
अभिकुञ्ज ! मैले तिमीलाई माया मारेको छैन
आर. आर. चौलागाईं
म अहिले तिमीलाई छोडेर
कोलाहलग्रस्त राजधानीमा पसेको छु
जहाँबाट सिङ्गै नेपालभरि उसको हुकुम चल्छ
म अहिले निष्ठुरी भएर
भौतिक रूपमा तिमीबाट ओझेल परेको छु
जहाँ मलाई न दिनमा भोक न रातमा निन्द्रा भएको छ
धेरै दिन भएछ म यसरी तिमीबाट हराएको
लाग्दो हो तिमीलाई
म अब तिमीलाई भेट्न कहिल्यै पनि आउँदिनँ
सोचेकी हौली तिमीले
मैले अन्तै घरजम गरिसकेको छु
मैले अरूलाई नै मन पराएको छु
टाढा भएपनि
भेट्न नआए पनि
तिम्रो अन्तस्करणमा मैले अन्तै घरजम गरको भएपनि
मैले तिमीलाई बिर्सेको छैन
म निष्ठुरी भएको छैन
म जस्तो पनि कसम खान तयार छु
मैले तिमीलाई धोका दिएको छैन
अभिकुञ्ज ! मैले तिमीलाई माया मारेको छैन ।

मैले तिमीलाई कहाँ त्यागेको छु र !
म रगतपच्छे भएर आउँदा
तिमीले मलाई मलमपट्टी लगाएर ठीक पारेकी छ्यौ
म भोकले आकुलव्याकुल भएर आउँदा
तिमीले मलाई आफ्नै हातले खाना पकाएर खुवाएकी छ्यौ
म थकाइले लखतरान भएर आउँदा
तिमीले मलाई आफ्नै वक्षस्थलमा सुताएकी छ्यौ
म बाहिरबाट रुँदै घरभित्र पस्दा
तिमीले मलाई गम्लङ्ङ अँगालोमा बेरेर
आफू पनि रोएकी छ्यौ
म समर जितेर खुसी भएर आउँदा
तिमीपनि म सँगसँगै रमाएकी छ्यौ
र मलाई फूलमाला र अबीर लगाएकी छ्यौ
त्यत्रा हिउँद, वर्षा, गर्मी, हावाहुरी र तुषारो
हामीले सँगै झेलेका छौँ
मैले अपराध गरेको छैन
मैले छल गरेको छैन
म तिम्रो आँखामा हेरेर भन्न सक्छु
मैले तिमीलाई पन्छाएको छैन
अभिकुञ्ज ! मैले तिमीलाई माया मारेको छैन ।
पीर नगर अब हाम्रो छिट्टै भेट हुन्छ
अनि हामी सँगै बसेर रोऔँला
र एक अर्काको आँसु पुछौँला
अनि हामी सँगै बसेर हाँसौँला
र एक अर्कालाई शुभकामना दिऔँला
अभिकुञ्ज ! मैले तिमीलाई माया मारेको छैन ।
अभिकुञ्ज ! मैले तिमीलाई पटक्कै माया मारेको छैन ।
काठमाडौँ








