चर्चामा पुस्तक
हतारमा छन् यात्रीहरु
दीपक चौलागाईँको कविताकृतिभित्र स्मृतिका छालहरु,समयका बाछिटाहरु,अस्तित्वका पदचापहरु,अन्तर्विरोध,विज्ञान पर्यावरण,क्वान्टमको गहिराइमा गरी छ भागमा बाँडिएका कूल ३८ थान कविताहरु कृतिमा समावेश गरिएका छन् ।
कविताहरुले बृहत्तर आयाम पक्डेका छन् । बाल्यकालप्रतिको नोष्टाल्जिक कवि स्मृतिबिम्बभित्र कविताहरु कोर्छन् । बहुआयामिक कविताहरुले राजनीति,समाज,दर्शन सम्बन्धमा बोल्छन् । वैदिक दर्शनमात्र नभएर क्वान्टम भौतिकी सिद्धान्तको आधारमा लेखिएका कविताहरु पनि छन् ।
सरल भाषाशैली,बिम्व र प्रतिकको प्रयोगले कविताहरु सुन्दर र पठनीय लाग्छन् ।
हतारमा छन् यात्रीहरुलाई सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको हो । यस कविताको मूल्य रु.२९९। रहेको छ ।
धर्तीमुनिका तारा
महेश्वर पन्तको कथासङ्ग्रहभित्र एघार थान कथाहरु समावेश छन् । मान्छे र तिनका जीवनका विभिन्न आयामभित्र कथाहरु कोरिएका छन् । डायस्पोरिक नियति र यसका कारण हुने पारिवारीक सम्बन्धका उतारचढाव,मानवीय संवेदनाका विभिन्न पाटाहरुलाई केलाएर कथाहरु गुथिएका छन् ।
कथाकार अमेरिका बस्छन् । यसैले डायस्पोरिक शैली कथामा आउँछ । त्यहाँ हुने दुई पुस्ताबिचका द्धन्द,स्वदेशप्रतिको नोष्टाल्जिक लगायतका कुराहरु मर्मस्पर्शी भावमा आएका छन् ।
कथाको शब्द र भाषाशैली सुलोलित छ । पात्र निर्माण र कथानक शक्तिशाली छ । यर्थातजनित भावमा आएका कथाहरु आयामिक दृष्टिकोणले लामा छन् । पठनीय छ कथाकृति ।
धर्तीमुनिका तारालाई कालिभक्त कृष्णपन्त स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.६५०। रहेको छ ।
मनझोली
देवी घिमिरेको उपन्यासले उपन्यासका माध्यमले बुबाआमाको जीवनसँग सम्बन्धित कथाबस्तुलाई आख्यानीकरण गरेको छ । कथाबस्तु र शिर्षक मौलिकपना भएको कृतिले उपन्यासको माध्यमबाट आफ्ना आमाबुबाको अनुभव र संघर्ष तथा भोगाइलाई पर्गेलेर लेखिएको उपन्यास पठनीय छ । उनले उपन्यासले सामाजिक यथार्थलाई आत्मसाथ गरेको छ ।आमाबाबुको सँघर्षको कथा दर्शाएको छ । कृतिमा आजभन्दा असिबर्ष अघिदेखिको समाजको चित्रण गरिएको छ। मानव जीवनको पारिवारीक जीवनको सत्यापन उपन्यासले गरेको छ । बहुल पात्र,विभिन्न स्थान र परिवेशलाई उपन्यासले ल्याएको छ।
सामाजिक उपन्यासको कथाबस्तु सरल भाषाशैलीमा सलल बगेको छ ।
मनझोली उपन्यासलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.३५०। रहेको छ ।