
कविता
छरूँ किरण यो धरा !
कलानिधि दाहाल
म घाम झुल्किऊँ आफैँ छरूँ किरण यो धरा
उज्यालो ज्योतिले ढाकूँ अदृश्य दृश्य अन्तरा !
आँखा अक्षरका राखी डल्ला फोरूँ गरा गरा
जहाँ हेर्यो जता हेर्यो चेत चहुर होस् धरा !!
पाउ अक्षरमा पाऊँ बिस्तारै सर्न पाइला
पिँडुला दीपका दीप जुवा बनेर सोइला !
घुँडा हम्मरका डल्ला नदुख्ने बनूँ यो धरा
जता हेर्यो उतै पार्ने घाम हुँ दिल कन्दरा !!
ढर्रा बारुदका सान चुहूँ शीत बनी त्यता
भ्रष्टका भातमा ढुङ्गो कड्किऊँ म जतातता !
कर्कला पातको पानी खानी सर्वत्र टल्किऊँ
जहाँ अन्याय जन्मिन्छ ज्वालो अक्षर झल्किऊँ !!
हरिया पातले छम्कूँ विवेक दिलका दिल
शैल अक्षरका आँखा हेरूँ उल्लास टिल्पिल !
सुकेका पातमा हम्कूँ हुरीको वेग बेसरी
पारूँ अक्षरले सिङ्गो शरीर गजकेशरी !!
अन्ध आँखा निकाल्ने हुन् सनासा सब अक्षर
दासता वक्षमा खोप्ने यिनै हुन् सरका सर !
नयाँ यो यादको यात्रा गर्ने हुन् अझ अक्षर
भए यत्ति सबै हुन्थे गरा सुन्दर सुन्दर !!
गरा सुन्दरका गाना गीतमा चञ्चु छन् चरा
चराका चालमा चल्ने मान्छे बन्न सके चरा !
सबै सञ्चय निख्लाम भकारी फुट्दछन् घर
भए यत्ति सबै मान्छे हुन्छन् सुन्दर सुन्दर !!
जो जहाँ छ पुगी बस्ने प्रफुल्ल मन फुल्दछ
मृत्तिका छ खुला जम्मै जम्मैको दिल झुल्दछ!
घर फर्कूँ भनी लेघ्रा तान्ने दास भयङ्कर
अक्षर दिलले चुम्दा काँप्दथे तन थर्थर !!
सङ्कीर्णका सबै घेरा टुक्रा टुक्रा भई टुटे
नाताकुटुम्बका मोह भित्री मस्तिष्कमा छुटे !
उदात्त चेतका चौडा धरा छाती सबै जुटे
लयचेतनका पोया पसौटी पलमा फुटे !!
धराधार सबै धौम्य इन्द्रेणी बन्छ अक्षर
पर हुन्नन् कतै कोही जहाँ जो छ त्यही घर !
विराट् विश्व छ यो घार मान्छे सन्तान माहुरी
मन अक्षरका आँखा एउटै सबको धुरी !!







