयोग ग¥यौँ । हामी त्यही संस्थाको सिफारिसमा टानको अध्यक्ष बन्यौँ, त्यसपछि संस्थामा फर्केनौँ । हाम्रो मानवीय विशेषता !
कतिपय सिद्धान्तनिष्ट भनिने हामी फुटको झोला भिरेर यत्रतत्र हिँडिरहेका हुन्छौँ र, टानको चुनाव नजिकिँदै गर्दा एउटा अगेनामा बसेर भोटको रोटी सक्छौँ । टानका स्वतन्त्र सदस्य भनिनेहरू भने सङ्घर्षको रक्तआख्यान र बिद्रोहका लघुकथा लेख्न विवश हुन्छन् ।
कतिपय सिद्धान्तनिष्ट भनिने हामी फुटको झोला भिरेर यत्रतत्र हिँडिरहेका हुन्छौँ र, टानको चुनाव नजिकिँदै गर्दा एउटा अगेनामा बसेर भोटको रोटी सक्छौँ । टानका स्वतन्त्र सदस्य भनिनेहरू भने सङ्घर्षको रक्तआख्यान र बिद्रोहका लघुकथा लेख्न विवश हुन्छन् ।
अर्को विडम्बना ! कहिल्यै शुभकामना नपठाइनेलाई पनि हामी चुनाव नजिकिँदै गर्दा जन्मदिन, असार पन्ध्र, लुतो फाल्ने दिन र खिर खाने दिनमा समेत शुभकामना पठाउन सङ्कोच मान्दैनौँ । हामी भोटका लागि इशारा गर्न जानेका छौँ अर्थात् ‘भोट प्यान्डरिङ’ गर्न सिपालु छौँ । भदौ महिना आउन बाँकी नै छ । आगामि भदौ १५ र १६ गते कृष्ण औँसी तिथि परेको छ । ती दुुवै दिनलाई ठुलै उत्सव मानेर शुभकामना आइहाले कसैले अचम्म नमाने हुन्छ ।
हामी व्यवसायी विभाजित नहुँदा एउटा समयमा टानको बिल्डिङ बनाएका थियौँ । अर्को समयमा बिल्डिङ बन्दा लागेको ऋण पनि चुक्ता गरेथ्यौँ । हामी विभाजित नहुँदा व्यावसायिक हक र हितका लागि लड्न सहज हुन्थ्यो । र, त चुलिँदो थियो– टानको मूल्य, मान्यता र गरिमा । व्यवसायी विभाजित हुँदा एनएमएले भोगचलन गरिरहेको चुलीहरू गुमेको र त्यही बेला अर्का एकथरि व्यवसायीले नै ताली बजाएको यथार्थ पनि हामीले भुलेका छैनौँ । व्यवसायी–व्यवसायीमा विभाजनका रेखा कोरिन थालेदेखि टानको शक्तिमा स्खलन आउन थालेको हो ।
टानको सवालहरूमा एक हुन नसके पनि दलको भातृसंगठनका नाम र अर्थमा हामी संगठित भएकै छौँ । एकिकृत हुनु बलियो हुनु हो । सामाजिक जीवनको पनि एउटा सुन्दर पक्ष पनि हो । स्वार्थ नमिल्दा मनहरू विभाजित भइरहनुु टानका लागि दुभाग्र्य हो भन्ने कुराको ज्ञान पनि छ हामीलाई । कमबेसी अलग कुरा परन्तु हाम्रा मनका पछाडि थुप्रै थुप्रै टुटेफुटेका मनहरूको लाम लागेका छन् । टान जोगाउने अर्थमा । गठबन्धनको अर्थमा । साझा र समावेशीको टीमको अर्थमा ।
प्रत्येक पटकको निर्वाचनमा अघिल्ला पटकका प्रत्यासीले जाहेर गरेका प्रतिबद्घता र थाति रहेका योजनाहरू काखी च्याप्नुबाहेक ‘हाम्रा’हरूले नयाँ योजना ल्याउन सकेको उदाहरण छैन । यसकारण पनि टानको निर्वाचनमा हामी प्रत्यासीका प्रतिबद्धता र योजनाहरूमा पनि नवीनता कुन चराको नाम हो थाहै हुन्न । त्यसो त कुनै नयाँ कार्यक्रम ल्याए पनि मतदाताले पत्याइहाल्छन् भन्नेमा शङ्का छ । भातृसंगठनहरू उही । त्यसमा आबद्घ हामी र ‘हाम्रा’हरू उही । सिसी नयाँ, रक्सी पुरानै । अनि कसरी पाउनु नयाँ स्वाद ! आगतमा व्यवसायीहरूको फाटेको खुसीलाई विभाजित मनले टाल्न सके भने आश्चर्य नै हुने छ ।
हामी कहिले काँग्रेस र माओवादी मिल्छौँ, कहिले एमाले र माओवादी त कहिले एमाले र काँग्रेस । गठबन्धन हुनु र तोडिनु हामीलाई ठमेलको मुक्तिनाथ थकाली वा गैरीधाराको टुकुचे थकालीमा बसेर मासु र भात खाए जस्तै हो । मिल्दा उही मान्छे जाती हुने, नमिल्दा नजाती हुने त छँदै छ । सार्वजानिक सञ्जालमा गरिने गालीगलौजको भाषा र भाष्य पनि उही ठाउँको मासुभात जस्तै हो ।
यति हुँदाहुँदै पनि एउटा समानता चाहिँ छ हामीमा । त्यो हो– निर्वाचनमा हाम्रो प्यानल फरक भए पनि एजेन्डामा भने खासै अन्तर हुँदैन ।
हामीले उहिल्यैदेखि चुनावी प्रतिबद्घतामा समावेश गर्दै आएका केही बुँदाका दृष्टान्त यस प्रकारका छन्–
हामीले उहिल्यैदेखि चुनावी प्रतिबद्घतामा समावेश गर्दै आएका केही बुँदाका दृष्टान्त यस प्रकारका छन्–
‘नवीन पदमार्गको पहिचान र प्रवद्र्घन गर्ने’, ‘टिम्सको कोषमा जम्मा भएको रकम पदयात्रा पर्यटनको विकासमा खर्च गर्नु पर्ने’, ‘महेन्द्रसिंह थापाको पालादेखि सुरु भएको बेरुजु फछ्र्यौट गर्ने ।’
हाल टानको बेरुजु १२ करोड हाराहारीमा रहेको हल्ला सुनिन्छ । अघिल्ला अघिल्ला कार्यसमितिले ‘लुटको धन, फुपूको श्राद्घ’ भन्ने उखान चरितार्थ नगरेको भए बेरुजुको ‘फिगर’ यसरी किन बढ्थ्यो होला र ! पोखरा जाँदाको बिल पेश गरेको, अनावश्यक भोज गरेको, पाँचतारे होटलमा सुतेको, कार्यकाल सकिएपछि दुलही जसरी अन्मिएको त देखिएकै कुरा हो क्यार !
त्यसो त ‘राम्रा’ भन्दा ‘हाम्रा’ भन्ने बानी परेको हामीलाई राम्रोलाई राम्रो भन्न हिच्किचाउँछौँ । सेलिब्रेटी कोषाध्यक्ष परेको भए त वर्तमान टानको आर्थिक अवस्था कस्तो भइसक्थ्यो होला, हामी कल्पना गर्न चाहिँ सक्थ्यौँ होला । तर झुक्किएरै भए पनि वर्तमान टान कार्यसमितिको कोषाध्यक्ष चाहिँ कर्तव्यनिष्ठ परेछन् । संस्थाप्रतिको सकारात्मक सोच, कार्यकुशलता र टानको आर्थिक अवस्थालाई मजबुत बनाउन गरेका यावत प्रयत्नहरूले उनलाई टानको इतिहासमै सम्झनलाइक कोषाध्यक्ष भनेर प्रमाणित गरिदिएको छ । ऋणको पासोमा घिटी घिटी भएको टानलाई दुई वर्षमा ऋणमुक्त बनाएर हस्तान्तरण गर्न लागेको सुन्न पाउनु सुखद कुरा हो ।
फेरि कुनै त्यस्तो निर्वाचन थिएन, जसमा हामीले मजदुरको कुरा नउठाएको होस् । जस्तो कि– ‘सगरमाथा आधार शिविर पदयात्रामा पर्ने ठाउँ, मनासलुको धर्मशाला, मेरा बेस क्याम्प, धौलागिरीको इटालियन क्याम्पलगायतका ठाउँहरूमा पोर्टर सेल्टर निर्माण गर्ने । मजदुरको रेस्क्यु एवम् उनीहरूको क्षमता अभिबृदीका लागि टिम्सबाट प्राप्त रकमको १०% रकम लागि खर्च गर्ने र उनीहरूको सुरक्षाको ग्यारेन्टी टानले गर्ने ।’ गर्न त हामी ‘मजदुर कल्याणकारी कोष स्थापन गर्ने’ पनि भन्छौँ । तर त्यो भ्यागुतको कथाजस्तै भइरहेको छ । मजदुरको सुरक्षाका बारेमा योभन्दा बढी विश्लेषण गरिरहनु नपर्ला ! मजदुर खुसी होऊन्, बस् यही शुभकामना छ !
‘नियन्त्रित क्षेत्रहरूमा एक जना पर्यटन जान नपाउने अवस्था अन्त्य गर्ने’, भनिटोपल्छौँ र यो पनि भन्छौँ– ‘फेक रेस्क्यु बन्द गर्न विशेष पहल गर्ने ।’
तर,
तर… उही हो ।
यहाँ मुर्छा परेर हाँस्नुबाहेकको विकल्प छ र ?
तर,
तर… उही हो ।
यहाँ मुर्छा परेर हाँस्नुबाहेकको विकल्प छ र ?
‘गार्बेज डिपोजिटको झन्झटिलो व्यवस्थालाई सहजीकरण गर्ने’, ‘नियन्त्रित क्षेत्रको इजाजत–पत्र जारी गर्ने अध्यागमन कार्यालयलाई ३६५ दिन नै खुल्ला राख्न पहल गर्ने’ भन्ने सुन्दा सुन्दा व्यवसायीहरूको कान टट्टाइसकेको छ । त्यस्तै ‘पर्यटन बोर्डसँगको समस्या समाधान गर्ने, पदयात्रामैत्री एजेन्डाहरूमा सहकार्य गर्ने’ र ‘नेपालको अन्तराष्ट्रियरूपमा प्रचार–प्रसार गर्ने’ भन्ने कुराहरू पनि नौलो विषवस्तु होइनन् ।
अन्तराष्ट्रिय प्रचार–प्रसारका लागि त हामी सामान्य व्यवसायीले पत्तै नै नपाउने गरी कहाँ कहाँ पुगिसकेका हुन्छौँ । प्रचार–प्रसारका कुराहरू एनटीबीको सीइओ विदेशबाट फर्कंदा एअरपोर्टमा अध्यागमनका कर्मचारीसित लफडा परिहाले मात्र थाहा हुने गरेको यथार्थ पनि जगजाहेरै छ । प्राइभेट सेक्टरले नै नियुक्त गर्छ क्यार एनटीबीको सीईओ !
उही एजेन्डाका साथ एकपटक चुनाव जितेर फेरि पनि उही एजेन्डाका साथ चुनाव भाग लिन हामीलाई कति पनि सरम लाग्दैन । हुन त यी सबै प्रतिबद्घता पूरा भएको भए अहिले एजेन्डाबिहीन भएर चुनावमा जानु पर्ने हुन्थ्यो होला । कहिलेकाहीँ कतिपय कुरा पूरा गर्न नसक्दा पनि ऐन मौकामा काम लाग्दो रहेछ ।
एउटा मान्छे विचारविहीन हुन सक्दैन । यद्यपि टानजस्तो छाता संगठनमा दलीय भागबन्डाको राजनीतिले तहसनहस बनाएको यथार्थलाई हामीले बिर्सनु हुँदैन । अबका दिनमा पार्टी राजनीतिको अवरोधबाट मुक्त भएर टानले परिभाषित गरेको एकताको भावनालाई पुनः प्राप्त गर्ने बेला आएको छ । आगामी चुनावलाई हाम्रो संस्थाका लागि टर्निङ प्वाइन्ट बनाउन सक्छौँ । यसो गर्दा टान फेरि एकपटक गौरवमय बन्न सक्छ र नेपालमा ट्रेकिङ उद्योगको आवश्यकतालाई प्रभावकारीरूपमा पूरा गर्न सक्छ । साथै, हामी हाम्रो उद्योगको सामूहिक सफलता र यसका सदस्यहरूको कल्याणमा केन्द्रित भई टानलाई बलियो बनाउँन सक्छौँ ।
आगामी निर्वाचनले हामीलाई परिवर्तनको अवसर पनि दिएको छ । पार्टीको राजनीतिभन्दा माथि उठेर टानको मूल मूल्य, मान्यता र मिसनमा पुनः केन्द्रित हुने मौका पनि हो यो । हामीलाई राजनीतिक आबद्धताभन्दा पनि हाम्रो व्यवसायमा आफ्नो योग्यता, क्षमता, दृष्टि र समर्पणका लागि नेतृत्व चाहिएको हो । पदयात्रा र साहसिक पर्यटन उद्योगको हितका लागि प्रभावकारीरूपमा वकालत गर्न सक्ने र नेतृत्व कौशल भएको नेता खोजेका हौँ हामीले । विविध सरोकारवालासँग राम्ररी सञ्चार गर्न सक्षम र चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने मान्छे खोजेका हौँ । हामीले खोजेको नेतृत्वमा पर्यटन उद्योगको गहिरो बुझाइ, नेपालको प्राकृतिक एवम् सांस्कृतिक सम्पदाको प्रवद्र्घन गर्ने तथा अरूलाई प्रेरणा र उत्प्रेरित गर्ने क्षमता हुनुपर्छ । टानको भावी नेतृत्व दिगो पर्यटन अभ्यासका लागि प्रतिबद्ध हुने दूरदर्शी र नैतिक हुनुपर्छ । अर्थात् युवा, ऊर्जावान, सक्रिय, जोशिलो, र नवीन ।
टुप्पाबाट पलाएकोले भन्दा ग्रास रूटबाट माथि उठेको व्यवसायीले मात्र टानको सही नेतृत्व दिन सक्छ र उसले आम व्यवसायीको मर्म र भावनालाई बुझ्न सक्छ ।
“डु नट ड्वेल इन द पास्ट, डु नट ड्रिम अफ द फ्युचर, कन्सन्ट्रेट द माइन्ड इन द प्रेजेन्ट मोमेन्ट” भन्ने गौतम बुद्घको यो भनाइलाई आगामी निर्वाचनमा विजयी हुनेले आत्मसाथ गरेको खण्डमा व्यवसायीमा टानप्रति गौरव गर्न सक्ने अवस्था आउन सक्ला ।









